रिपोर्टशुक्रवार, कार्तिक १७, २०७४

कृषिमा प्रविधिको प्रयोग

बच्चु विक

कृषि एपको प्रयोगबाट किसानले मोबाइलबाटै कुन माटो र हावापानीमा कस्तो खेती गर्ने भन्ने मात्र होइन बजार समेत खोज्न थालेका छन् ।

स्याउ फल्ने हुम्ला–जुम्लामा तरकारी र अन्नबाली पनि लगाउन सकिन्छ भन्दा कसले पत्याउला ? अरू त अरू जुम्लाका किसानले नै यो कुरालाई हाँसोमा उडाए । “धेरैले विश्वास नै गरेनन्”, कृषिसम्बन्धी एप ‘जियोकृषि’ बोकेर जुम्ला पुगेका डीबीटुम्यापका तेजबहादुर श्रेष्ठ भन्छन् । ‘यसो विचार गरौं न त’ भनेर काउली, बन्दा, आलु, प्याज, सिमी लगाएका किसान यतिवेला भने दंग छन् । 

कहाँको माटो कुन बालीका लागि उपयुक्त हुन्छ ? कुन बालीका लागि कस्तो हावापानी चाहिन्छ ? ‘जियोकृषि’ एपले यी सबैको जवाफ दिन्छ । सूचनाप्रविधिको सहयोगमा कृषिमा नवीनतम काम गरेको भन्दै यो एपले हालै मात्र अमेरिकी सरकारबाट रु.१ करोड (एक लाख डलर) को पुरस्कार पनि जितेको छ ।

‘डाटा–ड्रिभन फार्मिङ प्राइज’ नामक यो पुरस्कारका लागि आवेदन दिएका संसारभरका १४३ संस्थामा नेपालको ‘जियोकृषि’ सँगै कृषिका लागि सूचना तथा सञ्चारप्रविधि (आईसीटी फर एग्रिकल्चर) ले पनि रु.५० लाख (५० हजार डलर) हात पारेको छ ।

जियोकृषि एपको निर्माणसँग १२ वैशाख, २०७२ को भूकम्प जोडिएको छ । भूकम्पले कति क्षति गर्‍यो यकिन थिएन, आएका सूचना पनि भर पर्न सकिने खालका थिएनन् ।

यही वेला रविभवन, काठमाडौंका राजनमान बज्राचार्यलाई भूकम्पको क्षतिको तथ्यांकलाई नक्शाका माध्यमबाट देखाउने सोच फुर्‍यो । “तथ्यांकलाई नक्शाका माध्यमबाट प्रस्तुत गर्दा सबैले सजिलोसँग बुझन सक्छन् भन्ने लाग्यो”, कम्प्युटर विज्ञानका विद्यार्थी उनी भन्छन् । लगत्तै उनले ‘डाटा बेस टु म्याप (डीबीटुम्याप)’ संस्था खोले । डीबीटुम्याप डटकम सञ्चालन गरिरहँदा बज्राचार्यलाई एक दिन लाग्यो, ‘तथ्यांकबारे पटक्कै जानकारी नहुने त किसान पो हुन्, किन उनीहरूलाई कृषिसँग सम्बन्धित तथ्यांक नबाँड्ने ?’ अनि जन्मियो– जियोकृषि एप ।

पाथवे टेक्नोलोजिज् एन्ड सर्भिसेज् प्रा.लि.सँगको सहकार्यमा निर्माण गरिएको यो एपले कृषिसँग सम्बन्धी सरकारी तथ्यांक, विभिन्न संघसंस्था तथा निकायले गरेका अध्ययन अनुसन्धान, जीआईएस (जियोग्राफिक इन्फर्मेसन सिस्टम) बाट प्राप्त हुने तथ्यांकलाई एकीकृत गरेर किसानसम्म पुर्‍याउँछ ।

पथप्रदर्शक ‘जियोकृषि’
डीबीटुम्यापले हावापानी, माटो र बजार अध्ययन गरी १६ वटा खाद्यान्नलाई ‘उच्च मूल्यका कृषि वस्तु’ का रूपमा सूचीकृत गरेको छ । “धान, गहुँलगायत परम्परागत रूपमा खेती हुने अन्नबालीबाट खासै फाइदा हुँदैन, व्यावसायिक रूपमा फाइदा लिनसक्ने वस्तुको खेती गर्न सूची तयार गरेका हौं” बज्राचार्य भन्छन् ।

