ब्लगशनिवार, पौष ८, २०७४

मुत्दुमका चरा

हिमालखबर

किरात राईको मुत्दुममा मानव उत्पत्तिा र समाज विकासको क्रममा चराहरूको विशेष भूमिका रहेको वर्णन पाइन्छ।


- चन्द्रकुमार राई हतुवाली

खिवामा (डाँफे) । सबै तस्वीर: अनलाइनबाट

हिन्दूको वेद, बौद्धको त्रिपिटक र मुस्लिमको कुरान भने जस्तै किरात राई जातिको जीवनदर्शन मुत्दुममा आधारित छ । राई जातिमा भाषिक विविधता अनुसार मुत्दुमलाई मुन्दुम, मिन्दुम, ख्यालतम्र आदि भनिन्छ ।

मुत्दुमलाई लिम्बूले मुन्धुम, सुनुवारले मुक्दुम र याक्खाले मुन्थुम भन्छन् । यी जातिले मुत्दुमकै आधारमा जन्म, विवाह, मृत्यु संस्कार र अन्य भैपरी आउने सांसारिक घटनाहरू समाधान वा अनुकूल गराउने गर्छन् ।

मुत्दुम विना उनीहरूको व्यावहारिक जीवनको न प्रारम्भ हुन सक्छ न अन्त्य । त्यसैले उनीहरूको जीवनदर्शन मुत्दुमबाट निर्देशित छ ।

अन्य धर्मशास्त्रहरूमा जस्तै मुत्दुममा पनि पृथ्वी र प्राणी–वनस्पति उत्पत्तिको वर्णन पाइन्छ । मुत्दुममा सृष्टिकर्ता पारुहाङ र सुम्निमा (हिन्दूका शिव–पार्वती) हुन् ।

मुत्दुममा पारुहाङ र सुम्निमा को थिए ? उनीहरूबीच संयोग गराउने को–को थिए भन्ने वयानका साथै ६ किसिमका चराको पनि चाखलाग्दो भूमिका पाइन्छ ।

चेन्चेक्वा
समुद्रको फिंजबाट सुम्निमाको सृष्टि भयो । सृष्टिकालीन धर्तीमा सुम्निमा एक्लो मानव थिइन् । जीवजन्तुु, पक्षी र रुख–बिरुवाका बीच हुर्किएकी उनी तान बुन्थिन् ।

एकदिन उनको तानमाथि सुनको काइयो खस्यो । त्यति राम्रो काइयो बनाएर आफ्नो तानमाथि खसाउने को होला ? उनले चेन्चेक्वा (चिबिर्के) चरालाई निनाम्मा (आकाश) तिर खोज्न पठाइन् । उनलाई तिर्खाले व्याकुल पारेको बेला पानी खोजिदिने पनि चेन्चेक्वा नै थियो ।

चेन्चेक्वा निनाम्मा पुुग्दा पारुहाङ थुन्से बुन्दै रहेछन् । उसलाई देख्नासाथ पारुहाङले भने, “यो पनि तिम्रो डिमा (बोजु) लाई पठाउन बुन्दै गरेको... ।”

अनि चेन्चेक्वाले पारुहाङलाई सुम्निमा बोजूलाई आफैं हेर्न र बिहे गर्न अनुरोध गर्‍यो । त्यसपछिको कुनै एकदिन पारुहाङ सुम्निमालाई भेट्न मलसाप्रोलाई साथी लिएर हेन्खा (धर्ती) मा झरे ।

चिचिफेङवा

चेन्चेक्वाको आग्रह अनुरुपमा हेन्खामा झर्दा पारुहाङले र्‍याले–सिंगाने वृद्धरुप लिएका थिए । त्यस्तो बूढोलाई युवती सुम्निमाले वर स्वीकार्ने कुरै आएन ।

पारुहाङले सुम्निमाको सेखी झार्न हेन्खामाभरिको पानी सुकाइदिए । तिर्खाले साह्रै आकुुलव्याकुल पारेपछि सुम्निमाले चिचिफेङवा (चिचिलकोटे) चरालाई पानी खोज्न पठाइन् । तर, चिचिफेङवा कतै पानी नभेटी फर्कंदा सुम्निमालाई साह्रै रीस उठ्यो ।

उनले चिचिलकोटेलाई ‘गुँडमा हात्तीको रौं नराखेसम्म तेरो बच्चा नकोरलिओस्’ भनिन् । चिचिलकोटेले बच्चा काढ्नु अघि चारचौरास चहारेर भए पनि गुँडमा हात्तीको रौं राख्छ भन्ने जनविश्वास किरात समाजमा छ ।

सङ्काधोकधोक

मुत्दुममा आउने अर्को चराको नाम सङ्काधोकधोक (लाहाचे) हो । किरात मुत्दुमले यसलाई काम फत्ते नगर्ने चराको रुपमा चित्रण गरेको छ ।

सुम्निमालाई तिर्खा लाग्दा पानी नदिएर आफैं खाइदिएको आरोप सङ्काधोकधोकमाथि लागेको छ । सुम्निमाले पनि सङ्काधोकधोकको जिब्र्रो तानेर दोबारी दिएको मिथक पाइन्छ ।

