वामगठबन्धनले लोकतन्त्रको जग भत्काउँछः देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले लोकतन्त्रको जग भत्काउने दाबी गरेका छन् ।
आज झापा क्षेत्र नम्बर ५ गौरादहमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसले सात दशकको प्रयासपछि बसालेको लोकतन्त्रको जग भत्काउन कम्युनिष्टहरुले गठबन्धन गरेको बताएका हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने “एकदलिय व्यवस्था र लोकतन्त्र कुन रोज्ने तपाई मतदाताको हातमा छ ।”
सम्बोधनका क्रममा देउवाले वामगठबन्धनको चर्को आलोचना गरे ।
प्रधानमन्त्री देउवाले सरकारको तर्फबाट बाढीपीडित जनतालाई राहत स्वरुप प्रति परिवार २७ हजार दिने घोषणासमेत गरे ।
कार्यक्रमका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु लोकतन्त्रको भर्याङ चढेर अधिनायकवादको सपना देखिरहेको आरोप लगाए ।
आएनन् सिटौला र शर्मा
प्रधानमन्त्री तथा पार्टी सभापतिलगायतका नेताहरुले सम्बोधन गरेको कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा भने उपस्थित भएनन् ।
पार्टी सभापति देउवाले कार्यक्रममा सम्बोधन गरिरहँदा सिटौला आफू उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ३ मा घरदैलो कार्यक्रम गरिरहेका थिए । भने, शर्मा पनि आफ्नै क्षेत्र झापा १ मा घरदैलोमा व्यस्त थिए ।
झापा क्षेत्र नम्बर ३ मा सिटौला वामगठबन्धनको समर्थन पाएका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनसँग चुनावी प्रतिस्पर्धामा छन् ।
गोपाल गडतौला, झापा