रुकुममा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप
रुकुममा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुडा गरेपछि झडप भएको हो ।
झडपमा घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको उनका श्रीमान् कुलबहादुरले जानकारी दिए ।
झडपमा सहभागी चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।