बाबुको हत्या गरेकालार्इ माफी दिएपछि परिवारमा त्रास
बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका एक व्यक्तिलाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा गरेपछि उनका आफन्त त्रसित बनेका छन् ।
सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा रहेका पर्वतका निर्मल पौडेले १० वर्ष कैद मिनाहा पाएर घर फर्केकाले पीडित परिवार र गाउँले नै त्रस्त भएका हुन् ।
पौडेलले २०६३ सालमा पर्वत जिल्ला खुर्कोट–४ का आफ्ना बाबु चन्द्रप्रसाद पौडेललाई लट्ठी र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।
पर्वत जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलापछि पर्वत जिल्ला कारागारमा सजाय भुक्तान गर्दै आएका पौडेलले कारागारभित्रै पटक–पटक उद्दण्ड मच्चाएपछि कास्की कारागारमा सरुवा गरिएको थियो ।
त्यसपछि पाल्पा कारागार लगिएका पौडेललाई कारागार पाल्पाको सिफारिसमा गृहमन्त्रालयले आचरण सुध्रिएको भन्दै २ असोजको निर्णयले बाँकी कैद सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।
कैद मिनाहाका लागि पटक पटक माग गरेपछि आफूहरुले सम्पूर्ण विवरणसहित लेखेर कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको कारागारकी प्रमुख सुजता खत्रीले जानकारी दिइन् ।
कैद मिनाहा भए पनि आफन्तको जिम्मा नलगाई छोड्न नमिल्ने भएकाले पटक–पटक परिवारलाई बोलाउँदा पनि जिम्मा लिन नआएकाले हिजो कारागारका कर्मचारीले पौडेललाई परिवारसमक्ष बुझाउन पर्वत ल्याएका थिए ।
पर्वतमा आफन्तलाई सोधखोज गरेर सम्पर्क गर्दा जिम्मा लिन कसैले नमानेपछि पौडेललाई पुनः फर्काएर पाल्पा कारागारमा नै पुर्याइएको थियो । कारागार प्रमुख खत्रीका अनुसार पौडेललाई पुनः कारागारमा राख्न नमिल्ने भन्दै पाल्पामा क्रियाशील स्थानीय मानवअधिकारवादी सङ्घसंस्थाको रोहवरमा मुचुल्का गराएर छोड्ने तयारी गरिएको छ ।
परिवारको माइला छोरा निर्मलले बुबाको हत्या गरेपछि आमा धनकुमारी पौडेल र अन्य दुई दाजुभाइ कुश्मा, बागलुङलगायतका स्थानमा बस्दै आएका छन् ।
रासस