रिपोर्टसोमवार, कार्तिक २७, २०७४

काठमाडौंलाई सम्मान जोगाउने चुनौती

सञ्जीव शर्मा

दक्षिणएशियाको सांस्कृतिक राजधानी भनिएको काठमाडौंको खुलापन र सहिष्णुता जोगाइराख्न नागरिक समाजको निरन्तरको सक्रिय उपस्थिति र विस्तार जरुरी छ।

फिल्म साउथएशिया- २०१७ मा उत्कृष्ट दुईमध्येको एक वृत्तचित्र 'सोज- अ ब्यालड अफ म्यालडिज' का निर्देशक तुषार माधव र सार्वनिक कौर प्रमुख अतिथि शशि कुमारबाट रामबहादुर पुरस्कार प्रदान गर्दै । तस्वीर: कथाहरु

“काठमाडौं दक्षिणएशियाकै सांस्कृतिक राजधानी हो, यहाँको यो उदार चेत नखुम्चियोस् ।”

पाटनको यलमाया केन्द्रमा आयोजित ११औं फिल्म साउथएशिया (१६–२० कात्तिक) का प्रमुख अतिथि चर्चित भारतीय पत्रकार शशि कुमार दक्षिणएशियामा खुम्चिंदै गएको उदारवादी धारबारे चिन्ता व्यक्त गर्दैथिए ।

“काठमाडौंमा जत्तिको खुला र उदार अवस्था दक्षिणएशियामा अन्यत्र छैन” उनी भन्दैथिए । दक्षिणएशियामै सत्ता र शक्तिमा हुनेहरूले फरक र परिवर्तनकारी विचार निषेधको प्रयास गरिरहेका वेला तुलनात्मक रुपमा केही उदार देखिएको नेपालमा पनि त्यस्तो अवस्था आउनसक्नेप्रति उनको चिन्ता अस्वाभाविक थिएन ।

हुनपनि महोत्सवमा ‘विमतिका वृत्तचित्र’ श्रेणीअन्तर्गत त्यहाँका सरकारद्वारा प्रतिबन्धित, सेन्सर गरिएका वा असहिष्णु समुदायद्वारा विरोध गरिएका १२ वटा वृत्तचित्र प्रदर्शन गरिए । तीमध्ये तीनवटा भारतमा र एउटा पाकिस्तानमा प्रतिबन्धित थिए ।

विस्थापन, हिंसाको राजनीति, असहिष्णुता जस्ता विषयमा बनेका ती वृत्तचित्रमध्ये अधिकांशका निर्माता÷निर्देशकले धम्की र दुव्र्यवहार व्यहोर्नुपरेको थियो, केहीका विरुद्ध त प्रदर्शन समेत भएका थिए ।

तर, शक्तिको आडमा गरिएका हिंसा र आम मानिसका पीडाका कथा भनिएका यी वृत्तचित्रहरू लोकतान्त्रिक समाजबाटै विरोध खेपिनुपर्ने खालका पटक्कै थिएनन् ।

“दक्षिणएशियामा मौलाउँदो असहिष्णुताले लोकतन्त्रलाई कमजोर पारेको छ” महोत्सवमा सहभागी भारतीय फिल्म निर्माता तपन बोस भन्छन्, “भारतमा त सरकार आफैं असहिष्णुताको प्रवर्द्धनमा लागेको छ ।”

सरकार प्रवर्द्धित असहिष्णुताविरुद्ध राष्ट्रिय पुरस्कार समेत फिर्ता गरेका बोस यसखाले अनुदार र असहिष्णु प्रवृत्तिको विरोधमा सशक्त नागरिक आन्दोलनको विकल्प नभएकोमा जोड दिन्छन् ।

विकासका नाममा आदिवासीमाथि भएको दमन र विस्थापनको पीडा समेटिएको बोस निर्देशित वृत्तचित्र ‘द एक्सपेन्डेबल पिपल’ पनि महोत्सवमा देखाइएको थियो ।

दक्षिणएशियाकै सांस्कृतिक राजधानी भनिएकोे काठमाडौंको यो अवस्था जोगाइराख्नु चुनौतीपूर्ण भएको महोत्सवका अध्यक्ष कनकमणि दीक्षितको भनाइ छ ।

“प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि लामो संक्रमणकालको अन्त्य हुँदैछ, योसँगै प्रदेशस्तरमा पनि सशक्त नागरिक समाजको खाँचो बढेको छ” दीक्षित भन्छन्, “काठमाडौंकेन्द्रित केही अगुवाले सामाजिक सञ्जालमा मात्रै उपस्थिति देखाएर सहिष्णुता प्रवर्द्धन हुँदैन ।”

नेपाली समाज दक्षिणएशियामा तुलनात्मक रुपमा खुला र उदार भए पनि राजनीतिक बेथिति र इतर विचारको विरोध गर्ने, दबाउने प्रवृत्ति मौलाउँदो छ ।

फिल्म साउथएिशया समापन समाराेहमा प्रदर्शित पाकिस्तानमा प्रतिबन्धित वृत्तचित्र ‘अमङ्ग द विलिभर्स’ । तस्वीरः कथाहरु

न्यायको संघर्षकै क्रममा मृत्युवरण गरेका नन्दप्रसाद अधिकारीजस्ता सामान्य नागरिकको विषय होस् या डा. गोविन्द केसीका मागप्रति राजनीतिक दलहरूले देखाएको रवैया नै किन नहोस्, कैयौं यस्ता उदाहरण छन् जहाँ सत्ता र शक्तिमा हुनेहरूले नागरिक आवाजलाई कुचल्ने कुकृत्य गरेका छन् । लोकमानसिंह कार्की प्रकरण त यसको गतिलो ‘केस स्टडी’ नै बन्यो ।

दलका नेतादेखि कार्यकर्तासम्मको फरक विचार सुन्नै नचाहने प्रवृत्ति, समाजका हरेक तप्का र संस्थाको चरम राजनीतीकरणका साथै धर्म, क्षेत्र, जाति र सम्प्रदायका नाममा ल्याउन खोजिएको विभाजनलाई निषेध गर्दै खुलापन, उदारता र सहिष्णुतालाई प्रवद्र्धन गर्न सकियो भने मात्रै काठमाडौं साँच्चिकै दक्षिणएशियाको सांस्कृतिक राजधानी बनिरहन सक्छ । नत्र वृत्तचित्र मात्रै होइन विचार नै ‘सेल्फसेन्सरसिप’ को चपेटामा पर्छन् ।

फिल्म साउथएशियाकी निर्देशक मितु बर्मा पनि नेपालमा बचेको हार्दिकता र खुलापनका कारण वृत्तचित्रहरूको प्रदर्शनी सम्भव भएको बताउँछिन् । किनभने यहाँ प्रदर्शन गरिएका केही वृत्तचित्र गत जेठमा केरलामा आयोजित ‘इन्टरनेशनल डकुमेन्ट्री एण्ड शर्ट फिल्म फेस्टिभल’ मा समेत प्रवेश पाएका थिएनन् ।

जस्तो कि भारत, उत्तरप्रदेशको मुज्जफरनगरमा साम्प्रदायिक हिंसा भड्काएर एउटा राजनीतिक दलले लाभ लिएको विषयमा बनेको ‘मुज्जफरनगर दिज डेज’ ले सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति नै पाएन ।

नेपाल र अन्य दक्षिणएशियाली देशबीचको सम्बन्धका कारण पनि काठमाडौं फरक विचारको मञ्च बनेको बर्माको ठम्याइ छ । किनभने पाकिस्तानी होस् वा बाङ्लादेशी नेपाल आउनलाई भिसा, सुरक्षा र यातायातको समस्या छैन ।

उदारचेतमाथिको नियोजित प्रहारले आम मानिसको जीवन कसरी कष्टकर बन्दैछ भन्ने उदाहरण जनाउन वृत्तचित्रमाथिको प्रतिबन्ध एउटा संकेत मात्र हो । अन्ततः यसले लोकतन्त्रका अन्य अवयवहरूमाथि नै धावा बोल्दै भयको समाज स्थापना गर्छ । बर्मा, बाङ्लादेश, पाकिस्तानजस्ता देशहरूको स्थिति अझै डरलाग्दो छ, र अहिलेको भारत यसको पछिपछि लागिरहेको छ ।

युवा दर्शकको साथ
दुई दशकअघिको फिल्म साउथएशियाको पहिलो संस्करणमा सहभागी निर्देशक बर्मालाई कतिपय फिल्म स्क्रिनिङमा एक, दुई जना दर्शक मात्र भएको सम्झना छ ।

तर, अहिले टिकट किनेरै हेर्ने समर्पित दर्शकको कमी छैन । हुन पनि दर्शकहरूको मागका कारण महोत्सवमा केही वृत्तचित्र दुईपटकसम्म देखाउनुपरेको थियो ।

भारतीय रेलयात्रामा आम मानिसको अनुभव समेटिएको वृत्तचित्र ‘द अनरिजभ्र्ड’ का निर्देशक समर्थ महाजनलाई उत्साही दर्शकले छिमेकी मुलुकको अनुभूति हुनै दिएनन् । “दर्शकहरूले आफ्नै देशको जस्तै गरी कथामा रुचि देखाउँदा सम्मानित महसूस हुने रहेछ”, मुम्बई प्रस्थान गर्नुअघि उनले भने ।

“दक्षिणएशियामा हुने वृत्तचित्र महोत्सवमा यस्ता दर्शक विरलै भेटिन्छन्”, बर्मा भन्छिन् । महोत्सवमा वृत्तचित्र निर्माण प्रक्रिया, निर्देशक/निर्मातासँगको अन्तरसंवाद र दक्षिणएशियाली समाजबारे जानकारीसमेत दिइएको थियो, जहाँ युवाको उल्लेख्य सहभागिता थियो । युवाको बलियो उपस्थितिले यस्ता कार्य गर्न झनैै आशा जगाएको बर्माको अनुभव छ ।

रामबहादुर पुरस्कार
महोत्सवमा प्रतिस्पर्धामा सहभागीमध्ये उत्कृष्ट वृत्तचित्रलाई प्रदान गरिने रामबहादुर पुरस्कारबाट यस वर्ष दुई वृत्तचित्र सम्मानित भए– श्रीलंकाको ‘डेमोन्स इन प्याराडाइज’ (जुडेरत्नम) र भारतको ‘सोज– अ बालाड अफ मालाडिस’ (तुषार माधव र सार्वनिक कौर) ।

दुवै वृत्तचित्रमा हिंसा र त्यसको असर देखाइएको छ । श्रीलंकाली वृत्तचित्रमा गृहयुद्ध र त्यसपछिको समाजको वर्णन छ भने अर्कोमा भारतको कश्मिरमा दमन र हिंसाका वेला आफ्नो कलालाई प्रतिरोधको हतियार बनाएका कलाकारको कथा छ ।

महोत्सवको दोस्रो उत्कृष्ट वृत्तचित्रको पुरस्कार ‘सेफर्डेस अफ ग्लेसियर्स’ (स्टान्जिन दोर्जाई ग्या र क्रिस्टिन मोर्डलेट, भारत) ले प्राप्त ग¥यो भने बालबालिकाको विषयकेन्द्रित वृत्तचित्रलाई प्रदान गरिने युनिसेफ नेपाल पुरस्कार ‘फायरफ्लाइज् इन द एबिस्’ (चन्द्रशेखर रेड्डी, भारत) ले हात पारे । निर्देशकको पहिलो वृत्तचित्रको पुरस्कार ‘रसन पिया’ (निहारिका पोप्ली, भारत) ले पाइन् । विद्यार्थी निर्देशित वृत्तचित्रको विधामा ‘थर्टी टू सोल्स’ (साइ नाव खाम, बर्मा) उत्कृष्ट बन्यो ।

कुन्द दीक्षित, फरजाद नावी र राजश्री दास गुप्ताको निर्णायक समितिको ‘स्पेशल मेन्सन’ मा ‘इज इट टू मच टू आस्क’, ‘ट्रेम्बलिङ माउण्टेन’, ‘लक एण्ड की’, ‘प्रिजनर् सिस्टर्स’, ‘आस्क द सेक्सपर्ट’ वृत्तचित्र परे ।

 

प्रतिकृया दिनुहोस