महोत्तरीमा तिव्र प्रतिस्पर्धा, अप्रत्यासित परिणाम आउन सक्ने
प्रतिनिधिसभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र कायम गरिएको महोत्तरी जिल्लामा २१ मंसीरमा हुने चुनावमा अप्रत्यासित परिणाम आउने विश्लेषकको अनुमान छ ।
ठूलैरुपमा पैसाको खेल र जातीय समीकरणका कारण महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा अप्रत्यासित परिणाम आउने उनीहरुको दाबी छ ।
महोत्तरीको राजमार्ग र उत्तरी क्षेत्रको भूभाग समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता एवं बहालवाला मन्त्री गिरिराजमणि पोखरेल उम्मेदवार छन् ।
यसअघि संविधान सभाका पहिलो र दोस्रो निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित भइसकेका उनी बर्दिवासमा पूर्वाधार विकास, विभिन्न सरकारी कार्यालय स्थापना गरेका कारण लोकप्रिय छन् छ ।
उनीसँग प्रतिष्पर्धामा कांग्रेसका नेता सीताराम भण्डारी छन् । भण्डारी दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । उनी स्वच्छ छविका नेताको रुपमा जिल्लामा परिचित छन् ।
त्यसैगरी, राजपा– संघीय फोरम गठबन्धनका तर्फबाट फोरमका लक्ष्मी महतो कोइरी उम्मेदवार छन् । कोइरी जातिको विशेष बसोबास रहेको त्यस क्षेत्रमा भण्डारी र पोखरेलको मत बाँडिएको खण्डमा कोइरीको अवस्था बलियो हुने देखिन्छ । महतो पूर्व गाविस अध्यक्ष हुन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद किरण यादवबीच मुख्य प्रतिष्पर्धा हुँदैछ ।
यादव बाहुल्यता रहेको सो क्षेत्रमा यसअघि पनि किरण यादवले संविधान सभाको चुनावमा निर्वाचित भएकी हुन् भने राजपा–फोरम गठबन्धनका साझा उम्मेदवार भण्डारीको स्थिति पनि बलियो रहेका कारण दुवैबीच सोझो प्रतिष्पर्धा हुने विश्लेषक बताउँछन् ।
त्यसैगरी, महोत्तरीको सदरमुकामसहितका क्षेत्र नम्बर ३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुर र उनकै बागी उम्मेदवार पूर्व स्वतन्त्र सांसद चन्देश्वर झाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
ब्राह्मण, भूमिहार बाहुल्य रहेको यस क्षेत्रमा नेपाली कांग्रेसबाट भूमिहार समुदायका उम्मेदवार रहेका बजरंग नेपालीले महन्थ ठाकुरलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएपछि अब महन्थ ठाकुर र चन्देश्व झाबीच रोचक भीडन्त हुने विश्लेषक बताउँछन् ।
उनीहरुका अर्का प्रतिष्पर्धी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका विजयकुमार चौधरी छन् । गठबन्धनका कारण उनले पनि राम्रै मत ल्याउने केहीको दाबी छ ।
महोत्तरीको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति महेन्द्रकुमार राय उम्मेदवार छन् । उनी जिल्लामा प्रभावशाली नेता मानिन्छन् । राजपा–फोरम गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव यसक्षेत्रमा उम्मेदवार छन् ।
गठबन्धनका कारण उनले रायलाई कडा टक्कर दिने भनिए पनि सोही स्थानबाट राजपा नेपालका महासचिव इञ्जिनियर देवेन्द्र यादव बागी उम्मेदवार भएकाले सुरेन्द्र यादवको अवस्था कमजोर हुनसक्ने विश्लेषक बताउँछन् ।
चारबाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मो रजी हैदरले उम्मेदवारी दिएका छन् । मुस्लिम बाहुल्यता रहेको त्यस क्षेत्रमा उनको पक्षमा पनि मतपरिणाम आउन सक्ने केही विश्लेषकको अनुमान छ ।
समग्रमा महोत्तरी जिल्लाको कुनै पनि क्षेत्रमा कसैको एकल दाबेदारी नरहेको र चारवटै निर्वाचन क्षेत्रमा अप्रत्यासित मत परिणाम आउन सक्ने विश्लेषकको बुझाइ छ ।
संजितकुमार मण्डल, रासस