रिपोर्टआइतवार, पौष ९, २०७४

प्रत्यक्ष अध्ययन र अवलोकनको स्रोत प्राकृतिक विज्ञान संग्रहालय

सविना देवकोटा

दुर्लभ, लोप भइसकेका र लोपोन्मुख जीवका अवशेषलगायत विभिन्न जीव, वनस्पति, खनिजलगायतका ५५ हजारभन्दा बढी नमूना संग्रहालयमा छन् ।

सेतो काग । तस्वीरहरूः बिक्रम राई

गर्मी मौसममा पाइने गोमन सर्प काठमाडौंमा भेटिनु अहिलेको लागि पनि सामान्य मानिंदैन । तर, १८ वर्षअघि नै इचंगुनारायणमा गोमन भेटिंदा सबै छक्क परेका थिए ।

अन्तिमपटक ४५ वर्षअघि देखिएको राम गाई अहिले नेपालबाट लोप भइसकेको छ । चित्रहरूमा भने यो गाई चरिरहेको अझै देखिन्छ ।

खेतमा मारेर फालिएको त्यो गोमन र राम गाईलाई सबैले बिर्सिसकेका छन् । तर, काठमाडौंको स्वयम्भूस्थित त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयले भोलिको पुस्ताका लागि भन्दै ती प्राणीको अवशेष जतनसाथ राखिरहेको छ ।

लोपोन्मुख चरी बाघ

दुर्लभ, लोप भइसकेका र लोपोन्मुख जीवका अवशेषलगायत विभिन्न जीव, वनस्पति, खनिजलगायतका ५५ हजारभन्दा बढी नमूना संग्रहालयमा छन् । विद्यार्थीले किताबका चित्रमा मात्र देखेका जीव र वनस्पतिसँग यस संग्रहालयमा साक्षात्कार गर्न सक्छन् ।

जस्तो कि, ३४ वर्षअघि बुटवलको सिद्धबाबामा मानव जातिको पुर्खा मानिने रामापिथेकसको १ करोड १० लाख वर्ष पुरानो मानिएको बंगारा, लोपोन्मुख चरीबाघ, विरलै देखिने सेतो काग, श्रीपेचमा प्रयोग हुने प्वाँखधारी कल्की चरा, काँडे भ्याकुरलगायतका पक्षीहरूका सग्ला अवशेष यहाँ देख्न पाइन्छ । दुईटाउके सर्प, आठखुट्टे भेडा, कुखुराका चारखुट्टे चल्ला जस्ता असाधारण शरीर लिएर जन्मेका जीवहरू पनि संग्रहालयमा छन् ।

खेल्दै सिक्दै
संग्रहालयको एउटा कोठाको भित्तामा सिसाका बाकसभित्र विभिन्न प्रजातिका च्याउहरू राखिएको छ । बाकसका प्रत्येक च्याउलाई नम्बरमार्फत संकेत दिइनुका साथै विद्युत् पनि जडान गरिएको छ ।

प्यानलका कुनै स्वीच थिचेपछि च्याउ बाकसको बत्ती बल्छ । खान हुने च्याउका लागि हरियो बत्ती बल्छ भने खान नहुनेका लागि पहेंलो र विषालु च्याउका लागि रातो बत्ती बल्ने व्यवस्था मिलाइएको छ । यति मात्र होइन, कुन प्रजातिको च्याउ कहाँ पाइन्छ, कस्तो देखिन्छ र तिनका विशेषता पनि च्याउँसँगै राखिएको छ ।

फरक छुट्याएर अध्ययन गर्न सकिने केही वनस्पतिको लागि पनि यस्तै विधिबाट सिक्ने सुविधा संग्रहालयमा छ ।

शहरमा बसोबास गर्ने अधिकांश स्कूले विद्यार्थीले थुप्रै जीव वनस्पतिलाई प्रत्यक्ष देख्नै पाएका हुँदैनन् । विद्यालयमा पर्याप्त शैक्षिक सामग्रीसहितको प्रयोगशाला पनि हुँदैन । यस्तो बेला संग्रहालय विद्यार्थीका लागि निकै उपयोगी ज्ञानको स्रोत बन्न सक्ने देखिन्छ । 

