रिपोर्टशुक्रवार, पौष १४, २०७४

व्यस्त जीवनशैली र एक्लोपनले बढाउँदैछ आत्महत्या

रामु सापकोटा

एकल परिवार, व्यस्त जीवनशैली, सामाजिक बेवास्ता आदि कारणले मानिसले भोगेका समस्या सुनाउने/सुन्ने जमात हराउँदै जाँदा आत्महत्या गर्नेको संख्या भयानक रूपमा बढिरहेको छ।

नवलपरासीकी सरिता क्षेत्रीले तीन वर्षको प्रेम सम्बन्धपछि अन्तरजातीय बिहे गरिन् । बिहेपछि माइती र घर दुवैतिर अस्वीकृत हुँदा उनी तनावमा परिन् । काठमाडौंको ओम अस्पतालमा छोरी जन्माइन् । त्यहीबीचमा भिसा लागेर श्रीमान् मकाउ गए, सुत्केरी सरिताको स्याहारसुसार गर्ने कोही भएन । अस्पतालबाट चितवनको डेरामा सरेको १० दिनमा उनले विष सेवन गरेर आत्महत्या गरिन् । 

रूपन्देहीकी गीता पोखरेल (२७) ले दुई वर्षअघि जापानको टोकियोमा सुत्केरी भएको एक महीनामा हामफालेर आत्महत्या गरिन् । उनी टोकियो गएको दुई वर्ष भएको थियो । काममा व्यस्त श्रीमान्‌ले उनीसँग बिताउने समय कमै पाउँथे ।

ओम अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार, यी दुवै आत्महत्याको मूल कारण ‘पोष्टपार्टम डिप्रेसन’ हो, जुन गर्भावस्था र त्यसपछि पनि अधिकांश महिलालाई हुन्छ ।

उनका अनुसार, बच्चा जन्माइसकेपछि महिलाको शरीरमा स्ट्रेजन र प्रोजेस्टेरोन हर्मोनमा गडबडी आएर मस्तिष्कको काममा असर गर्छ । स्ट्रेजन र प्रोजेस्टेरोन बनाउने प्लासेन्टा (साल) बच्चा जन्मँदा बाहिर निस्कने भएकाले शरीरमा हर्मोनको कमी हुन्छ । यस्तो अवस्थामा सुत्केरी महिलाको ‘मूड’ परिवर्तन भई तनावको समस्या आउँछ ।

सुत्केरी भएपछि हर्मोनमा त परिवर्तन आउँछ नै, बच्चा स्याहार्ने जिम्मेवारी पनि थपिन्छ । डा. गौतम भन्छन्, “त्यो अवस्थामा पोष्टपार्टम डिप्रेसन बढ्दै गयो भने महिलाहरूले आत्महत्यासम्म गर्छन् ।”

सबभन्दा ठूलो हत्यारा
पाँचथरको हिलिहङ गाउँपालिका–३ का फुरदिकी शेर्पा (४५) ले गत २५ कात्तिकको राति घरभित्रै झुण्डिएर आत्महत्या गरिन् । १२ वर्षअघि दोस्रो बिहे गरेर श्रीमान् भारत पसेपछि उनले अनेक तनाव झेल्नुपर्‍यो ।

दुई छोरामध्ये एक मजदूरी गर्न झापा र अर्को पढ्न सिक्किम गएपछि उनी झन विरक्तिएको भाइ दाबा शेर्पा बताउँछन् । २०७३ सालको दशैंमा माईत आउँदा दिदीले ‘अब मर्छु होला’ भन्दा कसैले वास्ता नगरेको उनले बताए ।

त्यस्तै, सिरहा गोलबजारकी नवविवाहिता सरिता सहनी (१८) ले २६ माघ २०७३ मा जीउमा आगो लगाएर आत्महत्या गरिन् । देवरसँग अनैतिक सम्बन्ध राखेको आरोप लागेकी उनको कुरा सुन्ने कोही भएनन् । त्यही तनावमा उनले आत्महत्याको बाटो रोजिन् ।

पोखरा लेखनाथ महानगरपालिका– १७ की प्रतीक्षा परियार (१७) ले पनि गत २९ कात्तिकमा झुन्डिएर आत्महत्या गरिन् । कक्षा ११ मा अध्ययनरत उनको प्रेमीसँग झगडा भएको र त्यही तनावमा आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गर्भावस्थाका र सुत्केरी मात्र नभई प्रजनन् उमेर समूह (१५–४९ वर्ष) का महिलाहरूको आत्महत्या दर भयावह रूपमा बढेको देखाउने उदाहरण हुन्, पाँचथरकी शेर्पा, सिरहाकी सहनी र पोखराकी परियार । स्वास्थ्य सेवा विभागको ‘मातृमृत्युदर तथा रुग्णदर अध्ययन प्रतिवेदन, २००८/०९’ ले यो उमेर समूहका महिलाको कुल मृत्युमध्ये १६ प्रतिशतको ज्यान आत्महत्याबाट गइरहेको देखाएको छ । विभागको परिवार स्वास्थ्य महाशाखाले सन् २००८/०९ मा बाग्लुङ, जुम्ला, कैलाली, ओखलढुङ्गा, रूपन्देही, रसुवा, सुनसरी र सुर्खेतमा एक वर्ष लगाएर अध्ययन गरेको थियो ।

त्यसको १० वर्षअघि १९९८ मा प्रजनन् उमेरका महिलाको आत्महत्या दर १० प्रतिशत थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपाल अफिसले प्रजनन् उमेरका महिलाले आत्महत्या गर्ने दर १० वर्षमा ६ प्रतिशत बढ्नुलाई खतरनाक अवस्था मानेको छ ।

यो अवस्थाले नेपाललाई बढी महिलाले आत्महत्या गर्ने विश्वको तेस्रो मुलुक बनाएको छ । अध्ययनहरूले आत्महत्यालाई नेपालमा महिला मृत्युको प्रमुख कारक देखाएको छ । त्यसका पछाडि डिप्रेसन र मास कन्भर्जन डिसअर्डरको मुख्य भूमिका रहेको विज्ञहरू बताउँछन् ।

अहिले महिला मृत्युको दोस्रो ठूलो कारक सडक दुर्घटना बनेको छ । विभागको सर्वेक्षणले महिलाको कुल मृत्युमध्ये ९ प्रतिशत सडक दुर्घटनाका कारण हुने गरेको देखाएको छ । मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय प्रजनन् उमेरका महिलाको आत्महत्या रोक्न सरकारले ठोस कदम चाल्न निकै ढिला हुन लागेको बताउँछन् ।

सुत्केरी अवस्थामा श्रीमान् सँगै नहुनु, परिवारका अन्य सदस्यबाट हेरचाह नहुनु, छोरी पाएका कारण गरिने विभेद आदिलाई महिलाले आत्महत्या रोज्नुको कारण मानिएका छन् । रोजगारीको लागि श्रीमान् विदेशमा भएका बेला सुत्केरीले घरमा आवश्यक हेरचाह र आफ्नो समस्या ‘शेयर’ गर्न पाउँदैनन् । महिलाहरूलाई यसप्रकारको मनो–सामाजिक समस्याले पनि आत्महत्यातिर उन्मुख गराएको विज्ञहरू बताउँछन् ।

बालापनमै आत्महत्या
प्रजनन् उमेरका मात्र होइन, नेपालमा बालापनमा आत्महत्या गर्ने दर पनि दोब्बर भएको छ । जस्तो, याङवरक गाउँपालिका–५, पाँचथरकी निशा काम्वाङ (१३) ले गत १३ असारमा रूखमा झुन्डिएर आत्महत्या गरिन् । परिवारले प्रेम सम्बन्ध छुटाउन विद्यालय फेरिदिन र मोबाइल फोन खोस्न लागेको तनावमा उनले आत्महत्या गरेको एक छिमेकीले बताए ।

कारण जेसुकै होस्, १८ वर्ष मुनिका बालबालिकाको आत्महत्या दर अत्यासलाग्दो गरी बढिरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा २९२ बालबालिकाले आत्महत्या गरे । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आव २०७२/७३ मा यो संख्या १७५ थियो ।

