अन्तर्वार्ता/विचारआइतवार, कार्तिक १२, २०७४

'वाम गठबन्धनले कांग्रेसलाई ठूलो अवसर दिएको छ'

हिमालखबर

नेपाली कांग्रेसका नेता गगन थापासँग अागामी निर्वाचन र समसामयिक राजनीतिका विषयमा गरिएको कुराकानी । 

राजनीतिक तथा सामाजिक दृष्टिले यो चुनाव कति महत्वपूर्ण छ ?
तीनवटा कुराले निर्वाचन एकदमै महत्वपूर्ण छ । निर्वाचन भएन भने, पहिलो त संविधान नै दुर्घटनामा पर्छ । दोस्रो, राजनीतिक अस्थिरताका कारण समाजमा जुन प्रकारको उकुसमुकुस छ, त्यो झन् बढ्छ । तेस्रो, संक्रमण एक विन्दुमा पुगेर टुङ्गिन्छ भनेका हौं, टुङ्गिनुपर्छ ।

अन्य प्रजातान्त्रिक मुलुकमा कसले जित्छ भन्ने मात्रै चासो हुन्छ । तर, हामीकहाँ त जहिले पनि चुनाव हुन्छ कि हुँदैन भन्ने नै मुख्य प्रश्न रहन्छ । अब हामी पनि प्रजातन्त्रको अभ्यासमा जान्छौं ।

त्यसैले यो चुनावले राजनीतिप्रति आम मानिसको विश्वासलाई बढाउँछ, संक्रमणकालको अन्त्य गर्छ । जनताको व्यवस्थाप्रतिको विश्वासलाई कायम राख्न, संविधानलाई कार्यान्वयन गरेर अगाडि बढाउन, समाजका हरेक अवयवलाई चुस्तदुरुस्त राख्न, हरेक कोणबाट यो चुनाव मुलुकका लागि ‘लाइफ लाइन’ नै हो ।

जनतामा चुनावप्रति उत्साह कति पाउनुभएको छ ?
सुशासन, जनताको जीवन, दलहरूका क्रियाकलाप आदि सन्दर्भमा अघिल्लो कार्यकाल उति सफल भएन । अझै पनि जनतालाई अबको चार/पाँच वर्षमा ‘मैले के पाउँछु र !’ भन्ने भान परिरहेको हुनसक्छ ।

ठूला–ठूला उपलब्धि त हासिल गर्‍यौं, जस्तो संविधान बनायौं संघीयता कार्यान्वयन गर्‍यौं । यो त मलाई चमत्कार जस्तै लागिरहेको छ । तर, जनताको जीवनस्तरमा केही परिवर्तन ल्याउन सकेनौं । यो हाम्रा लागि विडम्बना भएको छ । शायद जनउल्लासको मापन पनि यसकै कसीमा होला ।

पहिलो चरणको मनोनयन भइसक्दा पनि आमनागरिकमा मात्रै हैन, राजनीतिक कार्यकर्ता र नेताहरूमा समेत चुनाव के होला भन्ने प्रश्न कायमै छ । यसको कारण के हो ?
संविधानसभा निर्वाचनमा उम्मेदवार हुँदाहुँदै पनि म आफैंलाई चुनाव हुन्छ र ? जस्तो लागेको थियो । आफैं सरकारमा हुँदाहुँदै पनि कताकता स्थानीय चुनाव हुँदैन कि जस्तो लाग्थ्यो । अहिले चुनावको दौडानमा छु, भोट मागिरहेको छु तर, वेलावेला त्यस्तै लाग्छ ।

यसको एउटा मात्रै कारण छैन् । लामो संक्रमणका कारणले हाम्रा थुप्रै निर्णयहरू आफैं गर्न सक्दैनौं कि भन्ने कुरा बलियोसँग गडेर बसेको छ । जे भइरहेको छ, त्यो कुनै षडयन्त्र हो कि भन्ने शंकाले ठाउँ लिइरहेको छ । यो पटक त अदालतमा चुनावसम्बन्धी मुद्दाहरू परिरहेका छन् । यसले पनि बल पुर्‍याएको छ ।

चुनाव सार्ने चलखेल भए जस्तो लाग्दैन ?
मेरो विचारमा छैन । कुनै शक्तिकेन्द्र वा व्यक्तिहरूको केही सामान्य योजना होला तर त्यसले चुनावमा केही असर गरेको छैन र सक्दैन । कांग्रेस र एमालेले चुनाव हुन नदिन वा सार्न चाहेको भए, संसद्‌मा निर्वाचनसम्बन्धी कानून बनिरहेको वेला वा निर्वाचन क्षेत्र निर्धारण आयोगभित्रै समस्या सिर्जना गरेर मंसीरमा चुनाव गर्न नसक्ने स्वाभाविक अवस्था सिर्जना गर्न सक्थे । एक–अर्कालाई आरोप त लगाइरहेकै छौं तर, दुवै पार्टीको ध्येय निर्वाचन होस् भन्ने थियो र, छ ।

यसको मतलब निर्वाचन समयमै होस् भनेर प्रमुख दलहरू इमानदारीपूर्वक नै लागिरहेका छन् ?
एकदम छन् । त्यसका लागि गर्नुपर्ने काम गरिरहेका छन् । तर, मौका पाउनासाथ ‘हामीले निर्वाचन चाहेका छौं, उसले चाहेको छैन’ भन्ने आरोप लगाउन पनि छोडेका छैनौं । यसमा राजनीतिक स्वार्थ जोडिएका छन् ।

एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले गर्दा कांग्रेसभित्र चुनावको पक्ष र विपक्षमा विग्रह ल्याएको छ भन्ने चर्चा पनि छ नि !
कांग्रेसमा केही नेताहरूको भनाइ, ७ माघभित्र निर्वाचन गर्र्नैपर्छ भन्ने छैन, संसद् रहँदैन, चैतमा चुनाव गर्दा हुन्छ भन्ने थियो । उहाँहरूले प्रधानमन्त्री तथा पार्टी सभापतिलाई त्यो सुझाव दिनुभएको पनि थियो । तर, सभापति ७ माघभित्रै चुनाव गर्नेमा दृढ हुनुहुन्थ्यो । यस्तो कुरालाई आधिकारिक रुपमा पार्टीभित्र प्रवेश गर्नै दिनुभएन ।

गठबन्धन बनेपछि पनि केही नेताहरूले कुरा गर्न खोज्नुभएको जस्तो त लाग्थ्यो तर, पार्टीको ठूलो पंक्ति निर्वाचन सार्ने कुरा सोच्न पनि नहुने पक्षमा थियो र, छ । निर्वाचन सार्दा हुने अनिश्चितताले त कांग्रेसलाई पनि सिध्याउँछ । अर्को, चैतमा पुर्‍याउँदा एमाले–माओवादी एउटै पार्टी बनेर चुनावमा जाने अवस्था आउँछ, झन् बलियो हुन्छन् । कांग्रेसलाई नै घाटा हुने हो ।

मतपत्रको विषय अदालतमा पनि प्रवेश गरेको छ । यस्तो प्राविधिक विषयले चुनावलाई असर गर्न सक्छ कि सक्दैन ?
पार्न सक्दैन र पार्नुहुँदैन पनि । यसमा अदालत पनि सचेत छ । ‘दुइटा मतपत्र हुनुपर्ने हो’ भनेको कुरा नाजायज हैन । तर, दुइटा मतपत्र नभएकै कारण निर्वाचन सार्न मिल्दैन । अदालतले ‘निर्वाचन रोक’ भनेको पनि छैन । अदालत यतातिर जान्छ जस्तो लाग्दैन ।

कथंकदाचित चुनाव रोकियो भने यसको असर कति ठूलो पर्ला ?
यसले अहिले बनिरहेको वातावरण एकैपटक भत्काउँछ । अवाञ्छित क्रियाकलाप गर्ने ठाउँ बढ्छ । नैराश्यताले झन् बढी ठाउँ लिन्छ ।

