‘रोजगारी अहिलेको प्रमुख आवश्यकता’
ब्रिटिश काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले मुलुकमा रोजगारी सिर्जना नै अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।
‘पेशागत मापदण्डका लागि निजी क्षेत्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभेट)’ विषयको कार्यक्रममा सहभागीहरुले नेपालमा पनि पेशागत तालिमको साझा मापदण्ड बनाउन आवश्यक रहेको बताएका हुन् ।
श्रम बजारमा रहेको माग र आपूर्तिबीच अन्तर हटाउन सार्वजनिक–निजी साझेदारी आवश्यक रहेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सीप र तालिमको विकासमा ध्यान दिन आवश्यक रहेको बताए । गोल्छाले प्रमुख पार्टीको घोषणापत्रमा आर्थिक समृद्धिलाई महत्व दिएकोमा खुशी व्यक्त गरे ।
ब्रिटिश काउन्सिलको ‘दक्षता टिभेट प्राक्टिकल पार्टनरसीप’ परियोजनाका ‘टिम लिडर’ सिन कर्लीले प्राविधिक तथा व्यावसायिक शिक्षा सुधारका लागि आफूहरुले काम शुरु गरेको जानकारी दिए ।
युरोपियन युनियनको सहयोगमा दुई अर्ब ५४ करोड रुपैयाँ ब्रिटिश काउन्सिल र सिटिइभिटीसँगको सहकार्यमा ‘दक्षता टिभेट प्राक्टिकल पार्टनरसीप’ परियोजनाले चार वर्षमा खर्च गर्ने जनाएको छ । रासस