मैतीदेवीस्थित न्यू स्काई इङ्गलिस बोर्डिङ्ग स्कूलकी शिक्षिका सानु गन्धर्वको अनुभवमा संग्रहालयको भ्रमण विद्यार्थीका लागि पुरस्कार नै हो । आफूले पढाउने गणित विषयमा उत्कृष्ट भएका कक्षा ३, ४ र ५ का तीनजना विद्यार्थीलाई पुरस्कारस्वरुप आफ्नै खर्चमा संग्रहालय घुमाएकी उनी भन्छिन्, “स्कूलमा दिने अन्य पुरस्कारभन्दा यो पुरस्कार प्रभावकारी भयो, विद्यार्थी असाध्यै खुशी देखिए ।”

१८ वर्षअघि काठमाडौंमा भेटिएको गोमन सर्प । 

गणितमा उत्कृष्ट विद्यार्थीलाई संग्रहालय प्रकृति भ्रमण गराउने शिक्षिकाको शैली संग्रहालयका प्रमुख प्राध्यापक धर्मराज डंगोललाई भने उदेक लाग्यो । तर, शिक्षिका गन्धर्वको जवाफबाट उनी प्रभावित नभइरहन सकेनन् । “गणितमा राम्रो अंक ल्याएका विद्यार्थी जीव विज्ञानमा पनि उत्कृष्ट बनून् भन्ने शिक्षिकाको भनाइ वास्तवमै गजबको र अनुकरणीय थियो” डंगोल भन्छन्, “यसबाट विद्यार्थीले कहिल्यै नबिर्सने गरी सिक्छन्, संग्रहालयलाई पनि भरथेग हुन्छ ।”

संग्रहालय जीव तथा वनस्पतिको अध्ययन, अनुसन्धान र अवलोकनका लागि गतिलो स्रोत भएर पनि सक्दो उपयोग भने हुन नसकेको डंगोल बताउँछन् । अवलोकनकर्तामार्फत नै संग्रहालयको प्रचारप्रसार र उपयोग बढाउने योजनामा रहेको उनको भनाइ छ । संग्रहालयका अनुसार, गत आर्थिक वर्षमा १५ हजार ७४४ जनाले यो संग्रहालय अवलोकन गरेका थिए, जसमध्ये अधिकांश विद्यार्थी थिए ।

नयाँ संरचनाको खाँचो
३ असार २०३२ सालमा तत्कालीन आनन्दकुटी विद्यापीठको छात्रावासलाई संग्रहालयको रुप दिइएको थियो । संग्रहालयको स्थापनाकालमा त्रिवि विज्ञान विभागका प्राध्यापक एसपी प्रधानले विभिन्न विश्वविद्यालयबाट जीव र वनस्पतिका प्रजाति संकलन गरेका थिए । ‘पुतली बाजे’ भनी चिनिने बेलायतका जीवविद् कोलिन स्मिथले नेपालभित्रै संकलन गरेका पाँच हजारभन्दा बढी प्रजातिका पुतलीको नमूना पनि संग्रहालयलाई हस्तान्तरण गरेका थिए ।

पूर्व राजपरिवारद्वारा संकलित जीव, तत्कालीन युवराज दीपेन्द्रले शिकार गरेको गिद्ध, गोहीलगायत पशुपक्षीका अवशेष पनि संग्रहालयमा छन् ।

यसबाहेक जावलाखेलस्थित सदर चिडियाखाना, विभिन्न राष्ट्रिय निकुञ्ज, आरक्षहरू पनि सामग्रीका स्रोत हुन् । संग्रहालय प्रशासनका अनुसार, घरमै पालिएका जीवजन्तुका अवशेष पनि संग्रहालयमा दान गर्न सकिन्छ ।

यसको अर्को काम चोरीतस्करी एवम् अवैध कारोबारका क्रममा बरामद पशुपक्षीका जीवावशेषको परीक्षण तथा प्रमाणीकरण गर्नु हो । गत आर्थिक वर्षमा मात्रै ३८२ थरी जीवावशेष र नमूना प्रमाणीकरणका लागि संग्रहालय आएका थिए ।

नयाँ भवन र खुला ठाउँको अभावमा केही वर्षयता विशेष महत्वको सामग्री वा नमूना थप्न सकेको छैन । संग्रहालय रहेको स्वयम्भू स्तूप परिसर विश्व सम्पदा सूचीमा रहेकाले नयाँ भवनलगायतका गतिविधि गर्न नसकिएको डंगोलको भनाइ छ ।

प्रतिकृया दिनुहोस