'दक्षता'ले शुरु गर्यो अनुदान कार्यक्रम
युरोपियन युनियनको आर्थिक सहयोगमा ब्रिटिश काउन्सिलले सञ्चालन गरिरहेको 'दक्षता' परियोजनाले राष्ट्रिय स्तरको अनुदान कार्यक्रमको शुरुआत गरेको छ ।
२० कार्तिकमा ललितपुरमा आयोजित समारोहकाबीच दक्षताले मानव संशाधनको विकासमार्फत निजी क्षेत्रको उत्पादकत्व र कार्यक्षतामा सुधार ल्याउन अनुदान कार्यक्रमको शुरुआत गरेको हो ।
नेपालको आर्थिक विकासको लागि प्राविधिक शिक्षा र व्यवसायीक तालिम अत्यावश्यक रहेको 'दक्षता'ले ठहर गरेको छ । त्यस्तै प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्ले अनुदान कार्यक्रमको कार्यान्वयनका लागि निजी क्षेत्रसँग मिलेर अगाडि बढ्न तयार रहेको जनाएको छ ।
कार्यक्रममा युरोपियन युनियन प्रतिनिधि मण्डलका सहायता कार्यक्रम प्रमुख आन्द्रेयस रोएट्गरले दक्षतामार्फत सार्वजनिक–निजी साझेदारीले दिगो आर्थिक वृद्धि र रोजगारीका अवसरको मार्ग प्रशस्त गर्ने उल्लेख गरेका थिए ।
'दक्षता'ले कृषि, निर्माण र पर्यटनको क्षेत्रीय एवं राष्ट्रिय स्तरका परियोजनाहरुका लागि अनुदान रकम उपलब्ध गराउनेछ ।