दस्तावेजमंगलवार, आश्विन ४, २०७३

महेन्द्रको चिठी नेहरूलाई

शंकर तिवारी

१ पुस २०१७ को 'कु' लगत्तै राजा महेन्द्रले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई लेखेको पत्र 'महेन्द्रीय राष्ट्रवाद' को वास्तविकता बुझ्न सहयोगी हुनेछ। 

सन् १९५० को दशकको शुरूआत विख्यात राजनीतिशास्त्री स्यामुल पी. हन्टिङटनको भाषामा 'प्रजातन्त्रको दोस्रो लहरको शुरूआत' थियो भने त्यो दशकको आखिरी र १९६० को दशकका शुरूआत 'प्रजातन्त्रको दोस्रो विपरीत लहर' का प्रारम्भिक वर्षहरू थिए।

तत्कालीन राजा महेन्द्रले त्यहीबेला संसद्को दुईतिहाइ बहुमतप्राप्त जननिर्वाचित सरकारलाई सैन्य शक्तिका बलमा अपदस्थ गरेकाले नेपाल पनि प्रजातन्त्रको विश्वव्यापी लहरको ग्राफमा राम्रैसँग जोडिन पुगेको थियो। 

यो आलेखको प्रसंग चाहिं नेपालको भूराजनीतिक सम्बन्धको ऐतिहासिक पहलुसँग जोडिएको छ। महेन्द्रले आफू राजा हुनासाथ भारतसँग 'दूरी राख्ने' नीति लिएजस्तो भ्रम जनस्तरमा फैलाए र प्रकारान्तरले नेपाली राष्ट्रियताको जगको एउटा खम्बा नै 'भारत विरोधी' भावना बन्न पुग्यो।

त्यसैले पनि यसलाई 'महेन्द्रीय राष्ट्रवाद' को उपमा दिइएको हुनुपर्छ। नेकपा एमाले र त्यस पार्टीका केपी शर्मा ओली त्यो 'राष्ट्रवाद' का 'नवप्रवर्तक' का रूपमा देखापरेका बेला प्रकाशित एक ऐतिहासिक दस्तावेजले 'महेन्द्रीय राष्ट्रवाद' को वास्तविकता उजागर गरिदिएको छ।

दस्तावेजरूपी राजा महेन्द्रको त्यो पत्रमा प्रवेश गर्नुअघि देशको परराष्ट्र नीतिबारे चर्चा गर्नु सान्दर्भिक हुनसक्छ।

एउटै महादेशभित्र दुई अलग सभ्यता र परस्पर विरोधी राजनीतिक व्यवस्था भएका विशाल छिमेकीबीच सन्तुलन कायम राख्न नेपालका शासकलाई सधैं हम्मे पर्दै आएको छ। नेपालको राष्ट्रिय शक्ति र सामर्थ्यलाई सदैव देशको अस्तित्व जोगाउनका लागि खर्चनु परेको कुरा अन्तर्राष्ट्रिय सम्बन्धका गहन अध्येताहरूले औंल्याएका छन्।

अर्थात्, नेपालले आफ्नो अस्तित्व जोगाएको छ, तर बाँकी धेरै कुरा गर्न सकिरहेको छैन। कसैले कब्जा गर्न नसक्ने यथार्थ बुझेरै तत्कालीन अतिमहाशक्ति बेलायतले नेपाललाई 'वफर स्टेट/नेशन' रहन दिएको हो।

ऐतिहासिक परिस्थिति एकातिर भए पनि महत्वाकांक्षी शासकलाई कसरी छिमेकी रिझाउने भन्ने तनाव बढ्दो रहेछ। रणनीतिक महत्वको कालापानी भारतलाई सुम्पेका राजा महेन्द्रको 'राष्ट्रवाद' को जग उनका एक–एक कामलाई नियालेर हेर्दा प्रष्ट देखिन्छ।

नेपाली कांग्रेसमाथि देश नै भारतमा विलय गर्न लागेको लगायतका आरोप लगाएर पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेका महेन्द्रले नेपालमा 'कु' गरेको भोलिपल्ट भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पत्र पठाएका थिए।

भद्र, नम्र र शालीन भाषाको पत्र 'सेलेक्टेड वर्क्स अफ जवाहरलाल नेहरू' कोे ६५औं खण्डमा संग्रहित छ। त्यो पत्रको वैधानिकता नेहरूले महेन्द्रलाई पठाएको जवाफ ६६औं खण्डमा संकलित भएबाट पनि पुष्टि हुन्छ। १६ डिसेम्बर १९६० मा लेखिएको पत्रको अनुवाद यस्तो छ–

