रोल्पामा मतदान जारी, थबाङ पनि शान्तिपूर्ण
रोल्पा जिल्लामा शान्तिपूर्णरुपमा मतदान जारी छ ।
निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको सक्रियताका बावजुद पनि जिल्लामा उत्साहपूर्णरुपमा मतदान जारी छ ।
अहिलेसम्म मतदातालाई कहीँ कतै अवरोध भएको छैन ।
जिल्लाको थबाङमा पनि मतदान जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
थबाङका दुई मतदान केन्द्रमध्ये १२६७ मतदाता रहेको माथिल्लो मतदान केन्द्रमा विहान ११ बजेसम्म ८३ जनाले मतदान गरेका छन् भने १५०५ मतदाता रहेको तल्लो मतदान केन्द्रमा १५१ जनाले मतदान गरेका छन् ।
त्यहाँ मतदाता विस्तारै आउने क्रम जारी रहेको र दिउँसोसम्म अधिक संख्यामा मतदान हुने अनुमान गरिएको छ ।
विभिन्न स्थानमा विष्फोट
मतदातालाई तर्साउने खालका स–साना विष्फोटहरु जिल्लाका विभिन्न ठाउँमा भएका छन् । दुईखोली, माडी, थबाङ गाउँपालिकामा स–साना विष्फोट भए पनि कहीँ कसैलाई क्षति पुगेको छैन ।
यद्यपि मतदाताहरुमा भने स्थानीय तह निर्वाचन जस्तो उत्साह पाइएको छैन ।
जीवन डाँगी, रोल्पा