ब्लगबिहिबार, २० श्रावण , २०७३

डबी भगतको सम्झना

कुन्द दीक्षित

मितिः मार्च, २०००

स्थानः मन्डारिन चाइनिज रेस्टुराँ,

एभरेष्ट होटल, काठमाडौं

डबी भगत

दिउँसोको खानासँगै हामी काठमाडौंबाट प्रकाशन हुनै लागेको नयाँ अंग्रेजी साप्ताहिकबारे कुरा गर्दै थियौं। यस क्षेत्रमै एउटा जीवन्त र गम्भीर ट्याब्लोइड प्रकाशनको तयारीमा थियौं हामी। 

अखबारको सामग्री, शैली, डिजाइनबारेका नयाँ–नयाँ उपायद्वारा म जति उद्वेलित थिएँ त्यसभन्दा बढी उत्साहित डबी भगत देखिन्थे। “यो विशेष अखबार बन्नेछ”, उनले बेलायती शैलीमा उच्चारण गरेको 'एक्स्ट्राअर्डिनरी' अहिले पनि मेरो कानमा गुञ्जिन्छ।

तर, अखबारको नामका बारेमा हामी अझै स्पष्ट भइसकेका थिएनौं। 'हिमालय पोष्ट' र 'नेपाली क्रोनिकल' जस्ता केही नामको सूचीसँगै मैले 'बिजनेस एण्ड पोलिटिकल विक्ली अफ नेपाल' प्रस्ताव गरें– यो नामले नयाँ प्रकाशनलाई एक खालको बौद्धिक वजन र गाम्भीर्यता दिन्छ भन्ने मलाई लागेको थियो। तर दुबे जोडले खितखिताए, चपस्टिकले टेबलमा ठोके। अचानक केही गम्भीर देखिए र भने, 'नेपाली टाइम्स'।

एकछिन हामी मौन भयौं। सिचुआन चिकेनको गाँससँगै डबीको आवाज हाम्रो मुख र मस्तिष्कमा मधुर भएर रुमल्लिरह्यो। हो, यही नै त थियो, हामीले चाहेको 'नेपाली टाइम्स'!

कलकत्ताबाट प्रकाशन हुने 'जुनियर स्टेट्सम्यान' को शरणार्थी लहरबाट डेसमण्ड डोइग र उत्पल सेनगुप्तासँगै डबी पनि नेपाल आइपुगेका थिए। ३५ वर्षअघि उनीहरू आइपुग्दा काठमाडौंको हिमाली आकाश गाढा नीलो गुम्बज जस्तो देखिन्थ्यो। सपना जस्तै लाग्ने सेता बादलका धर्सा, मुनि गलैंचा ओछ्याए जस्तो हरियाली।

डबी र डोइगले नेशनल जोग्राफीका लागि सगरमाथाबारे लेख्ने, मदर टेरेसाबारेको पुस्तक, सांग्रिला, याक एण्ड यती र एभरेष्ट जस्ता ठूला होटलका लागि बाहिरबाट सहयोग गर्ने लगायतका विभिन्न परियोजनामा सँगै काम गरे। यी दुईले हिमाली क्षेत्र केन्द्रित ट्राभल म्यागेजिन प्रकाशनको तयारी थालेका थिए, तर त्यहीबेला सन् १९८४ मा डोइगको निधन भयो। योजना अधुरै रह्यो।

नेपाल र विशेष गरी काठमाडौं उपत्यकाप्रति उनीहरूको अगाध स्नेह डबीका संयुक्त कृति 'डाउन हिस्ट्रिज न्यारो लेन्स' र 'माइ काइन्ड अफ काठमाडौं' मा कोरिएको पाइन्छ। डोइगको निधनपछि पनि डबी नेपाली धर्मपुत्रसँग काठमाडौंमै बसे। नेपाललाई नै घर बनाए। त्यसपछि अधिकांश समय आफ्ना नातिनी हुर्काउँदै 'दि हिमालयन टाइम्स' मा स्तम्भ लेखे।

पछिल्लो १६ वर्षदेखि प्रत्येक शुक्रबार डबीले मलाई नबिराई फोन गर्थे– र, त्यस दिन प्रकाशित नेपाली टाइम्स का सबै सामग्रीको चिरफार गर्थे। पत्रिकाको 'ब्याक साइड' मा छापिने 'द आस' का वाक्य जोडले सुनाउँथे– दीर्घ–खोकीले नरोकुञ्जेलसम्म।

कमजोर र औसत दर्जाका सामग्रीलाई भने उनी कठोरतापूर्वक खारेज गर्थे। यसर्थमा डबी नेपाली टाइम्स को स्थापनाकालदेखिका 'गुणस्तर नियन्त्रक' थिए। गत वर्ष सांग्रिला होटलमा नेपाली टाइम्स ले १५औं स्थापना दिवस मनाइरहँदा डबीले 'अखबार अहिले डण्डीफोरले अनुहार भरिएको १५ वर्षे चञ्चले किशोर जस्तै जीवन्त भइसकेको र अब जुँगासहित, आत्मविश्वासले भरिएको वयस्क बन्ने संकेत दिइरहेको' भन्दै गर्विलो ठट्टा गरेका थिए।

मानार्थ नेपाली बनेका डबी, गत वर्ष आफ्नै देशले नेपालमाथि नाकाबन्दी गरेपछि चकित देखिन्थे। र, यसरी दुःख दिनेहरूलाई 'मूर्ख' भन्दै लेखिरहेका थिए।


पुस्तक, फिल्म जस्ता साधारण खुशीमा रमाउने डबीले आफ्ना सम्पूर्ण इन्द्रियमार्फत संसारको आनन्द लिइरहे। रातभरको झरीपछि एक बिहान झम्सिखेलस्थित हर्मन्स बेकरीको नजिकैबाट हिंडिरहेका भेटिएका उनी भन्थे, “यो सुवासको आनन्द लेऊ, यी दृश्य हेर।”

अचानक एक महीनाअघिको शुक्रबार उनको फोन आएन। दिन प्रतिदिनको संकटमा अल्झिएको म उनको बिसञ्चो थाहा पाएरै पनि भेट्न जान सकिनँ। यत्तिकैमा २० जुलाईमा हृदयघातबाट उनको देहावसान भएको खबर आयो।

डबी, तिम्रो असाधारण उपस्थिति सधैं सम्झिरहनेछु।

 

प्रतिकृया दिनुहोस