त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान विभाग प्रमुख डा. उषाकिरण सुब्बा नेपाली बालबालिका तनावग्रस्त बन्दै गएको बताउँछिन् । विद्यालयको अधिक ‘होमवर्क’ र ‘परीक्षामा राम्रो अंक ल्याउन’ घरपरिवारको दबाबले बालबालिकाको तनाव बढाएको उनी बताउँछिन् । त्यसमाथि थपिएको छ– यूट्यूब, फेसबूक आदि, जसबाट उनीहरू कसरी जोखिमयुक्त काम गर्ने भन्ने कुरा सिकिरहेका छन् । डा. सुब्बा भन्छिन्, “बालबालिकाको आत्महत्या दर बढाउन त्यसले पनि भूमिका खेलेको छ ।”

बालबालिका र महिलाको आत्महत्या दरमा घरेलु हिंसाको पनि भूमिका रहेको विज्ञहरू बताउँछन् । आव २०७०/७१ मा ६ हजार ८३५ महिला तथा बालबालिका घरेलु हिंसामा परेको तथ्यांक नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रसँग छ । १० वर्षअघि यो संख्या ७३० थियो । (हे.इन्फो)

दुव्र्यसन, नसा तथा मानसिक रोग विशेषज्ञ नगेन्द्र कटुवाल मस्तिष्कको ‘न्यूरोट्रान्समिटर’ ले आत्महत्या गर्ने सोच लिन मद्दत पुर्‍याउने बताउँछन् । उनका अनुसार, मस्तिष्कको न्यूरोन (कोष) मा आवश्यक मात्रामा सेरोटोनिन रसायन हुँदा मानिसको ‘मूड फ्रेस’ हुन्छ, संसार रमाइलो लाग्छ । न्यूरोनमा सेरोटोनिन रसायनको मात्रा घट्दा थकान महसूस हुन्छ, दिक्क लाग्छ र डिप्रेसनको समस्या निम्तिन्छ । डिप्रेसन भएकालाई सेरोटोनिन रसायन बढाउने औषधि दिइन्छ । डा. कटुवाल भन्छन्, “डिप्रेसन झेलिरहेकाले उचित परामर्श र औषधि नपाए आत्महत्या गर्छन् ।”

जोखिमयुक्त मुलुक
आव २०७३/७४ मा नेपालमा ५ हजार १२४ जनाले आत्महत्या गरे । दश वर्षअघि यो संख्या ३ हजार ६१ थियो (हे. इन्फो) । नेपालमा सडक दुर्घटनाबाट भन्दा बढी मानिस आत्महत्याका कारण मरिरहेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार २०७३/७४ मा सडक दुर्घटनाबाट मर्नेको संख्या २ हजार ५१ छ भने आत्महत्याबाट मर्ने ५ हजार १२४ (हे.इन्फो) । नेपाल बढी आत्महत्या हुने विश्वको सातौं मुलुक बनेको छ ।

दक्षिणएशियामा श्रीलंकापछि बढी आत्महत्या हुने दोस्रो मुलुक बनेको छ, नेपाल । भारतमा प्रति एकलाख जनसंख्यामा आत्महत्या गर्नेको संख्या २१ छ । आव २०७३/७४ को तथ्यांक अनुसार नेपालमा दैनिक १४ जनाले आत्महत्या गरेको देखिन्छ ।

जनसंख्या बढ्दा आत्महत्याको दर बढ्नु अस्वाभाविक होइन, तर नेपालमा आत्महत्याको दर जनसंख्या वृद्धिको अनुपात (वार्षिक १.३५ प्रतिशत) भन्दा २५ प्रतिशत बढी छ । यसलाई सरकारले ‘इमरजेन्सी’ को रूपमा लिएर रोकथामका कदमहरू चाल्नुपर्ने ‘द स्कूल अफ साइकोलोजी, नेपाल’ का अध्यक्ष डा. नरेन्द्र ठगुन्ना बताउँछन् ।

