वर्षमान पुनलाई लक्षित गरी रोल्पामा विष्फोट
माओवादी केन्द्रका नेता तथा रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी आज विहान रोल्पामा विष्फोट भएको छ ।
निर्वाचन प्रचारप्रसारका क्रममा रोल्पाको सुकिदहबाट घर्ती गाउँतर्फ जाँदै गरेको पुनको टोलीलाई लक्षित गरी माडी–१ भित्ताबाङ र धाराबास बीचको जंगलमा जमिन मुनी राखिएको बम विष्फोट भएको हो ।
नेता पुन चढेको गाडी अगाडि बढेको केही सेकेन्डमै विष्फोट भएको उक्त टोलीले जानकारी दिएको छ । टोलीका अन्य गाडीहरु भने केही पछाडि थिए ।
शुक्रबार सुकिदह गाउँपालिकाको चुनाबी सभा तथा घरदैलो अभियान सकेर पुनको टोली दुईखोलीका लागि घर्तीगाउँतर्फ लागेको थियो ।
विष्फोटबाट कुनै क्षति भएको छैन । विष्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने माओवादी केन्द्रका स्थानीय नेताहरुको अनुमान छ ।
अहिले प्रहरीले त्यहाँको सुरक्षा व्यवस्था कडा बनाएर अनुसन्धान गरिरहेको छ ।
जीवन डाँगी, रोल्पाबाट