नौबिसे–सतुंगल सुरुङ निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु
सरकारले नौबिसे–सतुंगल जोड्ने सुरुङमार्ग निर्माणमा लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरेको छ ।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरुङमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्न सार्वजनिक सूचना जारी गरेको हो ।
सुरुङ मार्ग निर्माणका लागि ४३७ कित्ताका २६६ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएको आयोजनाले जनाएको छ ।
पहिलो चरणमा काठमाडौंको महादेवस्थान, थानकोट, बलम्बु र दहचोकका जग्गा, घर एवं बाली नालीको मुआब्जा दिई अधिग्रहण गरिने छ ।
चालू आर्थिक वर्षबाट निर्माण शुरु हुने सुरुङ मार्ग पुस २०७९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।