मतदाताको दुःख– भोट हाल्न एकरात बास बस्नुपर्ने
म्याग्दीको धौलागिरि गाउँपालिका–४ का बासिन्दालाई मतदान गर्न एकरात बास बस्नुपर्ने बाध्यता रहेको छ ।
प्रदेश (ख) अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानकै दिन पुग्न नसकिने भएकाले अघिल्लो दिन नै पुगेर बास बस्नुपर्ने बाध्यता भएको हो ।
म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने बगरमा ३४, सिम्कोश र नाउरामा १०÷१० घरपरिवार बसोबास गर्छन् ।
यी तीन गाउँको लागि चन्द्रज्योति मावि खिवाङमा मतदान केन्द्र तोकिएको छ ।
सिम्कोश, बगर र नाउरा गाउँबाट हिँडेर खिवाङ पुग्न करीब आठ घण्टा लाग्छ ।
तीन वटा गाउँमा २०० जना मतदाता छन् ।
केन्द्र टाढा भएकाले ज्येष्ठ नागरिक र अशक्त मतदान गर्नबाट बञ्चित हुने गरेको बगरका स्थानीयवासी चित्रबहादुर तिलिजाले जानकारी दिए ।
विकट भएकाले उम्मेदवारसमेत गाउँमा भोट माग्न पुग्दैनन् ।
उम्मेदवारलाई नदेखेरै मतदान गर्नुपरेको स्थानीयवासी नरप्रसाद पुनले गुनासो गरे ।
स्थानीयवासीले गाउँका अगुवाले गर्ने निर्देशनको भरमा मतदान गर्ने गरेको पुनले बताए ।
बगर गाउँ धौलागिरि हिमाल आरोहणका लागि जाने धौलागिरि पदमार्गको अन्तिम बस्ती हो । रासस