“रानी पोखरीमा कफी सप चाहिन्छ, हामी बनाउँछौं”
काठमाडौं महानगरपालिकाले रानी पोखरीमा क्रंक्रिटको भित्तो बनाइरहेको छ र दक्षिणतर्फ कफीसप सहितको एम्फिथिएटर बनाउने योजनामा छ । सम्पदाविद्हरु यसरी हुने निर्माणले पोखरीको आकार २० प्रतिशतले घट्ने बताउँछन् ।
यसै साता, विहान ११ः३० बजे, काठमाडौं महानगरपालिकाको बागदरबारस्थित कार्यालयको छैटौं तलामा मानिसहरुको भीड बढ्दो थियो । नयाँ मेयर अझै आइपुगेका थिएनन् । त्यही भीडमा संरक्षण अभियन्ता आलोक तुलाधार र सम्पदाविद् एवम् अर्किटेक्ट सुदर्शनराज तिवारी थिए, अरु अभियन्ताहरुसँगै ।
रानीपोखरीमा ढिलो गरी हुनलागेको विवादास्पाद पुनःनिर्माणबारे मेयर विद्यासुन्दर शाक्यलाई आफ्नो असहमति जाहेर गर्न पुगेका थिए उनीहरु । पोखरीको मौलिक स्वरुप विगारेर कंक्रिटको भित्तो बनाइँदै गरेकोमा उनीहरुलाई आपत्ति छ ।
“खै उहाँलाई भेटेर पनि केही होला जस्तो त लाग्दैन, तर पछिल्लो समय चाहीँ सकारात्मक परिणाम आएको थियो,” तुलाधरले भने ।
महाभूकम्प गएको एक वर्षपछि राष्ट्रपति विद्या भण्डारीले रानीपोखरीबाटै राष्ट्रिय पुनःनिर्माण अभियानको शुभाराम्भ गरेकी थिइन् । त्यसलगत्तै महानगरपालिकाले पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर सिमेन्ट, रोडा, छड प्रयोग गरेर बनाउन थाल्यो ।
त्यसको व्यापक विरोध भएपछि अहिले मन्दिरको पुनःनिर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ । र परम्परगत प्रविधिबाट पुनःनिर्माण हुँदैछ । तर पोखरी र त्यसवरपरको जिम्मा महानगरपालिकासँगै छ ।
सम्पदाविद् तिवारी भन्छन, “एक वर्षअघि हामीले विरोध गरेपछि मन्दिर पुनःनिर्माणमा कंक्रिट र आधुनिक निर्माण सामाग्रीको प्रयोग रोकियो । तर महानगरपालिकाले मन्दिरलाई मात्रै सम्पदा ठानेछ, पोखरीको पुनःनिर्माणमा वेथिति गरिरहेको छ ।”
महानगरपालिका भने रानीपोखरीलाई ‘सुन्दर र आधुनिक’ बनाउन चाहन्छ– कफी सप, चौतारी र झिलिमिली बत्तीसहितको सांगीतिक फोहरा निर्माण गरेर । यस्तो कार्यले नेपालको प्राचिन स्मारक संरक्षण ऐनको उल्लंघन गरिरहेको सम्पदाविद्हरु बताउँछन् । ऐन अनुसार सय वर्षभन्दा पुराना ऐतिहासिक क्षेत्रको संरक्षण मौलिक रुपमा नै गरिनुपर्छ ।
महानगरपालिकाले पोखरीमा पहिलेदेखि रहेको पानी अड्याउने कालीमाटी खोस्रेर फालेपछि कंक्रिटको भित्तो (रिटेनिङ वाल) बनाइरहेको छ ।
यता अभियन्ताहरुले मेयरलाई कुरिरहँदा एक किलोमिटर परको सुख्खा पोखरीको वरीपरी मजदुरले कंक्रिट खन्याइरहेकै थिए । पोखरीको पुनःनिर्माण मौलिक स्वरुपमा परम्परागत प्रविधि र सामाग्रीबाटै हुनुपर्छ भनिरहेका अभियन्ताहरु रानीपोखरी पुनःनिर्माणको डिजाइनबारे पनि जानकारी लिन चाहन्थे ।
अलिबेर पर्खँदा पनि मेयर आइपुगेनन् । उनलाई भेटन चाहनेहरुको घुइँचोले कोठा चोटा सबै भरिन थालेपछि अभियन्ताहरुको समूह इन्जिनियर उत्तरकुमार रेग्मीकहाँ पुग्यो– जो पहिल्यैदेखि चिढिए जस्ता देखिन्थे ।
“यो निर्माण पनि संरक्षणकै लागि होे, पोखरी दिगो रहोस भनेर,” उनले भने, “सिमेन्ट पहिले पनि प्रयोग गरिएकै हो, सार्क सम्मेलनका बेला एउटा सांगीतिक फोहोरा पनि जडान गरिएको थियोे, त्यसबेला किन विरोध नगरेको ?”
अन्तत्वगत्वा दुई घण्टापछि मेयर सभागृहमा भेट्टिए । महानगरपालिकाले उपत्यकाको सांस्कृतिक सम्पदाको सम्मान नगरेको र त्यसको एउटा उदाहरण रानीपोखरीको पुनःनिर्माण रहेको गुनासो सुनेपछि मेयर शाक्यले भने, “शहरमा यस्ता १४० वटा परियोजना जारी छन्, मलाई सबैको विस्तृत विवरण थाहा हुँदैन । तर हाम्रा पुर्खाले जे गरे त्यो भन्दा हामीले धेरै गर्नुपर्छ ।”
धार्मिक स्थल र पुराना सम्पदालाई आधुनिकीकरण गरेर पर्यटकीय स्थल बनाउने मेयरको योजना रहेछ । उनले स्थानीय र संवन्धित क्षेत्रका विज्ञसँग छलफल गरेर अगाडि बढ्ने आश्वासन पनि दिए ।
अभियन्ताहरु फर्किंदै गर्दा मेयर शाक्यले भने, “तर, रानीपोखरीमा कफी सप आवश्यक छ, हामी त्यो बनाउँछौं ।”