१७ वर्षअघिको एक अनुसन्धानले नेपालमा प्रति एकलाख जनसंख्यामा नौ जनाले आत्महत्या गर्ने देखाएकोमा चार वर्षअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको अध्ययन अनुसार प्रति एकलाख जनसंख्यामा २४ जनाले आत्महत्या गरेको देखायो । पूर्वी नेपालमा आत्महत्या गर्नेको संख्या बढी छ । त्यसमा पनि इलाम अतिप्रभावित जिल्लामा पर्छ । आव २०७३/७४ मा पूर्वी नेपालमा १ हजार २८४ जनाले आत्महत्याबाट ज्यान गुमाए भने इलाममा २०७३ साउनदेखि २०७४ मंसीरसम्म ६५ पुरुष, ५२ महिला र चार बालबालिका गरी ११४ जनाले आत्महत्या गरे ।

इन्टरनेशनल एसोसिएसन अफ सुसाइड प्रिभेन्सन (आईएसपी) का अनुसार विश्वमा वार्षिक आठ लाख मानिसले आत्महत्याबाट आफ्नै ज्यान लिइरहेका छन् । यो भनेको प्रति एकलाख जनसंख्यामध्ये ११ जना हो । आईएसपीका अनुसार, यीमध्ये ७६ प्रतिशत कम तथा मध्यम आयस्रोत भएका मुलुकका छन् । तीमध्ये पनि ३९ प्रतिशत दक्षिण पूर्वी एशियाका छन् । तर, नेपालमा प्रति लाख जनसंख्यामा २४ जनाले आत्महत्या गर्छन् । 

किन भइरहेछ यस्तो ?
नेपालमा गरीबी, बेरोजगारी, सामाजिक असुरक्षा, प्राकृतिक विपत्, बदलिंदो जीवनशैली र मानसिक स्वास्थ्य सेवाको अभावका कारण आत्महत्या गर्ने दर बढेको विज्ञहरू बताउँछन् । एशियाली विकास ब्यांक (एडीबी) को हालैको तथ्यांक अनुसार, २५ प्रतिशत नेपाली गरीबीको रेखामुनि छन् । एडीबीले दैनिक १.९० अमेरिकी डलर आम्दानी गर्नेलाई गरीबीको रेखामुनि राखेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार बेरोजगारी दर ३.२० प्रतिशत पुगेको छ ।

भारतको डाटा लिड्स संस्थाको हालैको तथ्यांकले बेरोजगारी दरमा काठमाडौं एशियाका २५ शहरमध्ये अग्रस्थानमा छ । कम्बोडियाको राजधानी न्होम पेन्हमा सबभन्दा कम एक प्रतिशत बेरोजगारी छ भने चीनको बेइजिङमा १.२४ प्रतिशत, भारतको नयाँदिल्लीमा ४.३८ र काठमाडौंमा सबभन्दा बढी ८.३४ प्रतिशत बेराजगारी छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोरोग विशेषज्ञ डा. धनरत्न शाक्य गरीबी र बेरोजगारीले डिप्रेसन बढाउने बताउँछन् । उनका अनुसार, अभावबाट छुटकारा पाउन कतिपय मानिसले आत्महत्याको विकल्प रोज्छन् ।

मुलुकभित्र अवसर नहुँदा रोजगारीको लागि विदेशिनु नेपालीको बाध्यता बनेको छ । आव २०७२/७३ मा ४ लाख १८ हजार ७१३ युवा रोजगारीको लागि विदेशिए । परिवारबाट टाढा भएपछि मनका भावनाहरू अभिव्यक्त गर्ने ठाउँ हुँदैन ।

सोचेजस्तो काम नपाउने र कम तलबमा कडा परिश्रम गर्नुपर्ने कारणले विदेशमा पनि नेपालीको आत्महत्या दर बढिरहेको छ । वैदेशिक रोजगारीका क्रममा २०१५ मा मृत्यु भएका एक हजार नेपालीमध्ये १२१ जनाले आत्महत्या गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकले बताउँछ ।

वैदेशिक रोजगारी र शहरतिरको बसाइँसराइले एकल परिवारको संख्या बढिरहेको छ । जनसांख्यिक सर्वेक्षण अनुसार, २००१ मा ५.४४ रहेको नेपालको औसत परिवार सदस्य संख्या २०११ मा घटेर ४.७ भयो । २००१ मा ४.६ रहेको काठमाडौंको औसत परिवार संख्या १० वर्षमा ३.७ मा झ्र्‍यो । यसले एकल परिवार संख्यामा तीव्र वृद्धि भएको देखाउँछ । मनोरोग विशेषज्ञ डा. शाक्य एकल परिवार बढेसँगै आत्महत्याको जोखिम बढ्ने बताउँछन् ।

शहरी एकल परिवारमा कमाउने व्यस्तता हुन्छ । त्यसले मानिसहरूलाई तनावपूर्ण र एक्लो बनाएको छ । परिवारका प्रौढ सदस्यहरूको सान्निध्य नपाएका बालबालिका फेसबूक र यूट्यूबको लतमा परेका छन् ।

परिवारका सदस्यहरूसँग बसेर कुराकानी गर्ने चलन पूरै हराएको डा. कपिलदेव उपाध्याय बताउँछन् । “इन्टरनेटमा लिप्त स्कूले बालबालिका प्रेम र यौनजन्य क्रियाकलापमा संलग्न हुन थालेका छन्” उनी भन्छन्, “यस्तो लतमा अवरोध आउँदाको आवेशमा आत्महत्याका घटना बढेका छन् ।”

प्राकृतिक विपत् आत्महत्याको अर्को कारण हो । १२ वैशाख २०७२ को महाभूकम्पपछि आत्महत्या दर ४१ प्रतिशतले बढ्यो । भूकम्पअघिको तीन महीना (१५ जनवरीदेखि १३ अप्रिलसम्म) मा ९६५ जनाले आत्महत्या गरेका थिए । त्यसपछिको तीन महीना (अप्रिल–जुलाई) मा एक हजार ३६३ ले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ ।

मानवशास्त्री सुरेश ढकाल आत्महत्याका घटना बढ्नुमा सामाजिक मनोविज्ञानको पनि भूमिका छ । नेपालमा सामाजिक असुरक्षा बढिरहेको छ । यस्तो अवस्थामा कतैबाट सहयोग नपाएर मानिस निराश बन्छ । संविधानले ग्यारेन्टी गरे अनुसारको मानिसको बाँच्न पाउने अधिकार सुनिश्चित हुँदा सामाजिक कारणले हुने आत्महत्या कम हुने ढकाल बताउँछन् ।

आर्थिक, सामाजिक, प्राकृतिक आदि कारणहरूले आत्महत्याको दर प्रकोपकै रूपमा बढे पनि रोकथाममा सरकारी चासो देखिंदैन । स्वास्थ्य मन्त्रालयले पाउने कुल बजेटको २ प्रतिशत मानसिक स्वास्थ्यमा खर्च गरिरहेको छ । यसैलाई नेपाल सरकारको आत्महत्या रोकथाम प्रयास मान्नुपर्ने अवस्था छ ।

शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विशेषज्ञ डा. सरोज वझ सरकारले अहिलेसम्म नागरिकहरूको मानसिक स्वास्थ्यका लागि बजेट छुट्याउन र पूर्वाधार खडा गर्न आवश्यक नठानेको बताउँछन् । नेपालमा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने जनशक्ति पनि निकै कम छ । बढीमा १५० मनोचिकित्सक र करीब ३० जना मनोपरामर्श तथा थेरापी दिने मनोविद् छन् ।

आत्महत्याको असफल प्रयास पछि...
आत्महत्या गर्नुभन्दा केही अघि र आत्महत्या गर्ने वेला व्यक्तिको मनस्थिति कस्तो हुन्छ, यसै भन्न सकिन्न । ‘सुसाइड नोट’ हरू पढ्दा ‘कसैलाई दोष नदिनू’ वा कसैलाई केही भनेको भन्दा बढी थाहा पाइँदैन ।

मैले उपचार गरिरहेको डिप्रेसनका एकजना बिरामीले आत्महत्याको निर्णय गरेछन् । उनले कहिल्यै त्यस्तो मनोभाव प्रकट गरेका भने थिएनन् । परिवारले समयमै अस्पताल ल्याएकाले १४ दिनको उपचारपछि उनी बाँचे ।

