ब्लगशनिवार, कार्तिक १८, २०७४

धनेसतिर नपुगेको ध्यान

हिमालखबर

नेपाली बृहत् शब्दकोशले ‘गर्दन र चुच्चो बढी लामो हुने र खुट्टासमेत अग्ला भई लमकलमक गरेर हिंड्ने एक जातको चरो’ भनी चिनाएको धनेस अचेल सजिलै देखिन छाडेको छ।

-कमल मादेन

कालो धनेस । तस्वीरहरुः यात्रा थुलुङ राई

त्यसो त स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयमा नेपालका विभिन्न वन्यजन्तुका नमूना र अवशेष सङ्गृहीत छन् । स्तनधारी, सरीसृप, उभयचर, कीराका साथै कतिपय वनस्पतिका नमूना पनि यहाँ देख्न सकिन्छ । तर, चराका निम्ति भने यो संग्रहालय विशेष छ । यहाँ ४६२ प्रजातिका चराका १ हजार १९४ नमूना राखिएका छन् ।

तिनैमध्येको दुर्लभ चरा हो, धनेस । सन् २०१३ मा प्रकाशित हर्नबिल्स अफ द वल्र्ड : अ फोटोग्राफिक गाइड पुस्तकका अनुसार, संसारभर धनेसका ५७ प्रजाति छन् । तीमध्ये एशियामा ३२ र अफ्रिकामा २५ प्रजाति पाइन्छन् । त्यसमध्ये नेपालमा चार प्रजाति पाइन्छन्– राज धनेस, कालो धनेस, सानो धनेस र हङरायो । र, संयोगले ती सबै नेपालका लागि तत्कालीन बेलायती रेजिडेन्ट ब्रायन हड्सन (सन् १८२०–४३) ले पत्ता लगाएका थिए ।

राज धनेस ।

राज धनेस
हड्सनले सन् १८२९ मा मकवानपुरमा धनेसको प्रजाति राज धनेस फेला पारेका थिए । सरकारसहितको संलग्नता र जुलोजिकल सोसाइटी अफ लण्डनको नेपाल शाखाको सक्रियतामा सन् २०१६ मा प्रकाशित ‘द स्टेट्स अफ नेपाल्स बर्डस् ः द नेशनल रेड लिष्ट सेरिज भाग ३ अनुसार, यो चरा सन् १९९० यता पर्सा, बर्दिया, कैलाली, कपिलवस्तु, नवलपरासी, सर्लाही, झपा, इलाम (सुखानी), सुनसरी (रामधुनी), मोरङ (राजारानी) जिल्लामा वेलावेला देखिएको थियो ।

भारतीय उपमहाद्वीपमा पाइने धनेसका प्रजातिमध्ये यसको आकार ठूलो भएकैले यसलाई राज धनेस अर्थात् ग्रेट हर्नबिल भनिएको अनुमान गरिएको छ । संग्रहालयमा रहेको राज धनेस ५४ इन्च लामो छ । अनुसन्धानात्मक लेखहरूमा भने लम्बाइ ६० इन्च र तौल दुईदेखि चार केजीसम्म हुन्छ भनी लेखिएको पाइन्छ ।

पंक्तिकारले पनि सन् २००१ मा मोरङको राजारानी पोखरी र सन् २००६ मा सुनसरीको कुमरखत सामुदायिक वनमा राज धनेस देखेको थियो । तर, मासुका लागि शिकार गरिने यो चरा त्यसयता कुनै अनुसन्धानकर्ताले देखेको सुनिएको छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार राज धनेस (ठूलो धनेस) संरक्षित पक्षी हो । यो पक्षी मार्नेलाई रु.७५ हजारसम्म जरिवाना वा एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ । समुद्री सतहबाट १०० देखि ५०० मिटरसम्मको उँचाइमा रहने यो पक्षी नेपालमा बढीमा १५० वटासम्म रहेको अनुमान गरिएको छ ।

कालो धनेस
कालो धनेस तराई तथा चुरेका जंगलमा बाहै्रमास देखिन्छ । ओरिएन्टल पाइड हर्नबिलका नामले चिनिने धनेसको यो प्रजाति पनि उनै हड्सनले नै पहिलो पटक पत्ता लगाएका हुन् । राज धनेसको तुलनामा यो धनेसको घाँटी बढी नै कालो प्वाँखले ढाकेको हुन्छ, लम्बाइ चाहिं अलि कम हुन्छ । संग्रहालयमा राखिएको नमूनामा कालो धनेसको लम्बाइ ३६ इन्च छ ।

