नेपालगञ्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुरलाई
जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।
विभागीय टोलीका खेलाडीलाई २२ सेकेन्डले पछि पार्दै दुर्गाले उपाधि हात पारेका हुन् ।
विजेता दुर्गा बाहेक शीर्ष ८ का सबै स्थान विभागीय टोलीका खेलाडीहरुले हात पारेका छन् ।
दुर्गाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरे । त्यस्तै आर्मीका खडकबहादुर खड्काले २ घन्टा २७ मिनेट २० सेकेन्डमा पुरा गर्दै दोस्रो र एपिएफका गणेशसिंह ठकुरी २ घन्टा २८ मिनेट ३५ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भए ।
त्यसैगरी महिला हाफ म्याराथनको शीर्ष तीन स्थानमा विभागीय टोलीको वर्चश्व रह्यो । त्रिभुवन आर्मीकी रेसु बस्नेतले हाफ म्याराथनको उपाधि हात पारिन् । रेसुले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।
आर्मीकै चन्द्रा रावतले १ घन्टा २८ मिनेट ०६ सेकेन्डमा दोड पुरा गर्दै दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सिन्तकलाले १ घन्टा ३० मिनेट ०७ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।