सार्वजनिक हितको लागि आफ्नो अनुभव लेख्नुस् भनेपछि उनले ८ पेज लेखेर ल्याए, जसको सार तल प्रस्तुत छ । उनको नाम, ठेगाना गोप्य राखिएको छ । उनको अनुभव प्रकाशनको स्वीकृति भने लिइएको छ । यसबाट आत्महत्या रोकथामका उपायहरू निकाल्न सकिन्छ ।

“२०४६ सालबाट एउटा दलको सक्रिय सदस्य भएर गाविसको राजनीतिमा लाग्दा केही राम्रा काम गर्न सफल र केहीमा असफल भइयो । गाउँको सरकारी स्कूलमा सुधार ल्याउन खोज्दा शिक्षकहरूले असहयोग गरेर असफल पारे । विभिन्न संस्थामा अध्यक्ष भएर काम गर्दा अपजस धेरै पाएँ । राम्रो गरेको नदेख्ने राजनीतिबाट वाक्क भएर काम गर्न छाडें ।

२०६१/६२ बाट चिन्तारोग र निद्रा नलाग्ने समस्याले दुःख दिन थाल्यो । औषधि खाँदा पनि ठीक भएन । यो कुरा मेरा डाक्टर र परिवारलाई मात्र थाहा थियो । मलाई अब बाँच्ने इच्छा छैन भन्ने सोच्दै हिंड्न थालें । मेटासिड किनेर दुई महीनासम्म कसरी खाने होला भन्ने सोचेरै बिताएँ ।

भूकम्पले बुबा र दाजुको घर भत्काएको थियो । उहाँहरूको नाम म आफैंले लेखेर, कम्प्युटरमा चेक समेत गरेर पठाएकोमा अनुदान पाउने सूचीमा दुवै जनाको नाम गायव भएछ । घर सामान्य क्षति भएकाको नाम आएको तर पूरै भत्किएकाको नाम नआउँदा आफ्नै परिवारबाट अरूको काम गर्ने आफ्नो नगर्ने भनेर खप्की पाएँ । यो कस्तो देश, जसको घर पूरै भत्केको छ उसको नाम नहुने । जसको काठमाडौंमा पनि घर छ, उनीहरूकै नाम माथि !

आइतबार बिहान ७ बजे चिया खाएर खेतमा काम गर्न गएँ । ११ बजे खाना खाएर केहीबेर छोरासँग कुरा गरें । मलाई अचानक मर्न मन लाग्यो अनि मेटासिड खल्तीमा हालेर छोराको पढाइबारे सोच्दै बारीमा गएँ । बारीमा बोतल निकालेर ‘इन्स्ट्रक्सन’ पढें । एकमनले भन्छ– बोतल मिल्काइदिऊँ, अर्को मनले भन्छ– म मर्न आएको छिट्टै खाएर मर्नुपर्छ । अनि सबै मेटासिड निलें । त्यतिवेला मलाई कसैको याद आएन ।

२० मिनेट जतिमा पेट पोल्न र हिक्हिक् हुन थाल्यो । एकघण्टा पछि पेट बेस्सरी गड्याङगुडुङ गर्दै पातलो दिसा भयो । पेट फुलेर आयो, हात खुट्टा काम्न थाल्यो । त्यतिवेला मलाई थाहा भयो, विष खाएर छिट्टै मर्न नसकिने रहेछ । कल्पनै नगरेको कष्ट भइरहेको थियो । धेरै गन्हाउने वान्ता र र्‍यालसिगान आइरहेको थियो ।

त्यसमा प्राण गए नर्कमा परिन्छ भन्ने लागेर ज्याकेटले पुछ्थें । कदाचित् बाँचें भने, कसैले पनि विष नखानुस् भन्ने चेतनामूलक कार्यमा लाग्छु भन्ने विचार समेत आयो । त्यति नै बेला मेरी श्रीमती र भाइले भेट्टाए । लटपटे बोलीमा मेटासिड खाएँ भनेकोसम्म याद छ । त्यसपछि होश आउँदा अस्पतालको आईसीयूमा रहेछु ।

बाँच्न पाएकोमा म धेरै खुशी छु । मलाई बचाउने सबैप्रति आभारी छु । स्वास्थ्य ठीक छ । नराम्रो भित्र राम्रो के छ भनेर हेर्ने कोशिशमा छु ।”

