‘वाम गठबन्धनको अग्निपरीक्षा शुरू’
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनको अग्निपरीक्षा शुरु भएको बताएका छन् ।
काठमाडौंको कागेश्वर–मनहरा नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले वाम गठबन्धनलाई जनताले स्पष्ट बहुमत दिएकाले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गर्ने अग्निपरीक्षा शुरु भएको बताएका हुन् ।
प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित नेपालले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता अपरिहार्य भएको बताए । वाम गठबन्धनको सरकारसँगै देशमा दण्डहीनताको अन्त्य हुने र विधिको शासन कायम हुने पनि नेपालले बताए ।
त्यस्तै नयाँ सरकार स्थानीय पूर्वाधार तथा विकास निर्माणमा तीव्रताका साथ लाग्ने उनको भनाइ थियो ।