भीमफेदीमा सुमो दुर्घटना, दुईको अवस्था गम्भीर
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ च १९३९ नम्बरको टाटासुमो गाडी आज बिहान दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
भीमफेदी इलाका प्रहरी कार्यालयका अनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल झरेको थियो । चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागार्इंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए ।
काठमाडौँबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्ने क्रममा दुर्घटना हुनगएको सुमोमा सवार विदुर धिमालले बताए । सुमोमा आठजना यात्रु थिए ।
अन्य घाइते हुनेहरुमा किन्दा दाहाल, सिर्जना चौलागाईं, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल रहेको र उनीहरूलाई उपचारका लागि हेटौँडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए ।