समाचारसोमबार, ४ मंसिर , २०७४

सामूहिक खेतीले ल्याएको परिवर्तन

हिमालखबर

चार वर्षदेखि सामूहिक खेती गरिरहेका झापा, महारानीझोडाका किसानहरू वेलैमा बुद्धि पुर्‍याएको भन्दै दंग छन् ।

मेशीनबाट खेतमै धान झाँट्न थालिएको छ । तस्वीरः गोपाल गडतौला ।

शरीरमा बल छउञ्जेल १० कट्ठा खेतीमा पाखुरी बजाएर दुईबाली धान, एकबाली मकै र कोठेबारीमा सधैं तरकारी फलाएकै हो । तर, चार वर्षअघि झापा, गौरादह नगरपालिका–५, महारानीझेडाकी शकुन्तला (५०) र हेम घिमिरे (५३) दम्पतीले चाहेरै पनि बाली लगाउन सकेनन् । पढेका छोराछोरी शहर पसिसकेका थिए । दैनिक मजदूर लगाएर खेती गर्दा घाटा मात्र हुन्थ्यो ।

गाउँमा खेताला नपाउने, भएका पनि अंश बाँड्दा खेत स–साना चक्लामा सीमित भएकाले खानै नपुग्ने, बेचिहाले कुनै दिन खानै पाइँदैन कि भन्ने चिन्ता ! शकुन्तला र हेमलाई जस्तै धेरै गाउँलेका लागि परम्परागत खेती बेकारको कर्म जस्तै भइसकेको थियो । यस्तैमा २०७० सालमा साविक महारानीझेडा गाविसवासी एउटा निष्कर्षमा पुगे– एक्लाएक्लै होइन, अब सामूहिक खेती गर्ने । 

महारानीझेडाका लगभग सबै घरका कुल १ हजार ९०२ जना महिला शेयर सदस्य रहेको महारानीझेडा सानाकिसान सहकारी संस्थाको साधारणसभामा यस्तो प्रस्ताव आए पछि लगत्तै वडा नम्बर ५ का ६० घरधुरीको ८० बिघा जमीन सामूहिक खेतीका लागि रोजियो ।

सामूहिक खेतीका सदस्यहरु बायाँबाट क्रमशः मीना ढकाल, मुना दाहाल र शकुन्तला घिमिरे ।

खरीदबिक्री जग्गाधनीले आफूखुशी गरे पनि २५ वर्षसम्म सामूहिक खेतीबाट अलग गर्न नपाइने, प्लटिङ नगर्ने, सहकारीबाट प्रति बिघा वार्षिक ३२ मन रञ्जित मन्सुली धान कुत वा सोको बजार भाउ मुताविकको पैसा लिने, जग्गाधनीले ज्यालादारी गर्दा प्रतिघण्टा रु.५० पारिश्रमिक लिने जस्ता शर्त खुलाएर तमसुक पनि गरियो । र, सहकारीकै नेतृत्वमा खेती थालियो ।

गौरादह नगरपालिका–५ की मुना दाहाल (३८) का श्रीमान रोजगारीका लागि खाडी मुलुक पुगेका छन् । “म एक्लैले १५ कट्ठामा खेती गर्न सक्दिनथें, त्यही भएर सामूहिक खेतीमा आबद्ध भएँ”, उनी भन्छिन् । अहिले उनी घरको काम भ्याएर सामूहिक खेतीमै ज्यालादारीमा काम समेत गर्छिन्, महीनाको झण्डै रु.५ हजार कमाउँछिन् ।

गएको असारमा सामूहिक खेतीका लागि थप २० बिघा जमीन थपिएको छ । त्यसबापत ३ हजार २०० मन धान कुत भुक्तानीको तयारी भइरहेको सहकारीकी अध्यक्ष मीना ढकाल बताउँछिन् । गत वर्षसम्म ८० बिघाको २ हजार ५६० मन धान कुत बुझाइएको थियो । अघिल्लो वर्ष दुईबाली धान र मकैबाट कुल रु.५५ लाख आम्दानी भएकोमा कुत र ज्यालामा गरी रु.४८ लाख खर्च भएको बताउँदै ढकाल भन्छिन्, “सामूहिक खेतीमा आफ्नो पनि खेती मिसाउनु पर्‍यो भनेर किसानहरू आइरहनुभएको छ ।”

सामूहिक खेतीले बाली मात्र भित्र्याएको छैन, जमीन बाँझै हुने समस्या पनि हल गरेको छ । “बाँझाे हुन गएका खेत सामूहिक खेतीले उब्जाउ बनेका छन्”, सामूहिक खेती समितिका व्यवस्थापक अर्जुन खतिवडा भन्छन्, “यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ ।” आफ्नो पनि एकबिघा जमीन सामूहिक खेतीमा लगाएका उनी गराहरू ठूला र मिलेका बनाउँदै लैजाँदा उत्पादकत्वसँगै नाफाको अनुपात वर्षेनि बढिरहेको बताउँछन् ।

सामूहिक खेतीबाट उत्पादित धानको धेरै हिस्सा बीउको रूपमा बिक्री समेत हुनेगर्छ । गत वर्ष ४ हजार ५०० मन धानको बीउ बिक्री गरिएको थियो । बीउ प्रशोधन केन्द्र स्थापना गर्न सरकारले २०७२ सालमा रु.१ करोड ६० लाख अनुदान पनि दिएको थियो । बाँकी रु.४० लाख संस्थाले व्यहोरेको थियो ।

सामूहिक खेतीमा धान रोप्दा र काट्दा एक दिनमा २६८ जनासम्म गाउँलेले रोजगारी पाइरहेका छन् । तर, पर्याप्त जनशक्तिको अभाव खेपिरहेको सहकारीले गत वर्ष रु.२८ लाखमा धान रोप्ने राइस प्लान्टर मेशीन खरीद गरेको छ । हिउँदमा धान काट्न पनि भाडामा मेशीन प्रयोग गर्न थालिएको छ । “सामूहिक खेती थालेपछि जग्गा प्लटिङ गर्ने कुरा फिटिक्कै सुनिएको छैन”, अध्यक्ष ढकाल भन्छिन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस