वीरगञ्ज : ग्यास उद्योगमा आगलागी, दुई अग्निनियन्त्रकको मृत्यु
वीरगञ्ज महानगरपालिका– २२ स्थित सुपर ग्यास उद्योगमा आगो लागेको छ । आगो निभाउन दमकल सहित पुगेका नगरपालिकाका दुईजना अग्निनियन्त्रक कर्मचारीको पनि आगोको चपेटामा परी मृत्यु भएको छ ।
विहान करिब ६ बजेदेखि शुरु भएको आगालागी विहान साढे १० बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
ठूलो आवाजसहित ग्यास सिलिण्डर विष्फोट भइरहेका छन् । भवानीपुर र सुकचैनाको बीचमा गण्डक नहरसँगै रहेको सुपर ग्यास उद्योगमा ग्यास लिकेज भई आगो लागेको हो ।
गए राति ग्यास बुलेटबाट भण्डारमा ग्यास भर्ने क्रममा लिकेज भइरहेको खबर पाएपछि नियन्त्रणका लागि पुगेको महानगरपालिकाको दमकल घटनास्थल नजिकै पुग्दा आगो लागि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका अग्निनियन्त्रक यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रा छन् ।
दमकलसँगै घटनास्थल गएका प्रहरी हवलदार ब्रह्मनारायण जैसवालले भने, “ग्यास लिकेजको खबर पाएपछि दमकल सहित उद्योग नजिक पुग्यौं । लिकेज भएको ठाउँ चिस्याउने प्रक्रिया थाल्नु अघि दमकल रोकेर केही बेर छलफल गरी उद्योगको गेट भएरै दमकल अगाडि बढाउने निधो भयो । तर, गाडी स्टार्ट गर्ने वित्तिकै साइलेन्सरको झिल्कोले सबैतिर टिप्यो ।”
दमकल भित्र रहेका अर्का नियन्त्रक सञ्जीव नेपाल, राममान तत्वा र दमकल चालक अरुणकुमार महतो गम्भीर घाईते भएका छन् । नेपाल र महतोलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
आगलागीले सुपरग्यास उद्योगमा काम गर्ने अपरेटर अम्बिका पटेल पनि घाईते भएको उद्योग सञ्चालक अबुलेश अंसारीले जानकारी गराएका छन् ।
आगलागीले महानगरपालिकाको २० वर्ष पुरानो तीन नम्बर भनिने दमकल गाडी, ग्यास बुलेट रहेको गाडी र उद्योगको अधिकांश भाग पूर्ण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वीरगञ्ज महानगरपालिकाको अर्को दमकल, कलैया उपमहानगरपालिका, सिमरा एयरपोर्ट, हेटौडा नगरपालिका र भारत रक्सौलको दमकल बाट प्रयास भइरहे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।
उद्योगभित्रबाट लगातार विष्फोटको आवाज आइरहेको छ । उद्योगभित्र रहेका सिलिण्डरहरु पड्किरहेका छन् भने त्यहाँ भण्डारण गरी राखिएको सबैभन्दा ठूलो ग्यास बुलेट पड्किने सम्भावनाका कारण नजिक जान सकिने स्थिति पनि छैन ।
प्रहरीले उद्योगको १ किलोमिटर परसम्मका सबै घर वस्ती खाली गराएको छ ।
जियालाल साह, वीरगञ्ज