उम्मेदवारले सवारीसाधन सञ्चालन अनुमति लिएनन्
राजनीतिक दल र तिनका उम्मेदवारले निर्वाचन प्रचारमा प्रयोग गर्ने सवारीसाधन सञ्चालनको अनुमति नलिई आचारसंहिता उल्लघन गरिरहेका छन् ।
निर्वाचन आचार संहितामा उम्मेदवार र दलहरुले निश्चित संख्यामा मात्र सवारी साधनको प्रयोग गर्न पाउने व्यवस्था छ । उक्त व्यवस्था विपरित दलहरु चुनावी प्रचारमा सवारी सधनको जथाभावी प्रयोग गरिरहेका छन् ।
“हामी छिट्टै पास लिन्छौं, आचार संहिता विपरित काम गर्दैनौं,” अनुमति नलिएको स्वीकार्दै नेपाली कांग्रेस कास्कीका जिल्लासदस्य कृष्णप्रसाद तिमिल्सिनाले भने ।
कुनै पनि दल र उम्मेदवारले सवारी सधानको अनुमति नलिएको उनको दाबी छ । उनको दाबीलाई पुष्टि गर्दै जिल्ला निर्वाचन कार्यालयका भोलाराज रेग्मीले हालसम्म कोही पनि उम्मेदवारले सवारी संचालन अनुमति नलिएको जानकारी दिए ।
एमाले कास्कीका अध्यक्ष प्रदेशसभा २ (क) का उम्मेदवार कृष्ण थापाले अहिलेसम्म अनुमति नलिइएको भन्दै चाँडै अनुमति लिइने बताए ।
यता, जिल्ला निर्वाचन अनुगमन समितिले दलहरुलाई निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले दलहरुलाई आचार संहिता पालना गर्न सचेत गराउने निर्णय समेत गरेको छ ।
२३ कात्तिकमा कास्की क्षेत्र नं. ३ का बाम गठबन्धन उम्मेदवार जगत विश्वकर्माले प्रयोग गरेको गाडी तोडफोड भएको थियो ।
राति १० बजे खाना खाने ठाउँ अगाडि राखिएको गाडी अपरिचित व्यक्तिहरुले तोडफोड गरेको उनले बताए ।
निर्वाचन कार्यालयले उक्त सवारीसाधन सञ्चालनको अनुमति नलिइएको जनाएको छ । कार्यालयले तत्काल सवारी सञ्चालन अनुमति लिन आग्रह गर्दै बिना अनुमतिका सवारी साधन सञ्चालनमा रोक लगाइने चेतावनी दिएको छ ।
आचार संहितामा दलका तर्फबाट दुई वटा चारपाङ्ग्रे हलुका सवारीसाधन, प्रतिनिधि सभाका उम्मेदवारले ४ वटा र प्रदेश सभाको उम्मेदवारले २ वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् । त्यसैगरी उम्मेदवारले ४ वटा मोटरसाइकल पनि प्रयोग गर्न पाउने व्यवस्था छ ।
युवराज श्रेष्ठ, पोखरा