भारतबाट अर्को गैँडाको उद्धार
भारतको वाल्मीकि टाइगर रिजर्भबाट उद्धार गरी ल्याइएको एउटा गैँडालाई आज चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।
वन सचिब डा युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेल लगायतको उपस्थितिमा गैँडा छोडिएको हो ।
साउन अन्तिम साता आएको बाढीले बगाएर भारत पुर्याएको सो गैँडालाई २३ कार्तिकमा उद्धार गरी सौराहा ल्याइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीले बगाएर भारत पुर्याई उद्धार गरिएको यो नवौं गैँडा हो ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार भारतको वाल्मीकि टाइगर रिजर्भको मदनपुर क्षेत्रबाट अन्दाजी १५ वर्षको पोथी गैँडालाई उद्धार गरिएको हो । मदनपुर क्षेत्र नेपालको सीमा क्षेत्रबाट २० किलोमिटर पूर्वतर्फ पर्दछ । रासस