टिप्पणीबिहिवार, कार्तिक २, २०७४

बदलिंदो तिहार

हिमालखबर

आधुनिकीकरण र विश्वव्यापीकरणबाट तिहार प्रभावित भएको छ। तिहार यही समाजको एउटा गतिविधि हो। समाज बदलिंदै जाँदा त्यससँग जोडिएका गतिविधि बदलिंदै जानु स्वाभाविक हो।

प्रा.डा. तुल्सीराम पाण्डे
परिवर्तित परिवेशसँगै समाजसँग जोडिएका हरेक गतिविधि बदलिंदै जान्छन् । तिहार यही समाजको एउटा गतिविधि हो । यो गतिविधिमा पनि समयको परिवर्तन देखिएको छ । तिहारको सार भने बदलिएको छैन ।

हिजो जसरी र जुन महत्व दिएर तिहार मनाइन्थ्यो, त्यसले निरन्तरता पाएको छ । बदलिएको त तिहार मनाउने सामग्री मात्रै हो । यस हिसाबले सबै चाडबाड बदलिएका छन् । यो भनेको हाम्रो सामाजिक स्वरुप वा संरचना सञ्चालन प्रक्रिया नै बदलिएको हो ।

हिजो विकास थिएन । यातायात, सञ्चार थिएन । मानिसहरू एउटै समाजमा सीमित थिए । घुमघाममा निस्कने चलन नै थिएन । तिहार समाजभित्र सीमित थियो ।

आज यातायात, सञ्चारलगायतको विकास, आधुनिकीकरण र विश्वव्यापीकरणले तिहारलाई स्वाभाविक प्रभाव पारेको छ । आधुनिकीकरणको एउटा पाटो हो बदलिंदो तिहार ।

आधुनिकीकरणका कारण हामी विश्वसामु पुग्यौं, विश्व हामीसामु आयो । विश्वव्यापीकरणसँगै विदेशी अर्थतन्त्र नेपालमा प्रवेश गर्‍यो । उत्पादनभन्दा व्यापार बढेका कारण नेपाल कमोडिटी मार्केटको रुपमा विकसित भयो ।

शहरी इलाकामा पसेको विश्वबजार नेपालका गाउँघरसम्म पुगेको छ । शहरको देखासिकी गाउँहरूले गर्छन् । नेपालीको हातमा नगद भएकोले खर्च गर्ने प्रवृत्ति पनि बढेको छ ।

विश्वबजारमा चलेका सामग्रीहरूको उपलब्धता, आकर्षणलगायतका कारणले नेपाली समाजलाई लालायित बनाएको छ । यसको स्वाभाविक प्रभाव हामीले दशैं–तिहारलगायतका चाडबाडमा प्रयोग गर्ने सामग्रीहरूमा परेको छ ।

विश्वव्यापीकरण प्रक्रियामा शक्तिशाली सावित भएको समाजको संस्कृतिको प्रभाव संसारभरका समाजमा पर्दै गएको छ । नयाँ तौरतरीका र पद्धति आकर्षक भए, त्यसको प्रभाव सबैमा पर्‍यो । माटोको पालामा तेल राखेर बालिने बत्तीलाई इलेक्ट्रिक बत्तीले विस्थापित गर्दै लग्यो ।

दिदीबहिनीहरुले आफ्नै हातले बनाएका ओखर, कटुस, तिल मिसाएको मसलालाई बजारमा पाइने तयार ‘भाइ मसला’ र मिठाइले विस्थापित गर्‍यो । बदलिंदो तिहारमा परम्परागत लोक प्रविधि हरायो ।

अर्कोतिर सञ्चार र प्रविधिले तिहारलाई झन् फैलाएको छ । यसको धार्मिक–सांस्कृतिक महत्वमा ह्रास आएको छैन । तेलको मधुरो बत्तीको ठाउँ बिजुलीको उज्यालोले लिएको छ । सम्बन्धसँग जोडिएको तिहारको मान्यता र मनाउने शैली पनि बदलिएको छैन । दिदीबहिनी आउने, दाइ–भाइलाई टीका लगाउने, दाइभाइले दान–दक्षिणा दिने चलन उही छ ।

खानपान बदलिएको छ । पहिले सेलरोटी खाने भनेको दशैं र तिहारमा मात्रै थियो । हुनेखानेले चैते दशैं र माघे संक्रान्तिमा पनि पकाउँथे । खीर, ढकनी, केरा, ओखर, सेलरोटी, फिनी, अनरसा आदि तिहारमा प्रयोग हुन्थे । अहिले बजारले खानपानलाई विस्तार गरिदिएको छ ।

पुराना परिकार घटेका छैनन्, नयाँ थपिएका छन् । हिजोको दिनमा नयाँ लुगा किन्ने र लगाउने भनेको पनि दशैं–तिहारमा मात्रै हुन्थ्यो । मानिससँग नगद नै थिएन । अब त वर्षमा एकचोटि दशैं–तिहारमा मात्र नयाँ लुगा किन्ने कुरा सुन्दै अनौठो लाग्ने भइसक्यो ।

लक्ष्मी पूजाको दिन सुनचाँदी किनेर राखे वर्षभरि आम्दानी बढ्छ भन्ने परम्परागत विश्वास पनि कायमै छ । अहिले त सुनचाँदी किनेर देखाउने चलन पनि आएको छ ।

समाजमा देखाउनकै लागि सुन लगाउनेहरूको कमी छैन । गहना लगाउने चलन भारतीय नवाब खान्दानबाट भित्रिएको हो । सम्भ्रान्तहरूले विकसित गरेको देखासिकीको चलन विस्तारै सबैतिर फैलँदै गएको छ । यसले सामान्य वर्गमाथि मानसिक दबाब परेको छ ।

कतिपय मानिसहरू तिहारमा हुने रमाइलो घट्यो भन्छन् । तर, यो घटेको नभई विस्तार भएको छ । किनभने, आजकल रमाइलोको लागि तिहार नै कुर्नुपर्दैन । अर्को पक्ष के छ भने, नेपालीहरूले तिहारलाई संसारभर पुर्‍याएका छन् ।

विदेशमा तिहार मनाउने, भैलो–देउसी खेल्ने चलन बढेकै छ । विदेशमा तिहार लक्षित कार्यक्रमहरू हुन थालेका छन् । यसबाट पनि तिहारको गरिमा र महत्व बढेको छ । नेपालमा सीमित तिहारको अन्तर्राष्ट्रियकरण भएको छ ।

तिहारको मूल्य–मान्यता फेरियो, धर्म–संस्कृति बिग्रियो भन्नै पर्दैन । समाज बदलिंदै जाँदा त्यससँग जोडिएका गतिविधि पनि बदलिंदै जानु स्वाभाविक हो ।

प्रतिकृया दिनुहोस