टिप्पणीशुक्रवार, कार्तिक २४, २०७४

चिनियाँ रेलको उपयोग

जीवनप्रसाद राई

चिनियाँ रेलमार्ग नेपाल आउनुअघि नै हामीले हाम्रा कृषि सम्भावनामा काम थाल्ने हो भने आज कल्पना जस्तो लाग्ने तथ्यांकहरू भोलि यथार्थ बन्नेछन् ।

चिनियाँ रेलवेले नेपाल छुन लागेको खबर आफैंमा सुखद छ । तर, चिनियाँ रेलबाट नेपालमा चिनियाँ सामान निर्यात मात्र हुने हो भने त्यसले हामीलाई झन गरीब बनाउनेछ । त्यसैले चिनियाँ रेललाई हामीले कसरी उपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण छ ।

चिनियाँ रेलमा हामीले रसुवा वा काठमाडौंबाट आँटा–मैदा, चाउचाउ आदिका केही भारी हालिदिन सकौंला, तर ती तयार औद्योगिक वस्तु छोप पनि हुने छैनन् । त्यसका लागि हाम्रो ध्यान ताजा कृषि उपजहरूमा तत्काल जानु आवश्यक छ । 

रेल ढुवानीको सस्तो र प्रभावकारी साधन हो । नेपाली भूगोल र हावापानी अनुसार योजनाबद्ध रूपमा चिनियाँ रेलका लागि ठीक हुने प्रमुख कृषि वस्तुहरू बंगुर, बन्दा, गाँजर, ड्रागनफ्रूट र खसीबोका हुन् । यी बाहेकका अन्य थुप्रै कृषि उपज छन्, जसका विषयमा अहिलेदेखि नै योजना बनाएर काम थाल्न सकिन्छ ।

कृषिप्रधान मुलुक नेपालमा आधुनिक कृषि विकासको थालनी भएको ६० वर्ष पुगिसकेको छ । तर, यतिका समयमा पनि कृषिको मोडल कस्तो हुने भन्ने निश्चित हुनसकेको छैन । आजसम्म पनि कहाँको खेतबारीमा के लगाउने, कति लगाउने, बजार खोइ ? भन्ने अलमल छ । अर्को कुरा,

चीनले आफूलाई चाहिने सबै कृषि वस्तु आफैं उत्पादन गर्छ भन्ने हाम्रो आम बुझाइ छ, जुन सही होइन । विश्व शक्ति बन्दै गरेको चीनले कृषिमा लगानी घटाउन थालेको धेरै भइसक्यो । उसले त इलेक्ट्रोनिक्स, गार्मेन्टलगायतका तयारी वस्तु उत्पादन, विश्वभर व्यापार विस्तार, सडक, रेलवे, हवाई सञ्जाललगायतमा लगानी बढाएको छ ।

चीनको जनसंख्या विश्वको पाँच भागमध्ये एक भाग हो । धमाधम क्रयशक्ति बढिरहेको चिनियाँहरूमा खानेकुरामा मजाले खर्च गर्ने चलन छ । त्यसैले भन्न सकिन्छ, चीन विश्वको अति ठूलो कृषि बजार हो । नजिकको छिमेकी भएकोले नेपालले त्यसबाट धेरै फाइदा उठाउन सक्नुपर्छ । त्यसको लागि हाम्रा कृषि योजनाहरू चीनलक्षित हुनुपर्छ ।

बन्दामा काम गरौं
चीनमा अत्यधिक खपत हुने तरकारीमा पर्छ, बन्दा । नुडल र अन्य चिनियाँ परिकारमा बन्दा अनिवार्य रूपमा प्रयोग हुन्छ । चीनको तिब्बतलाई मात्र लक्षित गरेर बन्दा उत्पादन गर्दै जाने हो भने हामीले केही वर्षभित्रै आर्थिक फड्को मार्न सक्छौं । २० वर्ष पहिले बनेपा नगरपालिकाको निमन्त्रणामा नेपाल आएका सिगात्से नगरपालिकाका मेयरले बन्दा आयात सम्झैता गर्न चाहेको कुरा यहाँ स्मरणीय छ ।

काभ्रेमा बेस्सरी हुने ग्रीन स्टोन (दुई जनालाई पुग्ने सानो) र पाँच किलोसम्मको हुने ग्रीन कोरोनेट बन्दा देखेर उनले सम्झाैता गर्न चाहेका थिए । तर, दैनिक ७०० टन उपलब्ध गराउनुपर्ने सम्झैताको पहिलो शर्तले नेपाली अधिकारीहरूलाई हच्काएको यो पंक्तिकारलाई सम्झ्ना छ ।

त्यसवेला सम्झैता हुनसकेको भए ७०० टन बन्दाको प्रतिकिलो रु.३० ले पनि नेपालमा दैनिक रु.२ करोड १० लाख (वार्षिक रु.७ अर्ब ६६ करोड) भित्रिन्थ्यो । १० वटा चिनियाँ शहरमा बन्दा पठाउन सक्दा नेपाली किसानहरूले पाउने फाइदाको आकलन यो आँकडाबाट गर्न सकिन्छ । आज २० वर्षपछि त्यो अवसरलाई चिनियाँ रेलको प्रसंगले झनै प्रखर बनाएको छ ।

दैनिक ठूलो परिमाणमा बन्दा निकाल्न एउटै ब्लक वा क्षेत्रमा संभव छैन । त्यसको लागि नेपालभर कृषि संजाल स्थापना गरेर योजनाबद्ध खेती गर्नुपर्छ । सबै ठाउँको उत्पादन संकलन गरेर चिनियाँ रेल आउने ठाउँसम्म ‘डेलिभरी’ गर्न हरेक प्रदेशमा अलग्गै निकायको व्यवस्था गर्नुपर्छ । त्यसका लागि आवश्यक प्राविधिक जनशक्ति नेपालले उत्पादन गरिसकेको छ ।

यसैगरी नेपालबाट ठूलो परिमाणमा चीन पठाउन सकिने अर्को नयाँ कृषि उपज हो, ड्रागनफ्रूट । सन् २००० ताका नेपाल भित्रिएको यो फल अहिले करीब २० जिल्लामा पुगिसकेको छ । यसलाई व्यावसायिक उत्पादनमा पुर्‍याउने अवसर चिनियाँ रेलको सन्दर्भले ल्याएको छ । भेषमान श्रेष्ठ, डा. सूर्य पाण्डे, शिवा वान्तवालगायतले यसको व्यावसायिक खेती थालिसकेका छन् । १४ प्रकारका पोषण पाइने यो फललाई क्यान्सर प्रतिरोधात्मक मानिन्छ ।

कोरिया, जापान, चीन जस्ता मुलुकमा यसलाई लन्च वा डिनरपछिको ‘लक्जरी डेजर्ट’ को रूपमा पस्कने चलन बढ्दो छ । अहिले चीनमा ड्रागनफ्रूट पठाउने मुख्य मुलुक भियतनाम र थाइल्याण्ड हुन् । यो फल हामीले जति उत्पादन गरे पनि चीनमा खपत हुन्छ । यो नेपालको नाकैमुनिको अवसर हो । नेपालमा ड्रागनफ्रूटको जंगली प्रजाति पहिल्यैदेखि रहेकोले पनि तराई, भित्रीमधेश, खोंच, बेंसी, नदीकिनार र मध्यपहाडभर यो फल फल्छ । सरकारी ‘मिसन’ कै रूपमा अगाडि बढाउन सके यसले हाम्रो राष्ट्रिय उत्पादनलाई धेरै माथि पुर्‍याउने निश्चित छ ।

मासुको अवसर
नेपालमा पर्याप्त मासु उत्पादन गर्न सके चीनमा अथाह बजार छ । नेपालमा उत्पादित बंगुरको मासु धेरै चिनियाँले मन पराउने हुनाले यसको संभावना ज्यादै छ । नेपालबाट खसी, राँगा र बंगुरको मासु चीन पठाउन सकिन्छ । चीनले क्यानाडा, अमेरिका, यूरोप, युक्रेन, रसिया र ब्राजिलबाट बंगुरको मासु मात्र वार्षिक ४६ करोड टन आयात गरिरहेको छ । संसारमा सबभन्दा बढी बंगुरको मासु खाने चिनियाँहरू नै हुन् । बंगुरपालनको शुरूआत पनि त्यहीं भएको हो ।

चीनको विशाल आवादी नेपालको खसीबोका र राँगाको मासुको पनि ठूलो बजार हो । तर, नेपालको अवस्था कस्तो छ भने हामीले गत दशैंमा मात्र भारतबाट रु.६ अर्बका खसी–बोका आयात गरेको तथ्यांक छ । नेपाल बाख्रा र भैंसी पालनका लागि ज्यादै उपयुक्त मुलुक हो, तर हाम्रो आन्तरिक बजार नै बाह्य उत्पादनको भरमा छ । यो नेपालीको ठूलो समस्या हो । हामीले आन्तरिक माग पूर्ति गरेर निकासी गर्ने कहिले ?

चिनियाँ रेलमार्ग नेपाल आउनुअघि नै हामीले हाम्रा कृषि सम्भावनामा काम थाल्ने हो भने आज कल्पना जस्तो लाग्ने तथ्यांकहरू भोलि यथार्थ बन्नेछन् । यसको लागि हामीले वेलैमा सरकार, निजी क्षेत्र, सहकारी, गाउँमा छरिएको पूँजी र विदेशी लगानी समेत गरेर पब्लिक कृषि उद्योगहरू स्थापना गर्नुपर्छ ।

आँखै अगाडि आइपुगेको यत्रो अवसर पहिचान गरेर काम नथाल्ने हो भने चिनियाँ रेल हाम्रा लागि आर्थिक परनिर्भरताको अर्को माध्यम मात्र बन्नेछ । त्यसैले आजैका दिनदेखि सपना देखौ, योजना बनाएर कार्यान्वयन गरौं र भोलि चिनियाँ रेलमा नेपाली कृषि उत्पादनको भारी हालौं ।

प्रतिकृया दिनुहोस