टिप्पणीशनिवार, मंसिर १६, २०७४

हिउँदमा हृदयघातको सम्भावना बढी

डा. सुमनराज ताम्राकार

जाडो मौसममा हृदयघातबाट हुने मृत्यु संख्या बढ्ने अध्ययनहरूले देखाएकाले हिउँदमा विशेष होशियारी अपनाउनु बुद्धिमानी हुन्छ ।

दुई हप्ताअघि पुष्पकमल दाहालका छोरा प्रकाशको आकस्मिक मृत्यु भएको समाचारले चुनावी माहोललाई नै प्रभावित बनाएको देखियो । सबैजसो शीर्ष नेताहरू चुनाव प्रचार छाडेर श्रद्धाञ्जली–समवेदना प्रकट गर्न दाहाल निवासतिर दौडिए । सम्बन्धित चिकित्सकले प्रकाशको ‘सडेन कार्डिएक डेथ’ (आकस्मिक हृदयघात) भएको निक्र्योल गरेका छन् । नेपालमा केही वर्षयता युवाहरूको ‘सडेन कार्डिएक डेथ’ हुने क्रम बढेको छ । 

कडा खालको हृदयघात (मुटुको बृहत् क्षेत्रमा रक्तप्रवाह अवरोध), मुटुको चालमा गडबडी, मुटुको जन्मजात समस्या, मस्तिष्कको रक्तनलीमा रगतको थेग्ला जमेर मस्तिष्कघात हुँदा, मुटुको ठूलो धमनी फुट्दा, फोक्सोका स–साना नलीमा थेग्ला जम्दा, मुटुरोगीको मुटु फेल हुँदा आकस्मिक मृत्यु हुन सक्छ । प्रायःजसो अवस्थामा हृदयघातका लक्षणहरू देखिन्छन् ।

त्यस्तो बेला छाती दुखाइसँगै पसिना आउने, सास फेर्न गाह्रो हुने, मुटुको चाल तल–माथि हुने हुन्छ । दिउँसो परे यी लक्षणहरू देखापर्दा प्रभावित व्यक्ति सजग पनि हुन्छन् र उपचारतिर लाग्छन्, तर राति एक्कासी यस्तो अवस्था आइलाग्दा मृत्युको सम्भावना बढी हुन्छ ।

त्यसो त राति सुतेपछि शरीर आरामको अवस्थामा हुन्छ । त्यसवेला मुटुको चाल र रक्तचाप पनि शरीरलाई धान्न सक्ने अवस्थामा हुन सक्छ । बिहानीपख रक्तप्रवाह न्यून हुन्छ र उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह भएका र अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा मुटु, फोक्सो अनि मस्तिष्कको नलीमा रगतको थेग्ला बस्ने सम्भावना बढी हुन्छ ।

अर्को कुरा, ग्यास्ट्राइटिस भएको बेला मुटुको बेथा ठान्ने र साँच्चिकै मुटुको समस्या हुँदा शुरुमा ग्यास्ट्राइटिसको लक्षणसँग झुक्किंदा पनि सम्बन्धित व्यक्ति र परिवारजनले ठूलो क्षति (मानवीय, आर्थिक) बेहोर्नुपर्ने अवस्था आउँछ ।

अधिक धूमपान, मद्यपान, अनियन्त्रित रक्तचाप, मधुमेह, शारीरिक व्यायामको कमी, मोटोपना, तनावग्रस्त जीवनशैली एवं जङ्क फूड, धेरै मात्रामा तारेको, पोलेको, भुटेको, चिल्लो, गुलियो खानेकुराले युवा उमेरमै मुटु समस्या निम्त्याउँछ । त्यससँगै जन्मजात रूपमा देखा पर्ने बाथ ज्वरोको कारण हुने तथा मुटुमा रगत प्रवाह गर्ने नलीको खराबीबाट पनि मुटुमा समस्या हुन्छ ।