यो सूचीमा अन्नमा मकै र जौ, फलमा किबी, ओखर, स्याउ र सुन्तला, सागसब्जीमा कुरिलो, गोलभेंडा, काउली, बन्दा, खुर्सानी, आलु, प्याज, अदुवा, बेसार र टिमुर राखिएको छ भने दालअन्तर्गतका गेडागुडीहरू पनि छन् । एपमार्फत देशका कुन भागमा के खेती गर्न उपयुक्त हुन्छ भन्ने जानकारी पनि पाउन सकिन्छ ।

अंग्रेजी र नेपाली भाषाको यो एप सामान्य लेखपढ गर्न सक्नेले पनि बुझन सक्छन् । ‘के बाली लगाउने ?’ शीर्षक ‘क्लिक’ गर्ने वित्तिकै अनाज, फल, गेडागुडी र सागसब्जीका ‘अप्सन’ देखिन्छ । त्यसपछि ‘गुगल म्याप’ आउँछ । म्यापबाट आफ्नो खेत छनोट गरेपछि महीना अनुसार कुन बाली, कसरी लगाउने, कति मलखाद हाल्नेसम्मका जानकारी पाउन सकिन्छ । 

यो एप किसानसँगै सरकारी तथा गैरसरकारी संस्थाले पनि प्रयोग गरिरहेका छन् । डीबीटुम्यापले पनि एपबारे सुर्खेत, बर्दिया र जुम्लाका किसान र कृषि प्राविधिकलाई जानकारी दिइरहेको छ । “राम्रो प्रतिक्रिया पाइरहेका छौं”, बज्राचार्य भन्छन् ।

घरमै ‘कृषि गुरु’
कृषिसम्बन्धी जानकारी दिने अर्को एप हो– ‘कृषि गुरु’ । यसको निर्माण आईसीटी फर एग्रिकल्चरका प्रबन्ध निर्देशक शिवजन चौलागाईले गरेका हुन् । सुनकोशी गाउँपालिका–३ सिन्धुलीका चौलागाई ६ वर्षअघि इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङको पढाइ सकेर इन्टरनेट विस्तारको योजना बोकेर गाउँ पुगेका थिए । तर, गाउँमा सबैभन्दा बढी गुनासो किसानबाटै पाए । ‘पानी पर्छ कि पर्दैन, धान कहिले रोप्नुपर्छ ?

राजनमान बज्राचार्य, ईश्वर मल्ल र शिवजन चौलागाई । तस्वीरः बिक्रम राई

तरकारी के लगाउँदा हुन्छ ? कीरा मार्न के गर्नुपर्छ ? मल कहाँ पाइन्छ ?’ भन्ने प्रश्न सोधिन थालेपछि उनलाई लाग्यो– खाँचो त किसानलाई सही सूचनाको पो रहेछ । त्यसपछि काठमाडौं आएर आईसीटी फर एग्रिकल्चर स्थापना गरे, अर्का इन्जिनियर गोरखाका ईश्वर मल्लसँग मिलेर ।

२४ साउनमा गोरखाका रामकुमार श्रेष्ठले एपमा रहेको ‘कृषि जिज्ञासा फोरम’ मा मेसेज छोडे, ‘म गोरखाबाट हुँ । मसँग धेरै मात्रामा अकबरे खुर्सानी भएकोले कुनै व्यापारीले प्रतिकेजी रु.१२५ जतिमा उठाउन सक्नुहुन्थ्यो कि ?’ त्यसको केही घण्टापछि एपबाटै उनलाई जवाफ आयो, ‘रामकुमार सर, धरानमा रु.२५०–३०० प्रतिकेजी रहेछ, बुटबलमा रु.३५०–४०० प्रतिकेजी रहेछ ।

