असनलाई पनि सवारीसाधन मुक्त क्षेत्र बनाइने
काठमाडौँको असन क्षेत्रलाई पनि सवारी साधन निषेधित क्षेत्र बनाइने भएको छ ।
महानगरीय ट्राफिक महाशाखा, त्यस क्षेत्रका वडा प्रतिनिधि र व्यवसायीको सहभागितामा असन क्षेत्रलाई सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको हो । त्यसका लागि महाशाखाले महानगरपालिकाका प्रतिनिधि तथा व्यवसायीसँग छलफलसमेत शुरु गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ संस्थाको सक्रियतामा ५ कात्तिकदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाइएको छ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठमेल क्षेत्रमा चलाइएको अभियान केही हदसम्म सफल भएपछि असन क्षेत्रलाई पनि ठमेल क्षेत्रजस्तो बनाउन लागिएको जानकारी दिए ।
“ठमेलको अव्यवस्थित सवारी सञ्चालनलाई कडाइ गरेपछि पर्यटक र स्थानीयलाई सजिलो भएको छ” खनालले भने।
सवारीसाधन निषेधित क्षेत्र बनाएपछि ठमेलमा सुरक्षा, पर्यटक, एम्बुलेन्स, दमकलगायतका अत्यावश्यक सवारी साधनलाई आवतजावतमा सहज भएको छ ।
ठमेल क्षेत्रभित्र घर भएका घरधनी र व्यवसाय गर्ने व्यवसायीलाई ठमेलभित्र भित्रिनका लागि प्रवेश पास वितरण गर्ने कामसमेत शुरु भएको छ ।