टिप्पणीशुक्रवार, कार्तिक १७, २०७४

विदेशमा लुम्बिनीको 'रेप्लिका'

वसन्त महर्जन

दुरुस्त नक्कली लुम्बिनी’ बनाइरहेको आरोप खेपिरहेको भारतका पनि बैंग्लोरलगायत केही शहरमा लुम्बिनीको नाममा उद्यानहरू बनाइएका छन्, गज्जबको ‘रेप्लिका’ चाहिं छैन ।

तस्वीरः वसन्त महर्जन

केही दिनअघि श्रीलंकाबाट एक मित्रले टेलिफोन गरेर त्यहाँ लुम्बिनीको ‘रेप्लिका’ बनाउन नेपालले स्वीकृति दिएको सूचना दिंदै ‘त्यसो गर्न मिल्छ र ?’ भनेर सोधे ।

श्रीलंकाको नागरिकता लिइसकेका पूर्व नेपालीले ‘हाम्रो लुम्बिनी’ भन्दै दिएको जानकारी सहजै उत्सुक बनाउने खालको थियो । मैले यो नेपालीका लागि खुशीको कुरा भएको र यसमा सबैले साथ दिनुपर्ने राय दिएँ । यसबारे व्यापक छलफल गर्दा अझ राम्रो होला । 

नेपाल बाहिर गौतम बुद्धको जन्मस्थल लुम्बिनीको वर्तमान अवस्थाको ‘रेप्लिका’ निर्माण नयाँ कुरा होइन । २०१३ को २६ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म दक्षिण कोरियाको राजधानी सोलनजिकै सम्पन्न ‘कोरिया त्रिपिटक महोत्सव’ मा लुम्बिनीको ‘रेप्लिका’ प्रमुख आकर्षणमध्ये एक थियो, जहाँ लाखौंले उही आकारको दुरुस्त लुम्बिनी अवलोकन गर्न पाएका थिए ।

उक्त महोत्सवमा सहभागी नेपाली भिक्षु मैत्री महास्थविरले यस पंक्तिकारलाई त्यो जानकारीका साथै तस्वीरहरू पनि उपलब्ध गराएका थिए । (हे. तस्वीर) उहाँका अनुसार, दैनिक तीन हजारसम्म दर्शकले लुम्बिनीको सो ‘रेप्लिका’ अवलोकन गरेका थिए । त्यसबेला यता नेपालको लुम्बिनी पुग्ने विदेशी पर्यटकको दैनिक संख्या बढीमा दुई हजारसम्म थियो ।

चीनमा पनि लुम्बिनीको ‘रेप्लिका’ बनाउने ठूलो तयारी भइरहेको सुनिएको छ । त्यो बन्यो भने चिनियाँहरूलाई लुम्बिनी र नेपालबारे उत्सुक पार्ने एउटा राम्रो माध्यम बन्छ । वर्षेनि करोडौंको संख्यामा देशाटनमा निस्कने चिनियाँहरूको सानो हिस्सालाई पनि लुम्बिनी र नेपालबारे उत्सुक पार्न सकियो भने हाम्रो पर्यटन उद्योगलाई काफी हुन्छ ।

नेपालको धरोहर लुम्बिनीको नक्कल अन्यत्र बनाउन दिनुहुन्न भन्नेहरू पनि छन् । उनीहरूको बुझइमा, त्यस्तो नक्कल बनाउन दिंदै जाने हो भने वास्तविक लुम्बिनी ओझेलमा पर्ने खतरा हुन्छ । तर, त्यस्ता ‘रेप्लिका’हरू वास्तविक लुम्बिनीको विज्ञापन हुने यथार्थलाई नकार्न मिल्दैन । विश्वभरका बौद्धहरूका लागि वास्तविक लुम्बिनी (नेपाल) ले नै अर्थ राख्छ भने लुम्बिनीका ‘रेप्लिका’हरूले के बौद्ध, के गैरबौद्ध सबैमा वास्तविक लुम्बिनीप्रति उत्सुकता पैदा गर्न सक्छ ।

नेपालमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको पुरातात्विक पुष्टि भएको दशकौंपछि मात्र त्यस स्थलको नाममा अञ्चलको नामकरण भएको थियो । थाइल्यान्डले त्यसभन्दा निकै वर्षअघि नै लुम्बिनीलाई गौरवको विषय बनाउने काम गरेको थियो, आफ्नो राजधानी बैंकक्को केन्द्रमा भव्य ‘लुम्फिनी पार्क’ बनाएर ।

थाईहरूले त्यस उद्यानलाई कतिसम्म महत्व र मर्यादा दिएका छन् भने त्यहाँ पस्ने आगन्तुकहरूलाई बौद्ध भावनासँग नमिल्ने र अन्य अमर्यादित गतिविधि गर्न त के निदाउनसम्म निषेध गरेका छन् । नेपाल आउने थाईहरू प्रायः लुम्बिनीतर्फ सोझिनुको अन्तर्य पनि यही हुन सक्छ । ‘दुरुस्त नक्कली लुम्बिनी’ बनाइरहेको आरोप खेपिरहेको भारतका पनि बैंग्लोरलगायत केही शहरमा लुम्बिनीको नाममा उद्यानहरू बनाइएका छन्, गज्जबको ‘रेप्लिका’ चाहिं छैन । 

बरु, यता हाम्रै पाटनस्थित महाबुद्ध मन्दिरलाई बोधगयास्थित महाबोधि मन्दिरको ‘रेप्लिका’ भन्न सकिन्छ । सोह्रौं शताब्दीमा भारतको बोधगयाको भ्रमण गरेका पाटनका पण्डित अभयराज शाक्यले महाबोधि मन्दिरको आकारप्रकारबाट प्रभावित भएर यो मन्दिरको निर्माण गराएका थिए ।

कीर्तिपुरको नगरमण्डप श्रीकीर्ति विहारमा चारधाम (लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर) को ‘रेप्लिका’ देख्न पाइन्छ । यसका कल्पनाकार भिक्षु सुदर्शन महास्थविरले निर्माणकर्मीहरूलाई यी रेप्लिका बनाउने जिम्मा दिनुअघि चारै ठाउँको भ्रमण गराएका थिए ।

लुम्बिनीको विकास विश्व विख्यात जापानी वास्तुविद् केन्जो टाङ्गेको गुरुयोजना अनुसार भइरहेको छ । टाङ्गेले कल्पना गरेको लुम्बिनीले मूर्तरूप लिएपछि लुम्बिनी भारतका अन्य तीन प्रमुख बौद्धस्थल बोधगया, सारनाथ र कुशीनगरभन्दा भव्य हुनेछ ।

अहिल्यै पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने एउटा ‘आइकन’ लुम्बिनी हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालले अन्य कुराको माध्यमबाट उपस्थिति देखाउन नसके पनि लुम्बिनी देखाएर आफ्नो अस्तित्वबोध गराइराख्न सक्छ ।

नेपालको पर्यटन उद्योगमा लुम्बिनी अति महत्वपूर्ण स्थल हो । मित्रराष्ट्रहरूसँग अरू सहयोग माग्नुभन्दा आ–आफ्नो ठाउँमा लुम्बिनीको ‘रेप्लिका’ बनाउन प्रोत्साहन गरेर त्यसमार्फत मित्रतालाई प्रगाढ पार्न सकिन्छ । त्यसबाट नेपाललाई दीर्घकालीन फाइदा हुन्छ ।

प्रतिकृया दिनुहोस