अन्नपूर्ण क्षेत्रमा हेलिकप्टर अवतरणमा रोक लगाऊः एक्याप
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले संरक्षित क्षेत्रमा उसको अनुमति नलिई हेलिकप्टर अवतरणमा रोक लगाउन माग गरेको छ ।
अन्नपूर्ण आधार शिविर लगायतका अन्नपूर्ण क्षेत्रमा हेलिकप्टर कम्पनीहरुले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ दफा १६ (छ) विपरित विना अनुमति हेलिकप्टर चार्टर उडान भर्ने गरेको भन्दै रोक लगाउन माग गरेको एक्यापका पर्यटन अधिकृत रश्मी आचार्यले जानकारी दिइन् ।
नागरिक उड्ययन प्राधिकरणलाई पत्र लेखेर अनुमति बिना संरक्षित क्षेत्रमा व्यवसायिक तथा अन्य प्रयोजनका लागि हुने उडान रोक्न आग्रह गरिएको उनले बताइन् ।
संरक्षण क्षेत्र व्यवस्थापन नियमावालीमा अनुमति बेगर हेलिकप्टर अवतरण गर्न निषेध गरेको छ ।
अन्नपूर्ण क्षेत्रमा व्यवसायिक उडानका लागि एक्यापमा निवेदन दिनुपर्ने र प्रति फ्लाइट २ हजार दस्तुर तिर्नुपर्ने संरक्षण अधिकृत आचार्यले बताइन् ।
उनका अनुसार, उद्दारका लागि भने दस्तुर तिर्न नपरेपनि उडानबारे जानकारी दिनुपर्छ । पछिल्लो समय अन्नपूर्ण क्षेत्रमा माउण्टेन फ्लाइटमा जाने पर्यटकको संख्या बढ्दो छ ।