त्यसैले यति सस्तोमा बिक्री नगर्नुहोला ।’ एपको प्रयोगबाट श्रेष्ठले उचित दाम र व्यापारी दुवै भेटे । “कतिपय समस्याको समाधानको उपाय त एउटा किसानले अर्को किसानलाई एपबाटै दिन्छन्”, चौलागाई भन्छन् ।

यो एपको ‘कृषि बजार’ खण्डमा किसान र व्यापारीका लागि कृषि उत्पादन बेचबिखनसम्बन्धी जानकारी राखिएको छ, जसमा हरेक दिन कालीमाटी, बिर्तामोड, पोखरा, घोराही, तुलसीपुर, बेसीशहर, बनेपा र नारायणगढको कृषिबजारको थोक र खुद्रा मूल्य राखिएको हुन्छ ।

यसबाहेक अन्तर्राष्ट्रियस्तरमा कृषि उत्पादनको बजार मूल्य समेत किसानले घरमै बसेर जानकारी पाउँछन् । ‘कृषि गुरु’ ले कृषिसम्बन्धी सरकारी, गैरसरकारी तथा अन्य संघसंस्थाका सूची र तिनका सूचना पनि दिन्छ । “जिल्ला कृषि विकास कार्यालयले दिने अनुदान, सहयोग तथा तालिमबारे प्रायः चिनेजानेकाले मात्रै पाउँछन् । एपले यस्ता जानकारी सामान्य किसानलाई समेत पुर्‍याएको छ”, चौलागाई भन्छन् ।

१२ असोजमा पोखराका कृष्ण श्रेष्ठले ३४००१ मा एसएमएस पठाए, ‘आज धान काट्ने विचार थियो । मौसम कस्तो छ, के गरौं ?’ तत्काल आईसीटी फर एग्रिकल्चरको प्राविधिक टोलीले त्यहाँको तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी जानकारी एकत्रित गरी उनलाई जवाफ पठाए, ‘आज ठीकै छ, भोलि साँझ्सम्म पानी पर्ने सम्भावना छ ।’ “ठ्याक्कै साँझ् पानी परिहाल्यो, त्यो जानकारी नपाएको भए भिज्थ्यो”, उनी भन्छन् ।

आईसीटी फर एग्रिकल्चरले गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा सिन्धुली, महोत्तरी, कास्की, डडेल्धुरालगायतका जिल्लामा एसएमएसमार्फत किसानलाई मौसमसम्बन्धी जानकारी दिइरहेको छ । ६०४ वटा कृषक समूहलाई त समूहमा नै मौसम पूर्वानुमानको सूचना पठाउने गरेको छ । यो संस्थाले तीन वर्षमा दुई लाख ७२ हजार ९८४ वटा एसएमएस किसानलाई पठाइसकेको छ । यसका लागि मौसम पूर्वानुमान महाशाखा र एक्यूवेदर डटकमको सहयोग लिइरहेको चौलागाई बताउँछन् ।

थप ‘फिचर’
चौलागाई र मल्लले ‘कृषि गुरु’ मा थप ‘फिचर’ राख्ने तयारी गरिरहेका छन् । मौसम पूर्वानुमान जानकारी देशभरका किसानसम्म पुर्‍याउने योजनामा छन् । यसका लागि टेलिकम कम्पनीहरूसँग छलफल चलिरहेको उनी बताउँछन् । डीबीटुम्यापले बालीको स्वास्थ्य अनुगमन गर्ने एप परीक्षण गरिरहेको छ ।

डीबीटुम्यापका बज्राचार्य भू–उपग्रहबाट खिचिएका तस्वीरका आधारमा खेतीपातीको विश्लेषण गरेर रोग लागे/नलागेको जानकारी दिन सकिने बताउँछन् । “अहिले चिया बगानमा परीक्षण गरिरहेका छौं । सफल देखिए सार्वजनिक गर्छौं”, उनी भन्छन् ।

डीबीटुम्यापले घरमै बसेर सिंचाइ गर्न सकिने प्रविधि पनि परीक्षण गरिरहेको छ । “यसबाट सेन्सरको माध्यमबाट जुन ठाउँमा आवश्यक छ, त्यही ठाउँमा मात्रै सिंचाइ गर्न सकिनेछ”, बज्राचार्य भन्छन् ।

प्रतिकृया दिनुहोस