सातै प्रदेशमा को को छन् मुख्यमन्त्रीका दावेदार
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सकिएसँगै मुख्यमन्त्रीको चर्चा पनि शुरु भएको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनको सरकार बन्ने निश्चित छ ।
प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिकमा ३७ गरी ९३ सदस्यीय प्रदेश सभा बन्छ भने सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ ।
निर्वाचन परिणामअनुसार, एमालेले प्रत्यक्षमा ३६ सिट जितेको छ भने समानुपातिकमा १६ सिट पक्का छ । यहाँ एमाले एक्लैले सरकार गठन गर्न सक्छ ।
एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य शेरधन राई मुख्यमन्त्रीका प्रबल दावेदार मानिएका छन् । उनी भोजपुर निर्वाचन क्षेत्र १ ‘ख’ बाट प्रदेश सभा सदस्य हुन् । राईसँगै भीम आचार्यलाई पनि मुख्यमन्त्रीका रुपमा हेरिएको छ । उनी सुनसरी १ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका हुन ।
प्रदेश १ मा माओवादी केन्द्रले प्रत्यक्षमा १० सिट जितेको छ भने समानुपातिकबाट ५ सिट पाउनेछ । नेपाली कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकमा १३ सिट पाउनेछ । त्यस्तै संघीय समाजवादी फोरमले प्रत्यक्षमा १ र समानुपातिकमा २ सिट पाउनेछ ।
प्रदेश २ मा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सरकारको दावेदारका रुपमा उभिएका छन् ।
प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक छ । यहाँ फोरमले प्रत्यक्षमा २० जितेको छ भने समानुपातिकमा ९ सिट पाउनेछ । त्यस्तै राजपाले प्रत्यक्षमा १५ जितेको छ भने समानुपातिकमा ९ सिट पाउनेछ । यी दुबै दलको गठबन्धनलाई सरकार बनाउन एक सिट पुगिरहेको छैन, त्यसको भर्पाईका लागि उनीहरुले रौतहट ४ ‘ख’ बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य शेख अबुलकलाम अजादलाई फकाउँदैछन् ।
यहाँ एमालेले प्रत्यक्षमा १३ समानुपातिकबाट ८, कांग्रेसले प्रत्यक्ष ८ समानुपातिकबाट ११ र माओवादी केन्द्रकले प्रत्यक्ष ७ र समानुपातिक ६ सिट जितेको छ ।
प्रदेश २ मा एमाले–माओवादी र फोरम वा फोरम–राजपा र कांग्रेसबीच गठबन्धन बन्यो भने पनि सरकार बन्न सक्नेछ । तर, मूख्यमन्त्रीको प्रवल दाबेदार भने फोरम र राजपाकै नेताहरु छन् ।
पर्सा १ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित फोरमका लालबाबु रावत र सप्तरी २ ‘ख’ बाट निर्वाचित राजपाका मनिस कुमार सुमन मुख्यमन्त्रीका प्रवल दावेदार हुन् । बारा ४ ‘ख’ बाट निर्वाचित राजपाका जितेन्द्र प्रसाद सोनार पनि प्रदश २ को मुख्यमन्त्रीका रुपमा चर्चामा छन् ।
प्रदेश ३ मा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ ।
प्रदेश ३ मा प्रत्यक्षबाट ४२ र समानुपातिकबाट १७ सिट पाएको एमाले एक्लै सरकार गठन गर्नसक्छ । यस प्रदेशमा वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रको प्रत्यक्षमा १५ र समानुपातिकमा ९ पनि जोड्दा वाम गठबन्धनको सिट संख्या दुई तिहाईभन्दा बढी पुग्छ ।
संघीय राजधानी सहितको यस प्रदेशमा कांग्रेसले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १४, विवेकशील साझाले समानुपातिकबाट ३, नेमकिपा, नयाँ शक्ति र राप्रपाले एक÷एक सिट जितेका छन् ।
यो प्रदेशमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीकी प्रमुख दावेदार हुन् ।
मुख्यमन्त्री बन्नका लागि नै प्रतिनिधिसभा छोडेर प्रदेश सभामा उम्मेदवार बनेकी शाक्य काठमडौं ८ ‘ख’ बाट निर्वाचित हुन् । उनीसँगै दोलखा ‘ख’ बाट निर्वाचित पशुपति चौलागाइँ पनि मुख्यमन्त्रीको रुपमा चर्चामा छन् ।
प्रदेश ४ को मुख्यमन्त्री पनि एमालेबाटै हुने सम्भावना देखिएको छ । लमजुङ १ ‘ख’ बाट निर्वाचत एमाले सचिव पृथ्वी सुब्बागुरुङ मुख्यमन्त्रीका प्रबल दावेदार मानिएका छन् । उनीसँगै तनहुँ २ ‘ख’ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य किरण गुरुङ पनि चर्चामा छन् ।
प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ गरी जम्मा ६० सदस्य हुने प्रदेश ४ मा सरकार बनाउन ३१ सिट चाहिन्छ । यो प्रदेशमा एमालेले प्रत्यक्ष १७ र समानुपातिक १० तथा माओवादी केन्द्रले प्रत्यक्ष ९ र समानुपातिक ३ गरी ३९ सिट जितेका छन् ।
कांग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ९, राष्ट्रिय जनमोर्चाले प्रत्यक्ष २ र समानुपातिक १, नयाँ शक्ति प्रत्यक्ष र समानुपातिकमा एक÷एक तथा मानङ १ ‘ख’ बाट राजिव गुरुङ (मनाङ्गे) ले स्वतन्त्रबाट जितेका छन् ।
प्रदेश ५ मा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सदस्यीय प्रदेश सभा हुनेछ । यहाँ सरकार गठनका लागि ४४ सिट आवश्यक पर्छ । यो प्रदेशमा पनि वाम गठनबन्धनकै सरकार बन्ने निश्चित छ । एमालेले प्रत्यक्ष २८ र समानुपातिक १३ तथा माओवादी केन्द्रले प्रत्यक्ष १६ र समानुपातिक ६ गरी ६३ सिट जितेका छन् ।
यहाँ कांग्रेसले प्रत्यक्ष ५ र समानुपातिक १३, फोरमले प्रत्यक्ष ३ र समानुपातिक २ तथा राजपाले समानुपातिकमा १ सिट जितेको छ ।
यो प्रदेशमा एमाले केन्द्रीय सदस्य शंकर पोखरेल निर्वाचन अघिदेखि नै मुख्यमन्त्रीका रुपमा चर्चामा छन् । प्रतिनिधिसभा छोडेर मुख्यमन्त्रीका लागि प्रदेश सभामा चुनाव लडेका पोखरेल दाङ २ ‘क’ बाट निर्वाचित भएका हुन् ।
प्रदेश ६ मा २४ प्रत्यक्ष र १६ समानुपातिक सहित ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सिट आवश्यक हुन्छ ।
यहाँ एमालेले प्रत्यक्ष १४ र समानुपातिक ६ तथा माओवादी केन्द्रले प्रत्यक्ष ९ र समानुपातिक ४ गरी ३३ सिट जितेका छन् । कांग्रेसले प्रत्यक्षमा १ र समानुपातिकमा ६ सिट जितेको छ ।
सबैभन्दा बढी सिट जितेको एमालेकै नेताहरुमध्ये सुर्खेत २ ‘क’ बाट निर्वाचित यामलाल कँडेल र सल्यान १ ‘ख’ बाट निर्वाचित प्रकाश ज्वाला मुख्यमन्त्रीको दावेदारका रुपमा देखिएका छन् ।
त्यस्तै जाजरकोट १ ‘क’ बाट निर्वाचित माओवादीका महेन्द्रबहादुर शाही पनि मुख्य मन्त्रीका प्रवल दाबेदार हुन् ।
प्रदेश ७ मा पनि वामगठबन्धनकै सरकार बन्ने निश्चित रहेको प्रदेश ७ मा भने माओवादी नेताहरुको पनि मुख्यमन्त्रीको रुपमा चर्चा छ ।
कञ्चनपुर १ ‘क’ बाट निर्वाचित एमालेका तारा लामा तामाङ र बाजुरा १ ‘ख’ बाट निर्वाचित एमालेकै प्रकाशबहादुर शाह प्रदेश ७ मा मुख्यमन्त्रीको दावेदार मानिएका छन् । वामगठबन्धनबाट यो प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परे झपटबहादुर बोहरा र विरमान चौधरीमध्ये एक मुख्यमन्त्री हुनसक्ने छन् । माओवादी केन्द्रका बोहरा अछाम १ ‘ख’ बाट र चौधरी कैलाली ३ ‘क’ बाट प्रदेश सभामा निर्वाचत भएका हुन् ।
मुख्यमन्त्री बन्नका लागि प्रतिनिधि सभा छोडेर प्रदेश सभा समानुपातिकमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्य कर्ण थापा प्रदेश सभामा जान नपाउने भएपछि यहाँ नयाँले अवसर पाउँदैछन् ।
प्रदेश ७ मा एमालेबाट प्रत्यक्षमा एकजना पनि महिला निर्वाचित नभएपछि उसले समानुपातिकमा सबै महिला पठाउनु परेको छ ।
३२ प्रत्यक्ष र २१ समानुपातिक गरी ५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ ।
यहाँ एमालेले प्रत्यक्षमा १७ र समानुपातिकमा ७, माओवादी केन्द्रले प्रत्यक्षमा १० र समानुपातिकमा ४, कांग्रेसले प्रत्यक्षमा ४ र समानुपातिकमा ८ तथा राजपाले प्रत्यक्षमा १ र समानुपातिकमा २ सिट जितेको छ ।