साप्तुकुन्मा

मुत्दुमअनुसार पारुहाङ र सुम्निमाका तीन छोरा थिए– जेठा चाप्चाबुङ (बाघ), माहिला तुमुनबुङ (भालु) र कान्छा हेन्कुमबुङ (मानिस) ।

सुम्निमा र पारुहाङले छोराहरू हुर्केर केही गर्न सक्ने भएपछि चाप्चाबुङ र तुमुनबुङ जङ्गलतिर पठाए भने हेन्कुुमबुङलाई समाज सिर्जना गर्न लगाए ।

आमाबाबुको इच्छाअनुसार हेन्कुमबुङले आफ्ना सृष्टिकर्ताहरूलाई सम्झन पितृपूजा, समाज विस्तार र रीतिथिति बसाउनुपर्ने भयो । त्यही क्रममा उनको विवाह नागराजाकी छोरीसँग भयो ।

एकदिन हेन्कुमबुङले शिकारमा साप्तुकुन्मा (ढुकुर) मारेर ल्याएछन् । त्यसको गाँडमा फेला परेको गेडागुडीलाई उनले नजिकैको बारीमा छरे । समय क्रममा त्यो लटरम्म फल्यो ।

अन्न पाकेपछि हेन्कुमबुङ र श्रीमतीले टिपेर बनाई–तुल्याई खाए, तर उनीहरूलाई बिसायो । धामीले यो खानेकुरा पितृलाई नचढाई खाएकोले बिसाएको भनेपछि उनीहरूले पितृलाई चढाएर खान थाले । त्यो अन्न कोदो थियो ।

त्यसैले राईहरूले कोदोलाई पितृ अन्न मान्दछन् । भोजपुर हतुवा क्षेत्रका राईहरू ढुकुर चरासँग जोडिएर आएको अन्न कोदाको बीउ छर्दा रावा नामको पितृ पूजा गर्छन् ।

टाङवामा र खिवामा

मुत्दुममा हेत्छाकुवा (टुहुरा) को चर्चा धेरै पाइन्छ । उहिले दुई दिदी टाङवामा र खिवाका भाइ हेत्छाकुवा थिए । एक दिन हेत्छाकुवा यति गहिरो निदाएछन् कि दिदीहरूले जति उठाउँदा पनि ब्युँझेनछन् ।

त्यसपछि भाइ मरेछ भनी विरक्तिएका दिदीहरू चरामा बदलिएछन् । सल्लाहअनुसार दिदी ताङवामा धनेस बनेर मधेशतिर अनि बहिनी खिवामा डाँफे बनेर हिमालतिर लागेछन् ।

हेत्छाकुवा ब्युँझिदा दिदीहरू चरा बनेर उडिसकेका थिए, उनले कत्ति खोज्दा पनि दिदीहरु भेटेनन् । दिदीहरूले एक कोसो केरा र कर्द छाडिदिएका रहेछन् ।

उनले केरा खाएर त्यसको सानो बीउ कर्दले रोपे । केरा उमे्रर बढ्यो, फल्यो र पाक्यो । हेत्छाकुवाले त्यो केरा खाइरहेको बेला चकोरोङधिप्मा नामकी बूढी आइपुगिन् । उनलाई पनि केरा दिन लाग्दा चकोरोङधिप्माले हेत्छाकुवालाई नै खान खोजिन् । त्यो संकटबाट फुत्किएर मावली पुगेका हेत्छाकुवा त्यहीं जवान भए ।

मावलीमै बिहे हुने भएपछि चेली चाहियो । दिदीहरू खोज्न उनले उपियाँ र भालेलाई पठाए । दिदीहरू पुनः मान्छेको स्वरुप लिई धमाधम तान बुन्दै रहेछन् ।

उपियाँ छेउमा आएको देख्दा दुवै दिदीले टोक्न आएको ठानी ठुंगेर मारिदिएछन् । भालेलाई पनि लखेटेछन् । त्यसपछि हेत्छाकुवाले योयोवेङमा (झ्याउँकिरी) लाई पठाएछन् । योयोवेङमाले मधुर गीत गाउँदै, भुल्याउँदै दिदीहरू ल्याएर भाइसँग भेट गराइदिए ।

बिहे सकिएपछि दिदीहरूले हेत्छाकुवालाई ढोल, झ्याम्टा बनाउन लगाई साकेन्वा लाक (नाच) नाचे । जानुभन्दा अगाडि भाइलाई फेटा लगाइदिए । माइतीले पनि चामल, साप्रो र हेङमावा (रक्सी) का साथ विदाइ गरे । किरात राईको बिहेमा चेली अनिवार्य चाहिनुको कारण यही हो ।

किराती राई समुदायमा चरा मार्नु नै हुँदैन भन्ने नियम नभए पनि मुत्दुमले त्यसलाई निरुत्साहित नै गरेको मानिन्छ । त्यसैले कुनै पनि जीवजन्तु मार्ने बेलामा रिसिया (मुत्दुम वाचन) गाइन्छ ।

रिसियामा ‘लौ है, तिमीलाई सृष्टिकालबाट नै मानवलाई पाल्न लेखिआएको रहेछ, सृष्टिको नियम नै एकले मरिदिइ अर्को बाँच्नुपर्ने भएकोले तिम्रो दुःख खेर नजाओस्’ भनिन्छ ।

प्रतिकृया दिनुहोस