‘रोलमोडल’ सहायक प्रजिअ
यस वर्षको ‘इन्टिग्रिटी आइडल’ को उपाधि जितेका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल सबैका लागि ‘रोलमोडल’ बनेका छन् ।
२ पुसमा देशभरीका एक हजार २० जना प्रतिस्पर्धीलाई उछिन्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल (४०) नागरिकस्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई प्रदान गरिने ‘इन्टिग्रिटी आइडल’ बने ।
एकाउन्ट्याबिलिटी ल्याबले आयोजना गर्ने इन्टिग्रिटी आइडलको चौथो संस्करणको विजेता बनेपछि उनले भने, “यो उपाधिले इमान्दार र कर्तव्यनिष्ट भएर काम गर्ने हौसला मिलेको छ ।”
अन्तिम प्रतिस्पर्धामा उनीसँग जिल्ला कृषि विकास कार्यालय काभ्रेका कृषि प्रचार अधिकृत कृष्ण धिताल, वन विभाग काठमाडौंकी सहायक वन अधिकृत सवनम पाठक, कालिकोटको मान्मास्थित पञ्चदेव माविका शिक्षक सबराज बम र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी थिए ।
एकाउन्ट्याबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीका अनुसार, एसएमएस र वेबसाइटमा आएका ३५ हजार १११ भोटमध्ये पौडेलले ९ हजार ९३० भोट पाएका थिए ।
चौथो संस्करणमा आइपुग्दा लाइबेरिया, पाकिस्तान, माली, दक्षिणअफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भएको ‘इन्टिग्रिटी आइडल’ बन्न उनलाई भोटले मात्रै पुगेको होइन, लामो यात्रा पार गरेका छन् ।
१३ वर्षे यात्रा
पाणिनी गाउँपालिका–२, अर्घाखाँचीका पौडेल निजामति कर्मचारी भएको १३ वर्ष भयो । पढ्दै, निजी विद्यालयमा पढाउँदै गरेका उनलाई त्यो भन्दा ठूलो दायरा र धेरै जना साक्षात्कार हुने ठाउँमा काम गर्ने मन थियो । अंग्रेजी भाषामा स्नातकोत्तर उनले सरकारी सेवामा प्रवेश गर्ने मनस्थिति बनाए ।
उनले भने– “सात वर्षको शिक्षण अनुभवले होला, पहिलो प्रयासमै सफल भए ।” गृह मन्त्रालयको स्थानीय प्रशासन शाखामा शाखा अधिकृत भएको उनी सम्झिन्छन् । त्यहाँ रहँदा भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनःस्थापनामा भूमिका त निभाए नै गृह मन्त्रालय सहभागी हुने द्विपक्षीय, बहुपक्षीय बैठक तथा गोष्ठीलाई प्रभावकारी बनाउन पनि योगदान दिए ।
नेपालले पहिलो पटक आयोजना गरेको सार्क मुलुकका गृहमन्त्री, गृह सचिव र अध्यागमनका महानिर्देशकहरुको बैठकमा आयोजक समितिको सदस्य सचिव भएर काम गरे, पौडेलले ।
उनले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निजी सचिवालय प्रमुख, मूख्य सचिव लिलामणी पौडेलको सचिवालय प्रमुख र अध्यागमन विभागमा अध्यागमन अधिकृत भएर काम गरिसकेका छन् ।
१० वर्ष काठमाडौंमै बिताएका पौडेल त्यसपछि बाग्लुङ र रामेछापको प्रमुख जिल्ला अधिकारी हुँदै अहिले मोरङको सहायक प्रमुख जिल्ला अधिकारी छन् ।
काठमाडौंमा रहँदा जिल्ला र केन्द्रबीचको खाडल (ग्याप)लाई नजिकबाट बुझेकाले जिल्लामा खटिँदा त्यसलाई घटाउने कोसिस गरिरहेको बताउँछन् । “जिल्लामा जानुअघि नै त्यहाँको बारेमा अध्ययन गरेर खाका तयार पार्छु” पौडेल भन्छन् ।
आफूले काम गर्ने जिल्लाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक अवस्था, सरकारी कार्यालयले गरिरहेको कामकारवाही, विकास निर्माणको बारेमा जानकारी लिएर जाँदा सजिलो हुने उनको अनुभव छ । यसका लागि उनले जिल्लामा पहिले कार्यरत प्रमुख जिल्ला अधिकारीसँगै स्थानीय बासिन्दाको सहयोग लिन्छन् ।
बाग्लुङको प्रमुख जिल्ला अधिकारी रहँदा सदरमुकामबाट ९५ किलोमिटर टाढाको बुर्तिवाङमा इलाका प्रशासन कार्यालयबाटै राहदानी (एमआरपी) वितरण शुरु गरे भने मालपोत र नापी कार्यालय पनि सञ्चालनमा ल्याए । उनले ‘गाउँ–गाउँमा प्रमुख जिल्ला अधिकारी’ अभियानमार्फत सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्याको गाउँमै पुगेर समाधान गरे । घुम्ती शिविरलाई घरदैलोमै पु¥याउने उनको काम उदाहरणीय मानिन्छ ।
जागिर होइन, सेवा
सरकारी जागिरको ‘क्रेज’ बढ्दै गइरहेको छ । सरकारी सेवा प्रवेश गर्दा धेरै तयारी गर्ने तर, जागिरे भइसकेपछि ‘काम गरे पनि भयो, नगरे पनि भयो’ भन्ने मनोवृति देखिन्छ । त्यसको विरोध गर्ने उनी भन्छन, “यो जागिर मात्रै नभइ, सेवा हो ।” नागरिकको अपेक्षा दिन प्रतिदिन बढिरहेको भए पनि सरकारी कार्यालयबाट त्यसअनुसार काम हुन नसकेको उनी बताउँछन् ।
कर्मचारीले नागरिकको समस्याप्रति उदासिन हुँदा नागरिक र सरकारबीच दूरी बढिरहेको पौडेल बताउँछन् । त्यसैले सरकारी सेवालाई जागिर मात्रै नभइ सेवा मानेर जनताप्रति जवाफदेही हुनुपर्ने उनको धारणा छ ।
सरकारी कार्यालय जनतालाई दुःख दिने नभइ सेवा गर्ने ठाउँका रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ । त्यसैले उनले जिल्ला प्रशासन कार्यालयले गरेका निर्णय, कार्यक्रम र सूचनाहरु एसएमएस, इमेल, वेबसाइटमार्फत प्रवाहको व्यवस्था मिलाएका छन् । जसले फोन गर्नुपर्ने, चिठ्ठी पु¥याउनुपर्ने कामहरु कम भएको उनी बताउँछन् ।
सरकारी कामकाजले सेवाग्राहीलाई सजिलो हुने गरी गर्नुपर्ने उनी बताउँछन् । आफूलाई सेवाग्राहीको ठाउँमा राखेर हेर्नुपर्ने बताउँदै पौडेल भन्छन्, “नजान्नु सेवाग्राहीको दोष होइन, त्यो त हाम्रो दोष हो । सबैकुरा सेवाग्राहीलाई थाहा हुँदैन, सिकाउनु पनि पर्छ ।”