गाउँघरमा युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै वनमा कालो धनेसको संख्या बढेको अनुमान सहजै गर्न सकिन्छ । वन संरक्षणसँगै यसको मुख्य आहार वरको फल पाउन सहज बन्दै गएको छ । त्यसो त ८–१० वर्षमै सानो रूख जस्तो हुने लसुने (डिसोजाइलम बाइनेक्टारीफेरम) को फलका साथै खनिउँ, मेवा, अम्बा र छेपारा, भ्यागुता, साना सर्प, शंखेकीरा, कीरा, साना मुसा, चराका बच्चा, अण्डा पनि यो चराले खाने गरेको छ । कालो धनेस समुद्री सतहबाट ७५ देखि ५०० मिटरसम्मको उँचाइमा पाइन्छ ।

सानो धनेस ।

सानो धनेस
सानो धनेस खैरो र खरानी रंगको हुन्छ । भारतीय उपमहाद्वीपमा मात्र पाइने भएकाले यसको नाम इन्डियन ग्रे हर्नबिल राखिएको हो । स्वयम्भूस्थित संग्रहालयमा राखिएको सानो धनेस २५ इन्च लामो छ । हत्तपत्त धनेस नै हो भनी चिन्न गाह्रो हुने यसलाई कतिपय स्थानीय कोकोले चरा पनि भन्ठान्छन् । चुच्चाको आकृति हेरेपछि मात्र यो धनेस हो भनी पत्तो पाइन्छ ।

‘द स्टेट्स अफ नेपाल्स बर्डस् : द नेशनल रेड लिष्ट सेरिज ३ ले यो धनेस पछिल्लो समय पूर्वी नेपालको सुनसरीमा मात्र पाइएको जनाएको छ । चरा अन्वेषक अनिस तिम्सिनाले सन् २०१५ मा इटहरी र यात्रा थुलुङ राईले सुनसरीकै मधुवनमा गत वर्ष यसको तस्वीर लिन भ्याएका छन् । सुनसरीकै पञ्चायन झेडामा पनि केही वर्षयता सानो धनेस देखिन थालेको छ ।

चराविद्द्वय हेमसागर बराल र क्यारोलिन इन्स्किपको सन् २००९ मा प्रकाशित लेख अनुसार पूर्वमा विरलै पाइने यो प्रजातिको धनेस मध्य तथा पश्चिम नेपालमा भने अक्सर भेटिन्छ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसका गुँड प्रशस्तै भेटिएको पुस्तकमा उल्लेख छ ।

हङ्रायो ।

हङरायो
हड्सनले सन् १८३१ मा नेपालबाट विश्वको निम्ति नयाँ प्रजातिको धनेस पत्ता लगाएका थिए । रुफस नेक्ड हर्नबिल भनिने त्यो धनेसलाई हङरायो भनिन्छ । हड्सनले उतिवेलै हङरायोको तस्वीर राजमान सिंहलाई बनाउन लगाएका रहेछन्, जुन ६ खण्डमा प्रकाशित ‘द स्टेट्स अफ नेपाल्स बर्डस् : द नेशनल रेड लिष्ट सेरिज’ को पछाडिको कभरमा छापिएको छ । हड्सनद्वारा संकलित हङरायोको नमूना जुलोजिकल सोसाइटी अफ लन्डनमा सङ्गृहीत छ । नेपालमा भने छैन । चराविद्हरूले २०औं शताब्दीयता नेपालमा यो चरा फेला पारेका छैनन् । तर, भारतको दार्जीलिङ र उत्तरबंगाल सिलिगुडी नजिकको महानन्द वाइल्डलाइफ स्याक्चुरीमा भने यो चरा बेलाबखत देखा पर्छ ।

हङरायोले लहरे झडीको पाङ्ग्रा (इन्टाडा फेसियोलोइड्स) सिङ्गै निल्थ्यो भन्ने भनाइ पनि छ । त्यसैले पनि पूर्वी पहाडमा कसैले भातको ठूलो गाँस खाएमा ‘कस्तो हङरायोजस्तो निलेको’ भन्ने गरिन्छ । तर, हिजोआज कसैले हङरायो देखेका भने छैनन् ।

चिन्ताको कुरा के छ भने, हङरायोजस्तै राज धनेस पनि नेपालबाट लोप हुने जोखिममा छ । यसैले यसलाई संरक्षित सूचीमा राखेर मात्र हुँदैन, संरक्षण सम्बन्धी विशेष परियोजना नै सञ्चालन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस