टिप्पणीआइतवार, कार्तिक २६, २०७४

जञ्जालमा भिक्षु–भिक्षुणी

वसन्त महर्जन

हिलोमा फुलेको कमल जस्तो हुने बौद्ध भिक्षु–भिक्षुणीको जीवन सांसारिक जञ्जालमा फँस्दै गएको छ।

बौद्ध भिक्षुहरूको दैनिकी कस्तो हुनुपर्छ र समाजसँग उनीहरूको कुन तहको सम्बन्ध रहनुपर्छ भन्ने कुरा गौतम बुद्धबाटै निर्दिष्ट छ । यस सम्बन्धी बुद्धका उपदेशहरू त्रिपिटकअन्तर्गतको एक ‘विनयपिटक’ मा पढ्न पाइन्छ ।

यी विनय (नियम) हरू जसै खुकुलो हुन्छन्, बुद्ध धर्म ह्रासोन्मुख हुन्छ भन्ने कुरा बौद्ध धर्मको आरोह–अवरोहपूर्ण इतिहास केलाउँदा ज्ञात हुन्छ । 

भिक्षु–भिक्षुणी समाजमा रहेरै सांसारिक जीवनबाट टाढिन्छन् । उनीहरू सांसारिक जीवनप्रति लालायित हुनु भनेको बौद्ध धर्ममाथि खतराको घन्टी बज्नु हो । सामान्यतः भिक्षु–भिक्षुणीको निवास मानिने बिहार वा गुम्बाहरू बौद्ध शिक्षाको केन्द्र पनि हुन्छन् ।

बस्तीभन्दा धेरै नजिक हुँदा व्यवधान आउने र टाढा भयो भने उपासक–उपासिकालाई आउजाउ गर्न कठिनाइ हुने भएकाले दुवै कुरालाई ध्यानमा राखेर न टाढा न नजिक ठाउँमा बिहार वा गुम्बा बनाउनुपर्ने निर्देश छ । यस विपरीत आजभोलि शहरभित्र बौद्ध बिहारहरू बनाउने गरेको देखिन्छ ।

पारिवारिक तथा सांसारिक जीवन पद्धतिबाट टाढा रही धर्मसाधना गर्नुपर्ने कतिपय बिहारहरू पाँचतारे होटलजस्ता वैभवपूर्ण बनाइन थालेको छ । यसलाई बुद्ध र बौद्ध धर्मको नाममा सिर्जित विकृति नै मान्नुपर्छ ।

सौम्य स्थितिबाट वैभवपूर्ण हुँदै गइरहेका बौद्ध बिहारहरू आफ्नो उद्देश्य र अर्थबाट विचलित हुन थालेको यसबाट बुझ्न सकिन्छ । एकान्तको नाममा श्मसान छेउछाउ बिहार बनाएर शवदाह कार्यमा आपत्ति जनाउँदै स्थानीय समुदायसँग मनमुटाव गरेको पनि देखिएको छ ।

कीर्तिपुर चोभारस्थित थेरवादी बौद्ध बिहारको पक्षमा रहेका बौद्धहरू र स्थानीयवासीबीच यस्तै झ्गडा हुँदा प्रहरीले हस्तक्षेप गर्नु परेको थियो ।

हिमाली जिल्लाका गुम्बाहरू मर्मतसम्भार नपाएर ढल्न लागेका वा बिहान–बेलुका दियो बाल्ने व्यक्ति समेत नभएको स्थितिलाई नजरअन्दाज गरेर तिनै जिल्लाका लामा र उपासक–उपासिकाहरू काठमाडौंमा पाँचतारे होटल जस्ता गुम्बा बनाउन तत्पर भइरहेका देखिन्छन् ।

उपत्यकाबाहिर निर्मित नयाँनयाँ थेरवादी बौद्ध बिहारहरूको स्थिति पनि उही छ । थेरवादी भनौं वा महायानी; सबै भिक्षु–भिक्षुणी काठमाडौंको रमझ्मप्रति आसक्त हुनु बौद्ध भावनाबाट टाढिंदै गएको प्रमाण हो ।

बौद्ध भिक्षु वा भिक्षुणी हुनुको अर्थ हो– गृहस्थी र सांसारिक जीवनको आसक्तिबाट विरक्त हुनु । आजभोलि यसरी प्रव्रजित भएकाहरू कमै विरक्तिएका पाइन्छन् ।

आफ्नो सबै पृष्ठभूमि त्यागेर समुद्रमा नदी मिसिन आएजस्तो बौद्ध संघमा आउनुपर्ने भिक्षु–भिक्षुणी आजभोलि जातीय राजनीति र अन्य त्यस्तै गतिविधिमा संलग्न हुन थालेका छन् । यो भनेको बौद्ध विनय विपरीत र आपत्तिजनक हो ।

कतिपयले गृहस्थ जीवनमा धारण गरिने जातीय थरहरू भिक्षु जीवनमा पनि ग्रहण गरिराखेका छन् । यो प्रवृत्तिले गृहत्याग गरी भिक्षु–भिक्षुणी हुनुको अर्थलाई धुलिसात् पारिराखेको छ ।

घरपरिवार छाडेर भिक्षु–भिक्षुणीको जीवन वरण गर्नुको एकमात्र अर्थ धर्मका विविध पक्षको अध्ययन तथा अभ्यास हो । आधुनिक शिक्षा पाएकाहरू संघमा प्रवेश गर्नु वा पहिल्यै संघमा प्रवेश गरेकाहरूले आधुनिक शिक्षा प्राप्त गर्नुलाई अन्यथा लिन नमिल्ला, तर उनीहरू पेशा–व्यवसायका लागि घरगृहस्थहरूसँग प्रतिस्पर्धामा उत्रिनु द्वैधचरित्र हो ।

बौद्ध समाजमा भिक्षु–भिक्षुणीलाई अत्यन्तै सम्मान र श्रद्धा गरिन्छ । तिनै श्रद्धाका पात्रहरू यसरी अन्यसरह प्रतिस्पर्धामा उत्रिंदा त्यस्तो मानसम्मानमा असर पर्नेमा शंका छैन ।

भिक्षु–भिक्षुणी पनि मान्छे नै हुन्, तिनका कतिपय रहरमा टीकाटिप्पणी गर्न उचित हुँदैन भनेर जिकिर गर्नेहरू पनि पाइन्छन् । भिक्षु–भिक्षुणी बन्ने चाहना राख्नेकै अभाव हुन थालेकाले पनि विनयमा केही खुकुलोपन आवश्यक भएको उनीहरूको तर्क सुनिन्छ ।

यो तर्कले बौद्ध शिक्षा प्रभावपूर्ण रूपमा ग्रहण गर्न नसकेको भन्ने बुझउँछ । बहाना जस्तो बनाए पनि त्यसको विपरीत आजभोलि नै पनि शीलले सम्पन्न भई विनयमा रहेका भिक्षु–भिक्षुणी पनि पाइन्छन् ।

शील र विनयमा दृढ भिक्षु–भिक्षुणी हुनु भनेको गाह्रो जीवनचर्या हो, जुन असल भिक्षु–भिक्षुणीको पहिचान नै हो । योभन्दा पनि गाह्रो जीवनचर्या हो– धुताङ्गधारी भिक्षु–भिक्षुणी हुनु, जुन असंभव होइन भन्ने प्रमाण त्यस वर्गका अनेक भिक्षु–भिक्षुणीहरूले दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस