हिंसा विरुद्ध आवाज उठाउन जोन्टा क्लब अफ काठमाडौंको आह्वान
जोन्टा क्लब अफ काठमाडौंले ‘रेज योर भ्वाइस’ नामक कार्यक्रममार्फत महिला हिंसा विरुद्ध आवाज उठाउन आह्वान गरेको छ ।
काठमाडौंमा महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गरिएको कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौंले महिलामाथि हुने हिंसाका विरुद्ध सबैले आवाज उठाउन आह्वान गरेको हो ।
कार्यक्रममा बोल्दै यूएन वुमनकी कन्ट्री रिप्रिजेन्टेटिभ वेनी कुशुमाले महिला माथि हुने हिंसा समाजको खतरनाक रोग बन्दै गइरहेको बताइन् ।
कुशुमाले मानिसको व्यवहारले देखाउने हिंसाको यो रोग समाजमा फैलंदै गइरहेको धारणा राखिन । “एउटा समुदायले अर्को समुदायमाथि हिंसा गरिरहेको छ” उनले भनिन् “यो १६ दिनले मात्र हिंसा अन्त्य गर्न सकिंदैन । हिंसा अन्त्यका लागि वृहत छलफल र निरन्तरको अभियान जरूरी छ ।”
कार्यक्रममा जनाइएअनुसार ३० प्रतिशत महिलाले जीवनसाथीबाटै शारीरिक तथा यौन हिंसा भोग्न बाध्य छन् । विश्वमा हत्या भएका महिला मध्ये ३८ प्रतिशतको हत्या पार्टनरबाटै भइरहेको छ । हरेक नौ सेकेन्डमा एक जना महिलाले पिटाइ खाइरहेका छन् । हरेक ४ मिनेटमा एक जना महिला अपहरणमा पर्ने गर्छन् । विश्वका ३५ प्रतिशत महिलाले कुनै न कुनै हिंसाको सामना गरिराख्नु परेको छ ।
महिलामाथि हुने हिंसा परम्परादेखि नै चलिआएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय भारतको वुमन थिंक ट्यांककी प्रमुख चाँदनी जोशीले बताइन् । “महिला हिंसा डरलाग्दो अवस्थामा छ” उनले भनिन्, “यो निकै जटिल र समस्याग्रस्त छ ।” महिलालाई हुने हिंसाले समग्र देशको विकासमै असर पारेको जोशीको भनाई छ ।
यूएन वुमनकाअनुसार संसारमा ७३ प्रतिशत महिला अनलाइन ह्यारेसमेन्टमा परिरहेका छन् । जसमध्ये २३ प्रतिशतले मात्रै उजुरी गर्छन् ।
जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सृजना राणा हिंसा अन्त्य गर्ने माध्यम आवाज नै भएको बताउँछिन् ।
हरेक वर्ष २५ नोभेम्बरदेखि १६ दिनसम्म महिला हिंसा विरुद्धको अभियान सञ्चालन हुँदै आइरहेको छ ।
कार्यक्रममा वुमन इन सेक्युरिटी कन्फिल्क्ट म्यानेजमेन्ट एण्ड पिसकी संस्थापक तथा निर्देशक डा. मिनाक्षी गोपीनाथ, शिभा नारी ओशिशु कल्याण केन्द्र बाङ्लादेशकी कार्यकारी निर्देशक सईदा रोजाना खान, दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ल, फोकस वुमन श्रीलङ्काकी कन्ट्री डिरेक्टर श्यामला गोमेज लगायतले आफू नेतृत्वको संस्थाको गतिविधि र अनुभव प्रस्तुत गरेका थिए ।