एमाले तराई/मधेश विरोधी पार्टी होइनः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई/मधेश विरोधी पार्टी नभएको बताएका छन् ।
विराटनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएको समयमा मधेशको विकासका लागि दर्जनौं योजना ल्याएको भन्दै एमाले मधेश विरोधी नभएको बताएका हुन् ।
अध्यक्ष ओलीले गरीब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा आफ्नै सरकारले वजेट विनियोजन गरेको जानकारी गराए ।
उनले केही राजनीतिक दलका कारण मधेश शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दलहरुलाई कुनै चिन्ता नभएको आरोप समेत लगाए ।
त्यस्तै अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, काँकरभिट्टादेखि सुनसरीको कोशी पुलसम्मको छ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण, विराटनगर विमानस्थलको विस्तार लगायतका योजना समेत सुनाए । रासस