दस्तावेजशनिवार, आश्विन ८, २०७३

चन्द्रशम्शेरको स्वतन्त्रतामा जोड

ज्ञानमणि नेपाल

रेजिडेन्टले बारबार सुविधा–अधिकार माग गर्दा मुट्ठी कसेका चन्द्रशमशेरले हतियार चाहिंदा भने नेपाली वीरता र स्वतन्त्रता ब्रिटिशहरूको पनि हितमा हुने सम्झाए।

अघिल्लो संवादमा महाराज चन्द्रशमशेरले बन्दूक झिकाउने कुरा गर्दै रेजिडेन्ट जेम्यानर्स स्मिथको राय लिएका थिए। सिपाहीलाई सिकाउन, सदाउन बन्दूकहरू चाहिन्छ, हामीसँग तालिमी फौज भए परेका बेला तपाईंहरूलाई नै काम लाग्छ भन्दा स्मिथले यसमा ब्रिटिश–इण्डिया सरकारले जे मुनासिब ठहर्‍याउँछ, त्यही हुन्छ भनेका थिए।

उनले यसमा तपाईंले हातहतियार पाउने आफ्नो अधिकार हो भनी गरेको दावा चाहिं ब्रिटिश–इण्डिया सरकारले स्वीकार गर्छ जस्तो लाग्दैन भन्दा महाराजले दावाको कुरा होइन, आफ्नो व्यहोरा लेखेको छु, दिनु नदिनु उतैको विचार हो भनेका थिए।

त्यसवेला नेपाललाई बढी फौज र हातहतियार चाहिंदैन भन्ने ब्रिटिश सरकारको विचार थियो भने महाराजले पहिले जति थियो, अहिले पनि त्यति नै छ भन्ने दावी गरे।

उनले फौज घटाउने कुरा मन्जुर गर्न नसकिने र तिब्बतसँग फेरि पनि मुकाविला हुनसक्ने भएकोले जगेडा हातहतियार पनि चाहिएको बताउँदै यो कुरा अहिले नै किन उठ्यो भनेर रेजिडेन्टलाई प्रश्न पनि गरे।

महाराजले तपाईंहरूले १० हजार हतियार दिए पनि आफूहरू ब्रिटिशसँग लड्ने पक्षमा नभएको जनाउँदै पंजाबका कृष्णसिंहले भनेजस्तो नेपालीले त्यस्तो इरादा नराखेको बताए।

कोही नेपालमाथि थिचोमिचो गर्न आयो भने चाहिं नेपालीहरू नेपालको शानको लागि ज्यान फाल्न पनि तयार हुने महाराजले बताएका छन्। लाछी भएर बाँच्नु भन्दा लडाईंमा वीरगति पाउनु कता हो कता ठूलो कुरा हो भन्दै महाराजले रेजिडेन्टलाई सम्झाए, “आफ्नो स्वतन्त्रता बचाउनलाई नेपाल कहिल्यै पछि हट्ने छैन, हाम्रा मित्र ब्रिटिशले पनि त्यस्तो कुरा गर्ने छैनन् र नेपाललाई स्वतन्त्र राख्नमा तिनको पनि भलाइ छ।”

पहिले जंगबहादुरले ब्रिटिश रेजिमेन्टमा गोर्खाली रिकुट भर्ना हुन दिएनन्, बरु भर्ना गर्न लैजानेलाई ज्यान सजायसम्म दिए। रणोद्दीप सिंहको पालामा पनि यो कुरा कायम रह्यो। युवालाई बाहिर जान दिंदा मुलुककै तागत घटछ, देश कमजोर हुन्छ भन्ने नेपालीका मनमा रहेको जान्दाजान्दै पनि आफूले दोस्तीको खातिर त्यो प्रतिबन्ध फुकुवा गरेको महाराजले बताए।

त्यसमा जनताको चित्त नबुझेकोमा आफूले देशमा नोकरी छैन, बाहिर गए वृत्ति पनि पाउँछन्, त्यसवापत एक जवान बराबर एक थान हतियार पनि पाइन्छ, गएकाहरू आउँदा सादिएर पनि आउँछन् भनेर बन्देज हटाएको बताए। उनले अहिले यसमा अन्यथा हुनसक्दैन भन्दै आफ्नो इच्छा ब्रिटिशसँग मिलेर आफ्नो स्वतन्त्रता कायम गर्नु हो भनेर रेजिडेन्टलाई भने।

अघि जंगबहादुरले पनि भोटसँग युद्ध गर्दा ब्रिटिशसँग हतियारको आग्रह गरेका थिए। त्यसवेला ब्रिटिशले प्रत्यक्ष रूपले हातहतियार सहयोग गर्न सक्दैनौं, चीनसँग हाम्रो ठूलो व्यापारिक कारोबार छ भनेकोले उनले प्राइभेट रूपमा हतियार तथा खरखजानाको जोहो गरेका थिए।


संवाद:

रजि– तपायींबाट मिमोमा यो हतियार झ्िकाउने कुरा आफ्ना दावा कायेम् गरेको जस्तो कुरा लेखनु भयाको रहेछ. तर तेस्मा तपायींको बुदाहरू बलियो छ भनेजस्तो लाग्दैन.

श्री ३– दावा गरी दिनैपर्छ भनेको होईन. भया भरको बेहोरा लेखेको हो. दिनु नदिनु गभरमेन्ट इंडीयाको खुश, दिये खुशी हुनेछौ नदिए पनि नाराज हुनं या मन दुखाउने छैनौं.

रजि– टिवतसंगको सेवानाको लाईन नेपालतरफ तल पाहाडको फेदीसम्म कसरी हुन गयेछ.

श्री ३– यो मैले वेस गरीबुझी सकेको छैन. कागजपत्रहरू हेर्न लायाको छु. सो सेवाना कहिले देखीको हो येस्मा केहि लिखतपत्र वा बंदोबस्त पनि हुनुपर्छ.

रजि– नेपाल लिनाको बृटिस गभरमेन्टको राये किमार्थ होइन भनेपछी नेपालमा रेजुनेवल माफीकको फौज हतियार रहोस् भंने बृटीस गभरमेन्टको राये हो.

श्री ३– ५० वर्ष अघिदेखी येतिकै फौज यांहा रही आयाको छ. तेस्मा केही बढी भयाको छैन. आजसम्म यो कुरा के हुन नगै ऐल्है मात्र यो कुरा किन उठ्यो. यतिका वर्षदेखि रहिआयाको यो फौज म घटाउन सकदीन. यो घटन गो भने दुनियाले धेरै कुराको संका गर्ने छन्. कोनै प्राइम्मिनिष्टरले पनि येस्तो कुरा मंजुर गर्ने छैनन्. यो मंजुर हुन सक्ने कुरा पनि होइन्.

रजि– तपायींहरूलाई कामलाई चाहिये जति बंदुक बखत बखतमा इंडीया गभरमेन्टले दिने भये भने फेरी जगेरा कीन राखी रहनुपर्थ्यो.

श्री ३– इंडीयामा बराबर भाइसराये बदलिदै जांछन्. सबै भाइसरायको यकै राये हुदैन. इंडीया गभरमेन्टबाट बंदुक आयेन भनेर टीवेटपटि केहि परीआयो भने तेस बखतमा के गर्नु, तेसले पनि केही जगेरा अवस्य राख्नुपर्छ संकटको बखतको इस्तेमाललाई राखीने हो अरु उपर एग्रेसिव पोलिसी गरौंला भने मुराद हाम्रो छैन. वृटिससंग तेस्तो पलीसि हामीले कैल्है गर्न सक्दैनौ, गर्ने पनि छैनौं.

बृटिसले इच्छा गरे भने सहजैसंग यो मुलुकमा आई दखल गर्न सक्दछ. यो कुरा हामीलाई बखुवी मालुंछ. हामीलाई १०००० त के ५०००० हजार बंदुक दिनु भयो भने पनि इनीहरूले केहि गर्नन् की भनि बृटिसले संका लिनपर्ने होइन. पचासै हजार भया पनि ठुला बृटिसलाई केहि गर्न सक्ने पनि होईन, गरीने पनि छैन.

रजि– पंचावि किसन्सिले बोरहरूको क्यान् गरेजस्तो बंदुक र खजाना भयो भने तपायींका मानिसहरू जितिसक्नु हुनेछैन. बहुतै डर लाग्दो हुनेछ.

श्री ३– यस्तो ठुलो हैसियत र तागत भयाका ठुला बृटिस सरकार माथि जाईलाग्नु ता के छ आफ्नै नास गर्नु छ. तेसो हुनाले हामीबाट तेस्तो काम कैल्है हुन सक्ने छैन. तर कति भने विनाहक्मा विरोध उठाई कसैले आफ्ना मुलुकमा थीचोमिचो गर्न आया भने आफ्ना मुलुकको बचाउको निमित्त कसैसंग भया पनि सखभर नलडी छोड्ने भने छैनौं. तेसै दवी जानु चाही ज्यान् फाल्नालाई हामी खुसी मान्छौ.

बृटिससंग कदाचीत तेस्तो पर्‍यो भने तर ईश्वर गरुं तेस्तो कैल्यै नपरोस् हामी कुकुर झै मै मर्ने छैनौं सिङह झै लडी ज्यान दिनेछौं. यस् मुलुकको स्वतन्त्रतामात्र राखी दीउन् बृटिसको इन्टरेष्टको बचाउ आफ्नै हो भंने समझी काम दिनेछौं बृटिशलाई नेपाल अैल्है जस्तो छ उस्तै रहन दिनाले फाइदा छ.

हाम्रा मानिसमा एफेन्टिटि (एन्फेशिवर आक्रमणकारी) स्प्रिट रहेको छ. बृटिस उपर मोहबत र मान पनि राख्नेछौं. लडाइमा मुहुडा दि लडी ज्यान् दियो भने सुर्यमंडल भेद गरी यस्ता मानीस स्वर्ग जान्छन्. पीठ फर्काई मर्ने नरक जान्छ भंने हाम्रो धर्म शास्त्रमा लेखियाको हुनाले र आफ्नु मुलुकको धाक रवाफ र पिठ फरकलाई भागी आया आफ्नु देशका मानिसले पनि जात बाहेक गरिदिंछ भंने ख्यालले पनि जमामर्दिसाथ लड्दछन् बृटिसले यो मुलुक दखल गरे भने छ ख्यालहरू सबै हराउंछ. बृटिश माथिको अघिको मान् मोहवत् पनि रहने छैन तेसो हुनाले पछि ठूलो नोक्सान हुन जांछ.

हामीले हुनसक्नेसम्म गभरमेंटको फाइदा हुने कुरा गरेका छौं. बृटिस आर्मीलाई रीकुट दिने कुरामा सर जंगबाट काहासम्म अफर गरी बक्सेको थियो भने रीकुट भर्ना गर्न आउने मानिसहरूलाई पक्री ज्यान सजायें बराबर दिनुभयाको थियो. यो कुरा तपायींका वफदारका रेकार्डमा पनि लेखियाको होला. रणउद्धीपसिंह माहाराजका पालामा पनि यो काम राम्रो गरीहुन गयाको थीयेन. पछि हामीले यो कुरामा सुवीस्ता गरी दियेको हो. यांहाका मानिसहरूका दिल्मा कस्तो परेको थियो भंने मुलुकबाट बलिया बलिया मानिस बाहिर जान दिया मुलुकको तागत घटन जान्छ.

तेस्तो हुनाले सो कुरा हुन दिन हुँदैन भंने थीयो पछि मैले येसबाट हामीलाई नोक्सान छैन ती बाहिर जाने मानिसहरूलाई हामीले नोकरी दिने केही सक्तैनौं तिनीहरूले यौटा वृत्ति गर्नै पर्ने र अरु वृत्ति गर्न भंदा फौजमा भर्ति भै नोकरी उठाया सो नोकरी छोडे आयापछि ती मानिसहरू यांहा आई आफ्ना आफ्ना घरमा रहने हुनाले मुलुकको काम परी आयामा ई तालीम पायका मानिसहरूबाट काम लिनु पाइने हुनाले येसबाट मुलुकलाई फाइदै हुने हुदा हो. उसमा पनि येक जना रिकुटको १ नाल बंदुक आउंछ भंने कुराले पनि चीत्त बुझाई बृटीस आर्मीलाई गोर्खा रिकुट मिलने काम सजिलो गराई दियाको हो.

सो बंदुक दिंछु भनेको लीन्न भनि दर्बारले भनेका छैनन्. हामी के चाहछौं भने अैल्है हामी जस्ता छौ उस्तै रहन पाउ यो रहनाले बृटिसलाई पनि फाइदा छ. अरु फ्यरेटसी (सामन्त) जस्ता गर्ना खोजनाले किमार्थ फाइदा छैन.

प्रतिकृया दिनुहोस