कुइन्स एम्ब्यास्डर पुरस्कारबाट २५ आप्रवासी पुरस्कृत
एक नेपालीसहित विभिन्न देशका २५ आप्रवासीहरुलाई न्युयोर्कमा 'कुइन्स एम्ब्यास्डर पुरस्कार–२०१७' प्रदान गरिएको छ ।
टाइम्स लेजर पत्रिकाले २५ आप्रवासीलाई उदाहरणीय एवं समुदायमा उल्लेखनीय काम गरे वापत उक्त पुरस्कार प्रदान गरेको हो ।
उक्त पुरस्कार प्राप्त गरेकी नेपालकी नर्वदा क्षेत्री, मानवअधिकार तथा महिला सामाजिक अभियन्ताको रुपमा परिचित छन् । क्षेत्री अमेरिकास्थित नेपाली आप्रवासीहरुको हक, अधिकार र क्षमता अभिवृद्धिको लागि क्रियाशिल संस्था 'अधिकार'मा कार्यक्रम तथा संगठन निर्देशकको रुपमा कार्यरत छन् ।
'अधिकार'ले न्यूयोर्कका अन्य आप्रवासी कामदार सम्बन्धी क्रियाशिल संघ संस्थाहरुसंग मिलेर १ जून २०१० मा न्यूयोर्क राज्यको संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी विधेयक पारित गराउन सफल भएको थियो । जसको नेतृत्व अधिकारकर्मी क्षेत्रीले गरेकी थिइन् ।
न्यूयोर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र इलिनोई राज्यहरुले पनि घरेलु कामदारको अधिकार सम्बन्धी विधेयक पारित गरिसकेका छन् ।
अधिकारकर्मी क्षेत्रीले यसअघि ‘इमिग्रेन्ट हेरिटेज अवार्ड–२०१२’ पाएकी थिइन् ।
ङिमा पाख्रिन, न्युयोर्क