दुई नेपाली वैज्ञानिक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
दिगो विकासका लागि पर्यापर्यटन र नवीकरणीय ऊर्जाको प्रयोगबारे नवीन अवधारणा प्रस्तुत गरेका दुई नेपाली वैज्ञानिक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।
गएको साउनमा पूर्वी तथा मध्य–तराई र पहाडमा बाढीपहिरोले ठूलो क्षति पुर्यायो । त्यसअघि २०७३ सालमा पहिरोका कारण ताप्लेजुङ, सिन्धुपाल्चोक, दैलेखलगायत पहाडी जिल्लावासीले पनि खूबै सास्ती खेप्नुपर्यो । २०७२ को भूकम्पको घाउ त अझै आलै छ । प्रकोपले उजाड बनाएका गाउँबस्ती पहिलेकै अवस्थामा फर्किन सकेका छैनन् ।
अनुसन्धाता अनुप केसी (३०) लाई विश्वास गर्नुहुन्छ भने प्रकोपमा क्षति भएका गाउँबस्ती गुलजार पार्ने सबैभन्दा उपयुक्त तरिका हो, पर्यापर्यटन । साना–ठूला प्रकोप आइरहने हाम्रो जस्तो देशमा पर्यापर्यटन झनै प्रभावकारी हुने केसीको जोड छ । “आर्थिक रुपमा हुने क्षति पर्यापर्यटनबाट तत्कालै पूर्ति हुनसक्छ, जसबाट प्रकोपको असर लामो समयसम्म रहँदैन”, उनी भन्छन् ।
यही निष्कर्षलाई पेश गरेर केसीले १० कात्तिकमा जर्मनीको संघीय शिक्षा तथा अनुसन्धान मन्त्रालयले प्रदान गर्ने ‘ग्रीन ट्यालेन्ट्स–२०१७’ पुरस्कार पाएका छन् । दिगो विकास र पर्यावरण संरक्षणसम्बन्धी नवीन अवधारणा पस्कने संसारका ‘प्रतिभावान’ २५ जना युवा वैज्ञानिक तथा अनुसन्धातालाई यो पुरस्कार दिने गरिन्छ । “पुरस्कारले अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ दिलाएको छ”, त्रिभुवन विश्वविद्यालयका वातावरण विज्ञान विषयका उप–प्राध्यापक केसी भन्छन् ।
‘ग्रीन ट्यालेन्ट अवार्ड’ मा प्रतिस्पर्धी ९५ देशका ६०२ अनुसन्धातामा केसीबाहेक नेपालका अर्का वैज्ञानिक डा. विष्णुप्रसाद भट्टराई (३४) पनि छानिएका छन् । अमेरिकाको ऊर्जा विभागअन्तर्गतको इदाओ नेशनल ल्याबोरेटरीमा ‘पोस्टडक्टरल रिसर्च एसोसिएट’ का रुपमा कार्यरत डा. भट्टराईले ‘एकीकृत बिजुली, यातायात र थर्मल ऊर्जा प्रणाली’ बारेको अनुसन्धानमा पुरस्कार पाएका हुन् ।
केसीले पर्यापर्यटन, वातावरण र विकासबारे अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, भक्तपुरको गौरीशंकर, लमजुङको घलेगाउँ, कास्कीको घान्द्रुकलगायतका ठाउँको विस्तृत अध्ययन गरेका छन् । यससम्बन्धी उनका दुई दर्जनभन्दा बढी लेखहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । “नेपालमा विकासका लागि धेरै चर्चा गरिने जलविद्युत् क्षेत्र हो तर, पर्यापर्यटनबाट त्योभन्दा छिटो र दिगो विकास गर्न सकिन्छ”, उनी भन्छन् । ठूलो लगानी र अरुको भर पर्नुपर्ने जलविद्युत्भन्दा थोरै लगानी र स्थानीयको सहभागितामै दिगो पर्यापर्यटनमा जोड दिनुपर्ने उनको तर्क छ ।
सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जालाई परिवर्तन भइरहने मौसमका कारण नियन्त्रण, एकीकृत र शक्ति सन्तुलनमा राख्न सकिंदैन । प्रतिकूल मौसममा पनि न्यूनतम नवीकरणीय ऊर्जा उत्पादन गरिरहन सक्ने प्रणालीबारे अनुसन्धान गरेका डा. भट्टराईबारे जर्मनीका वैज्ञानिकहरू पनि उत्साहित देखिए । “भट्टराईको एकीकृत बिजुली, यातायात र थर्मल ऊर्जा प्रणालीको नौलो सोचले भविष्यमा ऊर्जा आपूर्तिका लागि समाधान दिनेछ”, जर्मनीका चार वैज्ञानिक सम्मिलित जुरीले भनेका छन् ।
डा. भट्टराईको अध्ययनले विद्युतीय सवारी साधनलाई नवीकरणीय ऊर्जामा आधारित विद्युतीय प्रणालीसँग एकीकृत गर्न सकिने देखाएको छ । उनका विद्युतीय प्रणालीसम्बन्धी आठ वटा अनुसन्धानमूलक लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । त्रिविबाट स्नातकोत्तर भट्टराईले विद्यावारिधि भने डेनमार्कको अलबग विश्वविद्यालयबाट गरेका हुन् ।
पुरस्कारसँगै दुई युवा वैज्ञानिकले पहिलो चरणमा ‘एक्सपोजर भिजिट’ का रुपमा जर्मनीका विभिन्न ‘रिसर्च इन्ष्टिच्यूट’ को अवलोकन गर्ने मौका पाएका छन् । अर्को वर्ष तीन महीना जर्मनीमै बसेर अनुसन्धानको अवसर समेत पाउनेछन् । जहाँ उनीहरूले रिसर्च इन्ष्टिच्यूट, विश्वविद्यालय वा कम्पनी छनोट गरी नामी वैज्ञानिकहरूसँग आफ्ना अनुसन्धानबारे गहन छलफल गर्नेछन् ।