हामी आफ्नो निर्णय आफैं गर्न सक्दैनौं भन्ने सन्देश पनि त जाला नि हैन ?
अवश्य । मानौं, अदालतको फैसलाले गर्दा नै निर्वाचन सर्‍यो भने पनि अदालतकै कारण मात्र निर्वाचन सर्‍यो भनेर जनताले पत्याउँदैन । अदालतको आदेश आउनासाथ एमालेका एक जना सचिवले ‘कांग्रेसले अदालतको प्रयोग गर्‍यो’ भनेर अभिव्यक्ति दिनुभयो । त्यो हतारको अभिव्यक्ति हो ।

भोलि एमालेको सरकार हुँदा हामीले पनि अदालतका हरेक निर्णयमा ‘सरकारले प्रभावित गर्‍यो’ भन्यौं भने अदालतले कसरी स्वतन्त्रपूर्वक काम गर्न सक्ला ?

यो चुनावको सम्मुखमै आएर वाम तालमेल भयो । यसले कांग्रेसको भोटलाई कति असर पार्ला ?
हाम्रो निर्वाचन प्रणाली र आजको राजनीतिक यथार्थको कारणले एउटा दलको स्पष्ट बहुमत आउने अवस्था छैन । त्यसैले माओवादी केन्द्रसँग, सम्भव भएसम्म अरु दलहरूसँग चुनावी तालमेल गर्ने भन्ने हाम्रो छलफल चलिरहेको थियो ।

अकस्मात् सरकारमा बसिरहेको दल अर्कोसँग तालमेल गर्दा र पार्टी नै एकीकरण गर्छु भन्दा केही प्रभावित हुने अस्वाभाविक हैन । यो चुनौतीपूर्ण छ नै । पूरै चुनावी रणनीति परिवर्तन गर्नुपर्नेछ ।

त्यसैले, हामी पनि धेरै दलसँग तालमेल गरेर जान चाहन्छौं । तर वाम तालमेलले हामीलाई अवसर दिएको छ । हिजो एमालेले पाएको मतमा केही प्रतिशत ‘प्रजातान्त्रिक पार्टी हो’ भनेर गएको छ । एमालेलाई जनताले माओवादीभन्दा फरक सोच्थे, धेरै अजेन्डामा कांग्रेससँग समान देख्थे । अब ती मतदाता हाम्रो हुनसक्छन् ।

२०४८ को निर्वाचनदेखि नै कांग्रेसले आफूलाई ‘लोकतान्त्रिक पार्टी’ भनेर भोट मागिरहेको छ । अब पनि यसले काम गर्ला ?
प्रजातन्त्रको आधार कांग्रेसले जहिले पनि लियो, लिइरहेको छ । तर, यसले २०५१ को मध्यावधि र २०६४ को संविधानसभा निर्वाचनमा काम गरेन । चाहनामा मात्रै पनि नहुने रै’छ तर, यसले यो पटक अवश्य काम गर्छ जस्तो लाग्छ । खासगरी वाम तालमेलको कारणले गर्दा ।

दुई वाम पार्टीको तालमेल र सम्भाव्य एकताले क्रमशः सेन्ट्रल लेफ्टमा आइरहेको एमालेलाई अलि बढी लेफ्टतिर धकेल्ला कि लेफ्टबाट माओवादीलाई सेन्ट्रल लेफ्टतिर ल्याएर कांग्रेसलाई अझै राइटतिर पुर्‍याउला ?
एमाले सेन्ट्रल लेफ्टबाट अलि लेफ्टतिर जान्छ कि जस्तो लाग्छ । किनभने ‘एउटै कम्युनिष्ट पार्टी किन चाहियो ?’ भनेर सैद्धान्तिक रुपमा पुष्टि गर्न पनि बढी कम्युनिष्ट सिद्धान्ततर्फ झुकाव हुनुपर्छ । माओवादीले गरेको युद्ध एकतहसम्म ठीक थियो भनेर अब एमालेले स्वीकार गर्दै जानुपर्छ । एमाले सेन्ट्रल लेफ्टमा बसेर ‘विश्व कम्युनिष्टलाई उदाहरण दिने पार्टी बनाउने’ कुरा सम्भव छैन ।

त्यसो भए यो गठबन्धनले कांग्रेसलाई नै बढी फाइदा पुर्‍यायो त ?
कहिल्यै पनि आँखै नलगाएका एमालेका मतदातालाई आफूतिर तान्ने अवसर पाएका छौं । हाम्रो पुरानो मत त यथावत् छँदैछ, त्यो त घट्दैन । अर्कोतिर, हामीले हाम्रो राजनीतिक सान्दर्भिकता भन्न नसक्दा, कुराहरू प्रष्ट रुपमा राख्न नसक्दा केही समस्यामा परेका हौं । अब हाम्रो राजनीतिक सान्दर्भिकता पुष्टि गर्ने अभूतपूर्व अवसर आएको छ ।

संक्रमणको समयमा मुलुकमा भू–राजनीतिक चलखेल देखापर्‍यो । वाम गठबन्धनले यसलाई स्थान दियो वा हटाउन भूमिका खेल्यो ?
भू–राजनीतिक चलखेलको यथार्थताभन्दा हाम्रो सोच बढी हावी छ । वाम गठबन्धन पनि घरभित्रको कारणले मात्रै हैन भनेर ठूलो राजनीतिक पंक्तिले विश्वास गर्छ ।

अर्को, जुन लोकतान्त्रिक गठबन्धन बन्ने क्रममा छ, यसलाई पनि एउटा तप्काले कसैले बनाइदिएको हो भनेर भ्रम छरिरहेको छ । एक–अर्का विरुद्ध भ्रम छर्ने काम भइरहेको छ । जसले हामीलाई त झन् कमजोर बनायो, भू–राजनीतिक चलखेललाई झन् बढी स्पेस दिन्छ । मुख्य कुरा चलखेललाई कम गर्नको लागि एक–अर्काको अस्तित्व र भूमिका स्वीकार गरेर अगाडि बढ्नुपर्छ ।

कार्यकर्तादेखि जनतासम्म अर्काको अस्तित्वलाई बाहिरी कारणले बनेको भनेर प्रशिक्षित गर्ने काम बन्द गर्नुपर्छ । हाम्रो अस्तित्व आफैं बनेको हो तर, हामीबीच मतभेद चाहिं छ है भनेर अगाडि बढ्ने हो भने भू–राजनीतिक चलखेल स्वतः कम हुन्छ ।

चुनावी तालमेलमा राप्रपा, राजपा, फोरमलगायतका दललाई लिएर जाँदा यसले कांग्रेसलाई झनै दक्षिणपन्थतिर धकेल्ने सम्भावना छैन र ?
कांग्रेसको आकार, सिद्धान्त आदि कारणले क्षेत्रीय राजनीतिको सीमिततामा बसेका दलहरूले खासै फरक पार्दैनन् । कांग्रेस राइटमा ढल्कने हैन कि तालमेलमा रहेका दलहरू कांग्रेसको लाइनमा आउने हुन् ।

तर कांग्रेस जस्तो छ, जस्तो देखिन्छ, जस्तो सुनिन्छ, त्यति मात्रै भएर पुग्दैन । अब फरक हुनैपर्छ । व्यक्तिगत रुपमा म अत्यन्तै खुशी छु, किनकि वामगठबन्धनले कांग्रेसलाई ठूलो अवसर दिएको छ । तर, म के कुरामा चिन्तित र सतर्क छु भने हिजो सेन्ट्रल लेफ्टमा रहेका कम्युनिष्ट पार्टीहरू पुनः झनै लेफ्टतिर जाने हुन् कि !
प्रस्तुतिः किरण नेपाल र सन्त गाहा मगर

प्रतिकृया दिनुहोस