शरीरका अन्य अङ्गहरूलाई जस्तै मुटुलाई पनि रगतको नियमित प्रवाह चाहिन्छ । कुनै कारणवश रक्तवाहिनी नली साँघुरिएर मुटुमा रगतको प्रवाह घट्न गई छाती दुखेको अनुभूति हुने अवस्थालाई एन्जाइना भनिन्छ । मुटुमा रक्त प्रवाह गर्ने धमनीको भित्री सतहमा कोलेस्टेरोल जमेर रगत आपूर्ति नभई त्यसले चर्चेको भागमा नकारात्मक असर पुगेर मुटुमा एक्कासी खप्नै नसक्ने पीडा हुने अवस्था हृदयघात हो । अर्थात्, मुटुले अक्सिजन नपाउँदा हृदयघात र मस्तिष्कसम्म रगत लैजाने नलीमा अवरोध हुँदा मस्तिष्कघात (पक्षघात) हुन्छ ।

बेलायतमा भएका विभिन्न अध्ययनले मौसममा हुने एक डिग्री सेल्सियस तापक्रमको कमीले सरदर ७ जनामा हृदयघात बढाउँछ । अर्थात्, चिसो मौसमले बूढापाका एवं मुटुका समस्या भएकाहरूलाई स्वतः जोखिममा पार्छ । जाडोमा रक्तनली कडा हुने, खुम्चिने र रगत जम्ने समस्याले रगत प्रवाहमा थप अवरोध आई हृदयघातका साथै मस्तिष्कघात र पक्षघातको समस्या बढ्न सक्छ । जाडोमा रगत जमाउने प्रोटिनको मात्रा वृद्धिसँगै रक्तनली खुम्चिनाले रक्तचाप अनियन्त्रित हुन सक्छ ।

जाडोमा रगत तुलनात्मक रूपमा बाक्लो हुने र पातला रक्तनलीहरू थप साँघुरिने हुनाले मुटु र रक्त संचालन प्रणालीमा नकारात्मक प्रभाव पर्छ । जसले गर्दा शरीरभर रगत पुर्‍याउन मुटुमा चाप थपिन्छ । शरीरलाई न्यानो राख्न मुटुले बढ्ता पम्प गर्नुपर्ने पनि हुन्छ । त्यो परिश्रमले मुटुको चाल बढाउँछ । त्यस्तो बेला देब्रे छातीमा पीडा भए, हल्का कामले पनि सास बढे, रिंगटा लागे अधिक पसिना आए तुरुन्त होशियारी अपनाउनुपर्छ ।

पहिले औषधिले नियन्त्रणमा रहेको रक्तचाप पनि जाडोमा अनियन्त्रित हुन सक्छ । अन्य मौसममा पनि प्रायः बिहानीपख रक्तचाप बढ्ने हुनाले हृदयघात र मस्तिष्कघातको समस्या त्यही समयमा बढ्ता हुन्छ । धुम्मिएको वातावरण र चिसोले बढाउने तनावको असर मुटुमा पर्छ । त्यसकारण मधुमेह, मोटोपना, अधिक कोलेस्टेरोल एवं जीर्ण खालको श्वास–प्रश्वास भएका मुटुरोगीमा चिसो वातावरण घातकसिद्ध हुन्छ ।

जाडो मौसममा थपिएको छातीको संक्रमण (निमोनिया) को समस्या लिएर अस्पताल आउने मुटुरोगीको संख्या पनि बढ्छ । जाडोमा व्यायाम गर्न अल्छी लाग्ने, भोक बढी लाग्ने कारणले धेरै खाइने, बढी सुत्ने गरिन्छ । जीउ तताउने बहानामा धेरै चिया, कफी सेवन र मद्यपान गरिन्छ । धेरैजसो भोजभतेर पनि जाडोयाममै हुने भएकोले अधिक चिल्लो, पिरो खाइन्छ । यी सब गतिविधिले मुटुलाई समस्यामा पार्छ ।

प्रतिकृया दिनुहोस