सम्पादकीयआइतवार, पौष १६, २०७४

ओलीलाई दुर्लभ अवसर

किरण नेपाल

राष्ट्रिय राजनीति होस् या भूराजनीति– झण्डै तीन दशक लामो खुला राजनीतिक यात्रामा बेग्लै खाले विचार र अडानलाई आफ्नै खाले प्रस्तुतिबाट पेश गर्दै पृथक् व्यक्तित्व निर्माण गर्न सफल ओली अहिले नेपाली वाम आन्दोलनका सर्वसम्मत साझा नेता बन्न पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी भएसँगै १० र २१ मंसीर २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट प्राप्त जनादेश बमोजिमको संघीय तथा प्रादेशिक सरकार निर्माणको ढोका खुलेको छ ।

अन्यथा नभएमा माघ लाग्दा नलाग्दै दुवै तहका सरकार गठन हुनेछन् । र, पटक–पटक अस्थिरता भोग्दै आएको आधुनिक नेपाली राजनीतिको करीब आठ दशक लामो यात्रामा मुलुकले पहिलो पटक संघीयताको अभ्यास गर्नेछ, स्थिरता र समृद्धिको अपेक्षासहित ।

भनिरहनु परेन, यो यात्रा प्रचण्ड बहुमतको जनादेश पाएको वाम गठबन्धन नेतृत्वको सरकारमार्फत अघि बढ्नेछ । जसको कमाण्ड नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको हातमा हुनेछ । र, नेता ओलीको प्रस्तुति र व्यवहारबाट राष्ट्रिय राजनीतिको स्वरुप मात्र नभई देशको अर्थतन्त्रदेखि सामाजिक–सामुदायिक व्यवस्थापनसम्मको दिशा निर्दिष्ट हुन्छ ।

त्यस्तै, उनको शासकीय क्षमतामा निर्भर हुनेछ, पछिल्लो समयमा मुलुकले बनाएको भूराजनीतिक उँचाइको मापन ।

झण्डै दुईदशकदेखि विथोलिएको राष्ट्रिय राजनीति संक्रमणकालीन यात्रा सकेर सामान्यकालमा प्रवेश गर्न लाग्दा पनि असहज छ । स्थिरताको आम अपेक्षा संशयमा जेलिएको छ भने समृद्धिको आकांक्षालाई अविश्वासले बेरेको छ ।

त्याग र बलिदानको चरण पार गरिसकेको राष्ट्रिय राजनीति अवसरमुखी छ । जनताका प्रतिनिधि मानिने राजनीतिक दलहरू कुनै मिसनका लागि अभियानमा नभएर राजनीतिकर्मीको ‘करिअर’ जोडिएको संस्था बनिसकेका छन् । नेता–कार्यकर्ताहरू क्रमिक ‘करिअर’ विकासलाई सफल बनाउने स्पर्धामा छन् । त्यसक्रममा नेता–कार्यकर्ता बीचमा ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामकुरा बीचको सीमारेखा मेटिंदै गएको छ ।

दशक लामो हिंसात्मक विद्रोह र त्यति नै अवधिको राजनीतिक संक्रमणकालमा विधिमाथि दण्डहीनता हावी हुन पुग्यो । इन्साफ हराउँदै जाँदा समाजको ठूलो हिस्सा दण्डहीनताबाट प्रताडित भयो । राष्ट्रिय जीवनको हर क्षेत्रमा सिन्डिकेट, माफियातन्त्र, कालाबजारी हावी छ ।

आर्थिक स्रोत नखुलेका नवधनाढ्यहरूको बेलगाम कारोबार अर्थतन्त्रको मुख्य हिस्सा बन्न पुगेको छ । खुला बजारमा व्यावसायिक प्रतिस्पर्धा छैन, मुलुकको अर्थतन्त्रलाई ‘क्रोनी क्यापिटालिज्म’ ले अँचेट्दै लगेको छ ।

यस्तो बेला स्थिरताको आम अपेक्षा र समृद्धिको आकांक्षा त बढ्छ, तर तिनको जगेर्ना आफैंमा चुनौतीपूर्ण बन्न पुग्छ । ठीक यही बेलाको आम निर्वाचनबाट एमाले अध्यक्ष ओली राष्ट्रिय जिम्मेवारी वहन गर्ने एकल नेता बन्न पुगेका छन् ।

