ब्लगशनिवार, पौष १५, २०७४

श्रीमान्‌काे हत्यामा संलग्न कमाण्डरलाई माला लगाइदिनु पर्दा...

अमृत गुरुङ

अमृत गुरुङ

१३ वर्षअघिको सशस्त्र विद्रोहमा निर्दोष श्रीमान् गुमाएकी नानीमैयाँले त्यही घटनाका जिम्मेवार माओवादी कमाण्डरलाई विजयको माला लगाइदिनुपर्‍यो।

छोरी सोनासँग नानीमैयाँ । तस्वीरः राजेन्द्र मानन्धर/लडाईंपछि जनता

गत साता म फेरि दोलखा पुगें, नानीमैयाँ काफ्ले र उनकी छोरी सोनालाई भेट्न । माओवादी सशस्त्र विद्रोहमा उनीहरूले भोगेको पीडाबारे मैले गीत बनाएको थिएँ । 

२७ वैशाख २०६१ मा २० दिनकी मात्र सोनालाई काखमा राखेर नानीमैयाँ, श्रीमान् सोबेन्द्र र सासू कृष्णमाया जिरीबाट काठमाडौं जाने बस चढे । मैनापोखरीमा बस रोकियो, माओवादीले बाटो छेकेका रहेछन् । बसमा सादा पोशाकका केही सैनिक पनि थिए, माओवादीले भेटे मार्छन् भन्ने त्रास देखिन्थ्यो ।

एक्कासी बसभित्रै गोली हानाहान शुरू भयो । करीब १५ मिनेटको भिडन्तमा केही यात्रु भाग्न सफल भए । नानीमैयाँ ड्राइभरको क्याबिनभित्र पसिन् र छोरीलाई सीटमुनि लुकाइन् ।

तस्वीरः राजेश केसी/लडाईंमा जनता

गोली चल्न छाडेपछि निस्केकी नानीमैयाँले श्रीमान्‌लाई बसभित्रै रगताम्य ढलेको देखिन् । अंग्रेजीका शिक्षक सोबेन्द्रले प्राण छोडिसकेका थिए । यो घटनामा १५ जनाको ज्यान गएको थियो, जसमा ७ जना निर्दोष सर्वसाधारण थिए ।

माओवादी हिंसा उत्कर्षमा पुगेको त्यो बेला हामी नेपथ्य संगीत यात्रा कन्सर्टअन्तर्गत वीरगञ्जमा कार्यक्रम गर्दै थियौं । कान्तिपुर दैनिकमा राजेन्द्र मानन्धरले लेखेको नानीमैयाँको कथा मैले त्यहीं पढें; सँगै गोपाल चित्रकारले खिचेको हजुरआमाको काखमा बसेकी सोनाको तस्वीर पनि छापिएको थियो ।

कार्यक्रम आयोजक नेपालयका किरणकृष्ण श्रेष्ठ र अर्पण शर्माले तुरुन्तै नानीमैयाँबारे सोधखोज गरे । हामी दोलखातिर हान्नियौं । यात्रा जोखिमपूर्ण थियो । राजमार्गमा सेना र प्रहरीका ‘चेक प्वाइन्ट’ बाहेक राज्यको कुनै उपस्थिति थिएन ।

मूडे पुग्दै गर्दा हर्स शू रिसोर्ट देखियो । रिसोर्टका सञ्चालक मोहन खत्रीको ३१ असोज २०५९ मा माओवादीले हत्या गरेका थिए । हेल्थपोष्ट, विद्यालय भवन जस्ता पूर्वाधार निर्माणलगायत समाजसेवामा सक्रिय अवकाशप्राप्त मेजर खत्री गाउँमा लोकप्रिय थिए । रिसोर्ट बाहिर खत्रीको भ्यान अझै देखिन्थ्यो, पूरै जलेको ।

चरिकोटमा कान्तिपुरकर्मी मानन्धरसँग भेट भयो । हामी सँगै तामाकोशी ओर्लियौं र मैनापोखरीतर्फ उक्लियौं । घटनास्थल मैनापोखरीको सडकमा अझै पनि रगतका टाटा देखिन्थे । स्थानीयमा त्रास थियो, कुरा गर्न सबै हच्किरहेका बेला बालबालिकाको एउटा समूहले घटनाको वृत्तान्त सुनायो । अबोध बालबालिकाले हामीलाई गोली नै गोलीले क्षतविक्षत बस भएको ठाउँसम्म पुर्‍याए । केही यात्रीका लुगाका टुक्रा अझै त्यहीं देखिन्थे । 