'मेरा प्रिय मित्र,
हामीबीच हाम्रो देशको अवस्थाहरूका बारेमा विभिन्न अवसरमा भएका छलफल सम्झिंदा मलाई आनन्द महसूस हुन्छ। मैले यो अवसर तपाईंलाई यो सूचित गर्नका लागि उपयोग गर्दछु कि मैले हालैको कदम चाल्नु पर्नाको कारण देशलाई अराजकता र उत्पातबाट बचाउनका लागि हो। वर्तमान कदम बाँकी सम्पूर्ण प्रयासहरू असफल भएपछि अबलम्वन गरिएको हो। शाही घोषणाको प्रतिलिपि (तपाईंलाई अध्ययनका लागि भनेर) यसै पत्रमा समाविष्ट गरेको छु। साथै महामहिम राष्ट्रपति डा. प्रसादलाई सोही अनुसार जानकारी गराउन सादर आग्रह गर्दछु।

मेरो विचारमा सदैव नेपाललाई हुने कुनै पनि क्षति भारतको हितमा हुने छैन। मैले गम्भीरतापूर्वक चालेको कदमको सच्चाइका बारेमा शायद समयले मात्र बताउनेछ। मलाई विश्वास छ, दुई देशबीचको मित्रता दिनप्रतिदिन बढ्नेछ र हाम्रो आपसी समझ्ादारी एकअर्कालाई सहयोग हुने नै छ। तपाईंलाई नेपालभरिको अवस्था सामान्य रहेको थाहा पाउँदा प्रसन्नता मिल्नेछ।

योभन्दा बेसी, मेरो विचारमा तपाईंका राजदूतबाट जानकारी पाउनुहुने नै छ।

शुभेच्छा र सम्मानसहित,
तपाईंको (अति) भवदीय
महेन्द्र'

नितान्त आन्तरिक मामिलाबारे अवगत गराउन पठाइएको पत्रमा शाही घोषणा समेत नत्थी गरेर पठाउनुपर्ने कारण के थियो? यो पत्रलाई जानकारीपत्र, बिन्तीभाउ वा सम्मतिपत्र के भन्ने? नेहरूले आफ्नो पत्राचारमा सधैं नेपालमा कांग्रेस र राजसंस्था मात्र प्रमुख दुई संस्था/शक्ति रहेको र ती दुईबीचको मेलले मात्र नेपालको अगाडिको बाटो राम्रो हुने कुरा उल्लेख गर्ने गरेको भेटिएको छ।

एक महीनापछि २३ जनवरी १९६१ मा नेहरूले महेन्द्रलाई पत्रको लामो प्रतिउत्तर पठाए। परराष्ट्रमन्त्री तुलसी गिरीसँग दुई घण्टा वार्ता गरेको तीन दिनपछि नेहरूले महेन्द्रलाई सुविचारित पत्र लेखेका थिए।

आफ्नो अतीत कोट्याउँदै र भावनामा बग्दै लेखिएको पाँच पेज लामो पत्रमा नेहरूले आफू कसरी प्रजातन्त्रमा विश्वास राख्ने बन्न पुगे र यो कुरामा किन प्रतिबद्ध छन् भन्ने कुरा सैद्धान्तिक, दार्शनिक र अनुभवका आधारमा प्रष्ट्याउन खोजेका छन्।

पत्रमा नेपालमा भएको गैर प्रजातान्त्रिक कदमले आफूलाई गम्भीर आघात पुगेको उल्लेख गरेका नेहरूले निकासका लागि संसद् पुनर्स्थापना गर्न र त्यो हुन नसके ताजा निर्वाचनमा जान सुझाएका छन्। पत्रको अन्तिममा भनिएको छ– 'विश्व जनमतले पनि आजका मितिमा प्रजातान्त्रिक प्रक्रियालाई पूर्ण रूपमा उल्ट्याउने कुरा स्वीकार्न सक्दैन।'

यसको जवाफ महेन्द्रले पठाए या पठाएनन् भन्ने थाहा पाउन नेहरूको संकलित रचनावलीको बाँकी भाग पर्खनुपर्नेछ। तर, प्रवचनरूपी पत्र पढेर महेन्द्रले नेहरूको आशय पक्कै बुझ्ोको हुनुपर्छ। राजावादी, लोकतन्त्रवादी वा गणतन्त्रवादी जुनसुकै व्यवस्थामा विश्वास गर्नेहरूले त्यो पृष्ठभूमिमा लेखिएको यो पत्रबाट के बुझ्ने? यो सवाल पाठककै जिम्मामा छोडौं।

प्रतिकृया दिनुहोस