राहत लिएर पनि भत्केका घर नबनाउँदा अस्तव्यस्त ऐतिहासिक बजार
मुकेश पोखरेल
भूकम्पपीडितहरूले सरकारी राहत लिएर पनि भत्किएका घरको व्यवस्थापन नगर्दा मकवानपुरको पुरानो बजार भीमफेदी अस्तव्यस्त र असुरक्षित बनेको छ।
राणाकालमा नेपाल खाल्डो अर्थात् काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रूपमा रहेको भीमफेदी बजारको बीच भागमा धराप बनेर उभिएको छ, ७० वर्षीय बद्रीशंकर श्रेष्ठको महाभूकम्पबाट जोगिएको पुरानो घर। भूकम्पले बजारको उत्तरी छेउमा रहेको विश्वनारायण श्रेष्ठ (७१) को घरको चाहिं दक्षिणतर्फको गारो भत्काइदियो। त्यहाँबाट खसेका ढुंगाहरू भुईंमा असरल्ल छन्।
बद्रीशंकर श्रेष्ठको बसोबास अहिले हेटौंडामा छ भने विश्वनारायण श्रेष्ठ ३० वर्षदेखि ललितपुरको पाटनमा बसिरहेका छन्। उनीहरू दुवैको नाम हेटौंडा र ललितपुरको बीचमा पर्ने भीमफेदीका भूकम्पपीडितको सूचीमा हुनु स्वाभाविकै हो र दुवै जना राहत बुझन आफ्नो पुर्ख्यौली थलो पुग्छन् पनि।
बजारका सामाजिक कार्यकर्ता सुरेन्द्रराज थिकेका अनुसार, भीमफेदीमा घर भएका तर, बसोबास नभएका भूकम्पपीडित २० भन्दा बढी छन् र सबैले सरकारी र गैरसरकारी संस्थाहरूबाट वितरित राहत बुझेका छन्। “गुनासो उनीहरूले राहत बुझे भन्ने होइन”, थिके भन्छन्, “धराप बनेका घर मर्मतमा त्यो राहत खर्च गरिदिएनन् भन्ने हो।”
बस्नेलाई समस्या
मान्छे नबस्ने पुराना घरहरू, उसै पनि धराप थिए। त्यसमाथि, भूकम्पले हल्लाइदिएपछि झ्न् धराप भएका छन्। कतिपय घरलाई टेको दिएर अड्याइएको छ। तीमध्ये ६ वटा घरमा भाडामा मानिस बसेका छन्। तिनैमध्येको एक कृष्णबहादुर मानन्धरको घरमा दुर्गादेवी लामा बसेको ४८ वर्ष भयो। भूकम्पबाट घर पूरै चर्किएको छ।
भीमफेदी बाहिर बस्ने मानन्धर परिवारले राहत रकम बुझे पनि घर मर्मत गरेका छैनन्। “कति वेला घरले च्याप्छ भन्ने डर छ”, ६५ वर्षीया लामा भन्छिन्, “मर्मत गरिदिनुको साटो घर खाली गर भन्छन्, म बूढी कहाँ जाऊँ?”
मान्छे बसेका हुन् कि नबसेका, ती घरहरूले कति बेला कसलाई च्याप्छ भन्ने त्रास रहेको बजारका मनोज थापा बताउँछन्। “कतिपय घरबाट खसेका ढुंगा र पुराना काठले बजारलाई अस्तव्यस्त पारेको छ”, थापा भन्छन्, “आफैं हटाइदिऊँ भने अर्काको सम्पत्ति चलाएको जस्तो हुन्छ, यसरी असरल्ल छाड्दा कोही यसमा परे भने कसले जिम्मा लिने?”
अरूले गरिदिंदा भोलि अपजस नआउने व्यवस्थापन भने बजारवासीले गरेको उनी बताउँछन्। मुख्य सडकबाट हात्तीसार जाने सडकछेउका घरहरूबाट खसेका ढुंगामाटोलाई किनारा लगाएको थापाले बताए। उनले अन्तै बस्ने घरधनीहरूलाई कमसेकम सरकारले दिएको राहत रकमबाट धराप घरको एकसरो मर्मत गरिदिनुहोस्, मर्मत गर्न नपुगे पनि भत्काउन सजिलै पुग्छ भनेर पटक–पटक अनुरोध गरेको बताए।
थापाका अनुसार, अस्तव्यस्त संरचनाले बजारवासीलाई निकै असुविधा र जोखिम भएपछि घरको व्यवस्थापन नगर्ने घरधनीलाई दोस्रो किस्ताको रकम नदेऊ भन्न भीमफेदीका अगुवाहरू गाविस पुगेका थिए। तर, सरकारी राहत गाविस कार्यालयले रोक्न नमिल्ने जवाफ पाएको थिके बताउँछन्।
राहतको किचलो
सरकारी राहत पाएर घर मर्मत नगर्नेहरूका कारण मात्र नभई राहतै नपाउनाले पनि भीमफेदी बजार तनावमा छ। जस्तो, ज्ञानमाया राजवाहकको घर भूकम्पले नराम्ररी चर्काइदियो। पीडितको सूचीमा नाम दर्ता गर्ने काम पनि बेलैमा भयो, तर घरजग्गा स्वर्गवासी भइसकेका ससुरा लक्ष्मीदास राजवाहकको नाममा रहेकोले उनले सरकारले दिने रु.२ लाख अनुदानमा सम्झौता गर्न पाइनन्।
आफ्ना श्रीमानसहित लक्ष्मीदासका तीन भाइ छोराको पनि मृत्यु भइसकेकोले दुई देउरानीको मञ्जुरीनामा चाहिंदा समस्या भएको ज्ञानमाया राजवाहकले बताइन्।
उनी भन्छिन्, “बस्नै नमिल्ने गरी मेरो भागको घर चर्किएको छ, तर सरकारले दिने अनुदानमा हुनेखाने देउरानीहरूले पनि भाग चाहिन्छ भनेपछि गाविस गइनँ।”
नारायणदास अमात्यको परिवार पनि यस्तै पिरलोमा छ। आमाको नाममा भएको घर क्षतिग्रस्त भएपछि अमात्यले सरकारी राहत–अनुदान पाउने प्रयास गरे, तर मञ्जुरीनामा दिनुपर्ने भाइहरूले आ–आफ्नै शर्त राख्दा गाविसमा सम्झौता हुन सकेन।
स्थानीय भीम आधार सामुदायिक स्कूलका प्रशासन प्रमुख रहेका सुरेन्द्रराज थिकेका अनुसार भीमफेदीका ४० भन्दा बढी परिवार यस्तो समस्यामा छन्। यो समस्याले पनि बजारमा अस्तव्यस्तता, असुरक्षा र तनाव बढाएको छ।
संकटमा पुराना संरचना
राणाकालीन नेपालमा काठमाडौं उपत्यका बाहिरको एउटा प्रमुख केन्द्र थियो, भीमफेदी। यातायातको साधन चल्तीमा नआइसकेको त्यो समयमा काठमाडौंको लागि भीमफेदी–अमलेखगञ्ज मुख्य बाटो थियो। शिकारको लागि तराई झर्दा होस् या विदेश भ्रमणमा जाँदा–आउँदा, राणाहरूले भीमफेदीमा रात बिताउँथे।
अहिले पनि देखिने विश्राम गृह, फोहोरा बंगला, हात्तीसार, राणा र श्री ५ का लागि बनाइएको दरबार, आवा घर (हे. तस्वीर) र पृथ्वीचन्द्र अस्पतालको भग्नावशेष राणाकालीन भीमफेदीको रौनकका प्रमाण हुन्। १२ वैशाख २०७२ को महाभूकम्पले त यी संरचनाहरूको अस्तित्वलाई नै संकटमा पारिदिएको छ।
सरकारले यी ऐतिहासिक संरचनालाई मर्मतसम्भार गरेर नबचाउने हो भने तुरुन्त भत्काउनुपर्ने भीमफेदीवासीको माग छ। राप्रपा, नेपालका स्थानीय नेता रहेका आइतेसिंह तामाङ जीर्ण भवनहरू जुनसुकै वेला भत्किने अवस्थामा रहेको बताउँछन्। भन्छन्, “राख्ने हो भने संरक्षणको काम थालियोस्, होइन भने कुनै पनि बेला मानिसहरू पर्ने धराप हटाइयोस्।”