घटनास्थलबाट फर्किएपछि मेरो मथिंगल रन्किरह्यो र मैले २५ मिनेटको कर्खा गीत तयार पारें । पछि त्यसै वर्ष (सन् २००५) प्रकाशित घटना अल्बममा यो गीत समावेश छ । नेपाल र विदेशका कन्सर्टहरूको शुरूमा यो गीत गाउँदा दर्शक निकै भावुक बन्थे । देशको वास्तविकताको ज्वलन्त सांगीतिक चित्रण थियो, त्यो ।

नानीमैयाँ र सोनालाई मैले पहिलो पटक चरिकोटमा ‘सुन्दर शान्त नेपाल पीस कन्सर्ट टूर’ का बेला (२००५) मा भेटेको थिएँ । त्यसपछि सन् २००७ मा ‘लडाइँमा जनता’ फोटो प्रदर्शनीमा पनि भेट भयो ।

गोपाल चित्रकारले खिचेको यी आमाछोरीको तस्वीर लडाइँमा जनता पुस्तकमा पनि राखिएको छ । किरणकृष्ण र मैले सोनालाई काठमाडौंको बोर्डिङ स्कूलमा पढाइदिने, उनलाई पनि छोरी पढाउने स्कूलमा काम खोजिदिने प्रस्ताव गर्दा समेत नानीमैयाँ तयार भइनन् ।

नानीमैयाँसँग उबेला गरेको वाचा अनुसारको सहयोग गर्न गतसाता फेरि हामी चरिकोट गएका थियौं । १३ वर्षकी सोना ६ कक्षामा पुगिसकिछन् । नानीमैयाँ विद्यालयमै पढाउँछिन् । शहरमै छोरी पढाइदिने हाम्रो प्रस्ताव अस्वीकार गरेकोमा उनलाई यतिबेला पछुतो लागेको रहेछ । “काठमाडौंमा जतिसुकै भीडभाड र फोहोर भए पनि यहाँ भन्दा सुरक्षित त छ”, उनले भनिन् ।

हुन पनि मैनापोखरी घटनामा संलग्न माओवादी कमाण्डर विशाल खड्का भर्खरै सम्पन्न निर्वाचनमा प्रदेश सभा–१ बाट सांसद् चुनिए । नतिजापछि वामगठबन्धनले विजय र्‍याली निकालेको थियो ।

निर्वाचित प्रतिनिधिलाई माला लगाइदिन नानीमैयाँलाई पनि भनियो । उनले प्रतिनिधिसभामा निर्वाचित एमालेका पार्वत गुरुङ र प्रदेश सभा–२ बाट विजयी पशुपति चौलागाईंलाई माला लगाइदिइन् । तर जसै कमरेड विशालको पालो आयो, उनका हात काम्न थाले, आँसु झरे ।

“तर, मैले आफ्नो भावना दबाएँ, र एकछिन त मूर्ति जस्तै भएँ” उनी सम्झिन्छिन्, “अनि विस्तारै माला लगाइदिएँ, जो मेरो श्रीमान्‌काे हत्यामा जिम्मेवार छ, उसैलाई माला लगाइदिंदा मलाई कस्तो भयो होला !” उनले अगाडि भनिन्, “अब त्यस्तो युद्ध देख्नु नपरोस्, मैले जस्तो कसैले भोग्नु नपरोस् !”

काठमाडौं फर्कंदा फेरि पनि मूडे देखियो । हर्स शू रिसोर्ट बन्द भइसकेछ । वरपरको दृश्य भने उस्तै छ, मोहन खत्री र सोबेन्द्र काफ्ले यतै कतै पहाडमै छन् कि जस्तो !

नानीमैयाँ र उनकी छोरी सोनासँग अमृत गुरुङ । तस्वीरः किरणकृष्ण श्रेष्ठ

 

प्रतिकृया दिनुहोस