नरजीत सर
२० वर्षअघि माओवादीले हात छिनालिदिएका शिक्षक अहिले अर्को पुस्ताका विद्यार्थीलाई पढाउँदैछन् ।
प्रविर डडेल, रुकुमबाट
फागुन २०५२, प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेता बाबुराम भट्टराईले बुझाएको अल्टिमेटम बेवास्ता गरेको एक सातापछि, वर्षमान पुन नेतृत्वको समूहले रोल्पाको होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गर्यो ।
शुरुका वर्षहरुमा गाउँलेलाई आतंकित पार्दै आत्मसमर्पण गराउने, प्रहरी चौकी र सरकारी कार्यालयमा आक्रमण गरेर राज्यको उपस्थिति न्यून बनाउने माओवादी रणनीति थियो । यता देउवा सरकार भने माओवादी हिंसालाई शान्ति सुरक्षामा देखिएको सामान्य समस्या जस्तो व्यवहार गर्यो।
त्यसैबेला रुकुमको दुर्गम गाउँका नेपाली कांगे्रसका स्थानीय नेता देउचन बस्नेतको हत्या गर्ने निर्णय गरेको माओवादीले उनका भाई नरजीत बस्नेतमाथि आक्रमण गर्यो ।
सदरमुकाम मुसीकोटबाट करिब एक घन्टाको पैदल दुरीमा छ, पोखरा गाविस, प्राथमिक विद्यालय । त्यहीं पढाउने नरजीतलाई १२ फागुन २०५२ विद्यालयबाट घर फर्कंदै गर्दा माओवादी लडाकुले घेरा हाली खकुरी प्रहार गरे ।उनको बायाँ हात नाडीबाट चुँडियो । लडाकुले नरजीतलाई खोलामा खसालिदिए मरेको ठानेर ।
एक घन्टापछि स्थानीयले उद्दार गरेका उनलाई शुरुमा हेल्थपोष्ट र अर्को दिन सदरमुकाम हुँदै विमानबाट काठमाडौं लगियो । यद्यपी मुसिकोट जाँदै गर्दा बाटो छेक्न आएका माओवादीलाई प्रहरीले लखेट्नु परेको थियो ।
भाइ नरजीतको काठमाडौंमा उपचार हुँदै गर्दा रुकुममा उनका दाइ देउचन बस्नेतको हत्या भयो । उपचारपछि रुकुम पुगेका नरजीत पनि गाउँमा बस्न सकेनन् र मुसिकोटस्थित सरस्वती प्राथमिक विद्यालयमा सरुवा गराए ।
बस्नेत दाजु–भाइ माओवादी हिंसाका पीडित बनेको २० वर्षपछि र युद्धविरामको दश वर्षपछि, अहिले पुष्पकमल दाहाल फेरि प्रधानमन्त्री भएका छन् उनै शेरबहादुर देउवाको सहयोग र समर्थनमा जो कुनैबेला माओवादीका ‘मुख्य दुष्मन’ थिए ।
तत्कालीन माओवादीको घोषणापत्र तयार पारेका भट्टराईले भने पार्टी परित्याग गरिसकेका छन् र नयाँ पार्टीको घोषणापत्रमा कम्युनिष्ट भन्ने शब्द कतै पनि राखेका छैनन् । होलेरीमा पहिलो आक्रमणको नेतृत्व गरेका पुन मूलधारको राजनीतिज्ञ भएका छन् ।
यता रुकुममा, नरजीत बस्नेत अझै स्कुलमा पढाउँदै छन् दोस्रो पुस्ताका विद्यार्थीलाई । ५० वर्षीय उनको शरीरमा माओवादी आक्रमणका चोटहरु अझै बल्झिरहन्छन् ।
माओवादीले ठूटो पारिदिएको बायाँ हात र खुट्टैभरी खुकुरीका दाग भएका नरजीतलाई अलिबेर उभिन पनि धौधौ हुन्छ ।
“पुराना कुरा खोतल्ने मन छैन,” बस्नेत भन्छन्, “तर, त्यसबेलाको चोटले अहिले पनि शरीर दुख्छ र त्योे कहालीलाग्दो रात बिर्सन गाह्रो हुन्छ ।”
बस्नेत स्थानीय स्तरमा राम्रा शिक्षक मानिन्थे । प्राथमिक तहको दरबन्दीमा भएपनि ८ कक्षासम्म पढाउने उनी अहिले भने तीन कक्षासम्म मात्रै पढाउँछन् । “शरीरको घाउले मलाई अघि बढ्नबाट रोक्यो,” उनी भन्छन् ।
नरजीतका छोरा बैदेशिक रोजगारमा साउदी अरबमा छन्, छोरीले पोहोरसाल एसएलसी गरिन् । छोरीलाई ११ कक्षा पढाउन उनलाई धौधौ छ ।
हिंडन सक्ने भएकाले ‘आंशिक पीडित’ को सूचीमा परेका उनले आर्थिक सहायता पनि पाएनन् ।
सदरमुकाममा बेलाबेला जम्काभेट हुने त्यसबेलाका आक्रमणकारी नेतासँग नरजीतले आफूमाथि भएको आक्रमणको कारण अझै सोधेका छैनन् । भन्छन, “यदि कुनै दिन प्रचण्डसँग भेट भो भने उनैसँग कारण माग्नुपर्ला ।”
अहिले सत्तमा पुगेको माओवादीसँग आफूलाई कुनै अपेक्षा नरहेको बताउने नरजीतले भने, “मलाई म¥यो भनेर छोडिदिएको माओवादीले मलाई दिएको पीडाको मूल्य कसरी चुकाउन सक्ला र !”