डा. कपिलदेव उपाध्याय (मनोचिकित्सक)

महिला बढी जोखिममा छन्
७० प्रतिशतभन्दा बढी आत्महत्या गरीब देशहरूमा हुने गरेको छ । प्रति एक लाखमा १५ पुरुष र ८ महिलाको मृत्यु आत्महत्याबाट हुन्छ । नेपालमा प्रति एकलाख महिलामा २० जनाले आत्महत्या गर्ने गरेका छन् । २०१० देखि २०१४ सम्म तराईका नौ जिल्लामा २ हजार ९४ जनाले आत्महत्या गरेको तथ्यांक छ । यो संख्या २०१० मा ३६५ थियो ।

डा. नरेन्द्रसिंह ठगुन्ना (मनोविज्ञ)

आत्महत्याकोे प्रयास गर्नेमा पुरुषभन्दा महिला दुईदेखि तीन गुणा बढी छ । आत्महत्या गरेका महिलामध्ये २१ प्रतिशत १८ वर्षभन्दा मुनिका छन् । कतिपय किशोरीले परीक्षामा राम्रो अंक ल्याउन नसक्दा र अभिभावकले विद्यालय छुटाएर विवाह गरिदिन लाग्दा आत्महत्या गरेका छन् ।

विवाहितभन्दा अविवाहित महिलाहरूले आत्महत्या गर्ने संभावना बढी हुने अध्ययनहरूले देखाएका छन् । विवाहित महिला र आमा बनेकाहरूसँग आफ्ना कुरा राख्ने समूह हुने भएकाले आत्महत्याको जोखिम न्यून हुन्छ ।

तर, नेपालमा यस्ता रक्षात्मक तत्वहरूले काम नगरेको देखिन्छ । नेपालका महिलाहरूले बच्चाबच्ची हुर्काउने जिम्मेवारी एकल रूपमा लिनुपर्ने, आफूभन्दा धेरै बढी उमेरका पुरुषसँग घरजम गर्नुपर्ने, छोरा पाउने पारिवारिक दबाब पर्ने लगायतका कारणले यस्तो भएको देखिन्छ ।

नेपालमा सुत्केरी अवस्थामा देखिने उदासीनताको लागि मूल रूपमा श्रीमान्ले गर्ने दुव्र्यवहार, सासूससुराको असहयोगी व्यवहार र छोरा पाउने दबाबलाई जिम्मेवार मानिन्छ । बेचबिखनमा परेका महिलाहरू यौन दुव्र्यवहार, प्रजनन् स्वास्थ्य समस्या र कमजोर शारीरिक–मानसिक स्वास्थ्यका कारण बढी आत्महत्याको जोखिममा हुन्छन् ।

आत्महत्याको ९० प्रतिशत कारण मानसिक समस्यालाई मानिन्छ । लागूऔषध दुव्र्यसनीमध्ये १५ प्रतिशत, पर्सनालिटी डिसअर्डरमध्ये १० प्रतिशत र सिजोफ्रेनिया भएकामध्ये १० प्रतिशतले आत्महत्या गरेको देखिन्छ । 

नेपालमा सामाजिक–सांस्कृतिक विचलन, मानसिक रोग, पारिवारिक कलह, अनमेल विवाह, यौन दुर्बलता, आपसी अविश्वास, असुरक्षा भाव, अन्याय, द्वन्द्व, बेरोजगारी, गरीबी, इन्टरनेटको दुरुपयोग, लागूपदार्थको दुव्र्यसन, जीवनमा सधैं असफलता आदि कारणले आत्महत्या बढ्दो छ ।

नेपाली सामाजिक जीवनमा अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि आत्महत्याका उत्तिकै जिम्मेवार कारक देखिन्छन् । घरपरिवार र साथीभाइको हौसला, मनोवैज्ञानिक र मनोचिकित्सकहरूको परामर्श एवं उपचारबाट आत्महत्याको दर घटाउन सकिन्छ ।

(साथमा लक्ष्मी गौतम पाँचथर, युवराज श्रेष्ठ, पोखरा)

प्रतिकृया दिनुहोस