राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएकी छन् ।
दीपावलीको अवसरमा २ कात्तिकमा दिएको राष्ट्रपतिको शुभकामना सन्देशमा घर–घरमा दीपावली तथा हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरिएको छ ।
साथै राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाउन र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न दीपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । रासस