राष्ट्रिय राजनीति होस् या भूराजनीति– झण्डै तीन दशक लामो खुला राजनीतिक यात्रामा बेग्लै खाले विचार र अडानलाई आफ्नै खाले प्रस्तुतिबाट पेश गर्दै पृथक् व्यक्तित्व निर्माण गर्न सफल ओली अहिले नेपाली वाम आन्दोलनका सर्वसम्मत साझा नेता बन्न पुगेका छन् ।

योसँगै उनी स्थिरता र समृद्धिको आम आकांक्षा पूरा गर्नैपर्ने चुनौतीको विन्दुमा पनि पुग्दैछन् । भूमिगत कम्युनिष्ट आन्दोलनबाट राजनीति शुरू गरेका ओली अहिले जुन मुकाममा छन्, त्यो एक राजनीतिकर्मीलाई विरलै प्राप्त हुने अवसर हो ।

राजनीतिमा चुनौतीलाई पनि अवसर बनाउन सक्दा पाइने सफलताको चरण हो, राजनेताको खिताब, जसको परिचय इतिहासमा सीमित हुँदैन, बरु भविष्यका पानाहरू पनि तिनकै सोच–विचारबाट प्रेरित हुन पुग्छन् ।

आम निर्वाचनमा स्थिरता र समृद्धिकेन्द्रित नेपाली आकांक्षाको परीक्षामा जबर्जस्त र योजनाबद्ध रूपमा सफल केपी ओलीका लागि मुलुकको यो दुरवस्था निश्चय पनि कठिन चुनौती हो । चुनौतीको चाङमाथि उभिएर शासन गर्नु आफैंमा असहज जिम्मेवारी हो ।

संविधान निर्माण, भारतीय नाकाबन्दीको सामना, उत्तरी छिमेकीसँग सम्बन्ध विस्तार, वाम गठबन्धन निर्माण र आम निर्वाचन पछिल्ला दुई वर्षका महत्वपूर्ण परिघटना हुन् । यी सबैको सफलतामा जोडिएका नेता ओलीको परिचयलाई राजनेतामा बदल्ने विन्दु मुलुकको यही मोड हुनसक्ने देखिएको छ ।

यो मोड अध्यक्ष ओलीका लागि त्यस्तो घुम्तीका रूपमा पनि आएको छ, जसमा हुने सानो चुकले उनको राजनीतिक यात्रालाई दुर्घटनाग्रस्त मात्र पार्दैन बरु पछिल्ला वर्षहरूमा पाएका सफलताहरूलाई समेत विस्मृतिको गहिराइमा लगेर थन्क्याइदिन्छ । राजनीतिमा प्राप्त सफलता जति लोभलाग्दो हुन्छ, असफलताको परिणाम त्यति नै निर्मम ।

भूमिगतकालको ठूलो हिस्सा जेलमा व्यतीत गरेका र सार्वजनिक भएपछिको अधिकांश समय बेग्लै छवि निर्माणका लागि संघर्षरत नेताबाट राजनेतामा रूपान्तरणको अवसर पाएका केपी शर्मा ओलीको व्यक्तित्वमा संविधान निर्माण, भारतीय नाकाबन्दीको सामना, उत्तरी छिमेकीसँग सम्बन्ध विस्तार, वाम गठबन्धन निर्माण र निर्वाचनमा सफलता जस्ता पछिल्ला उपलब्धिहरूले राष्ट्रिय आकांक्षा प्रतिविम्बित गरेको छ ।

पहिलोमा उनी एउटा दलका नेता देखिन्छन् भने दोस्रोमा युगको साझा सोच बोकेको राजनेता । अब पार्टीको सन्तुलित व्यवस्थापनसँगै माओवादी केन्द्रसँगको एकीकरण र शासन सञ्चालनसम्म साझ व्यक्तित्वको निरन्तरता वा विशृंखलतामा एमाले अध्यक्ष ओली नेताबाट राजनेतामा परिणत हुने वा नहुने भन्ने निर्भर हुनेछ । समकालीन नेपाली नेताहरूमध्ये ओलीले यो दुर्लभ अवसर पाएका छन् ।

प्रतिकृया दिनुहोस