समाचारसोमवार, आश्विन २३, २०७४

गण्डक नहर किसानका लागि सधैंको पीडा

मुकेश पोखरेल

डुबान र कटानको स्थायी समाधान नखोजिंदा पश्चिम गण्डक नहर भारतीय भूमि उर्वर बनाउन सहयोगी भए पनि नेपाली किसानका लागि भने हरेक वर्ष पीडाको कारण बनिरहेको छ।

बाढीले बिगारेको खेत देखाउँदै पीडित किसान ।

असोज दोस्रो सातासम्म त्रिवेणी सुस्ता गाउँपालिका–१ रुपौलिया छिवनी, नवलपरासीकी कृष्णादेवी डुम्रेको दुई बिघा सात कट्ठा खेत पहेंलपुर भइसक्थ्यो । धान भित्र्याउने चटारोमा हुन्थिन्, उनी । तर, यो वर्ष भने असोज तेस्रो सातासम्म पनि खेतमा बालुवा र पानी मात्रै छ । २८ साउनमा आएको बाढीले बगर बनाएको खेत हेर्न जान पनि छाडेको बताउँदै डुम्रे भन्छिन्, “बालुवा र पानी भरिएको तलाउ देख्दा मन थाम्नै सकिन्न, आँशु झ्रिहाल्छ ।”

त्यही गाउँका एकनारायण न्यौपानेको दुई बिघा एक कट्ठा खेत बगर बनेको छ । उनी रोपेको महीना दिनमै कम्मरसम्म पुग्ने गाँज आएको धान घरी–घरी सम्झ्न्छिन् । “धानका ठूल्ठूला गाँज आएका थिए, अरू वर्षभन्दा राम्रो थियो” बाढीले पुरेको खेत देखाउँदै न्यौपानेले भने, “सबै बगर भयो, परिवार कसरी पाल्ने चिन्तामा छु ।”

रुपौलिया छिवनीका बासिन्दाको जस्तै समस्या पश्चिम गण्डक नहरको उत्तरतर्फका किसानले भोगिरहेका छन् । भारतद्वारा निर्मित पश्चिम गण्डक नहरले खोलानालाको बहाव रोकेपछि नहरभन्दा उत्तरतिरका खेतमा बाढी पसेको स्थानीय बासिन्दा बताउँछन् । गण्डक नदी नियन्त्रण संघर्ष समितिकी उपाध्यक्ष पविता न्यौपाने भन्छिन्, “यो भन्दा अघि बाली बिग्रे पनि खेत जोगिन्थ्यो, यो वर्ष खेतै काम नलाग्ने भयो ।”

उनका अनुसार चुरेबाट बग्ने खोलाहरू ठटिया, शिर, सिगाहा, अम्चुर, गलफेच्की, पोटाहा, गुल्लर, रायपुर र खजुराको वहाव नहरले रोकिन्छ । रायपुरा र शिरखोलाले धेरै क्षति पु¥याउँछन् । खोलाहरूको वहाव रोकिंदा हुने डुबान र कटानका कारण हरेक वर्ष बालीनाली नष्ट हुन्छ भने खेतीयोग्य जमीन बगर बन्छ । यो वर्ष पनि त्रिवेणी सुस्ता गाउँपालिकाको छिवनी, फेचुवा, सत्तपत्ती, सुस्ता र हरखपुरका ४०० परिवारको करीब ५५० बिघा खेतमा लगाइएको धान र उखुबाली नष्ट भएको स्थानीय बासिन्दा एकनारायण न्यौपाने बताउँछन् ।

खेत बन्यो बगर
छिवनीका जगन्नाथ डुम्रेको दुई बिघा खेतमा २२० मुरी धान, ४० मुरी गहुँ र पाँच मुरी तोरी फल्थ्यो । वर्षभरि खान त पुग्थ्यो नै, घर खर्च चलाउने मेलो पनि त्यही हुन्थ्यो । यस वर्ष भने बाढीले खेतलाई बगर र तलाउमा परिणत गरेको बताउँदै उनी भन्छन्, “खेत नै नरहेपछि कसरी परिवार पाल्ने, के गरी घर खर्च चलाउने, समस्या भएको छ ।”

उनको जस्तै समस्यामा छन्, रुपौलियाको जिगडहवाका किशोरलाल हरिजन (५०) । उनी स्थानीय सोमनाथ पाण्डेको एक बिघा १० कट्ठा खेत अधियाँमा लिएर खेतपाती गर्दै आएका हरिजन आठ वर्षदेखि अधियाँ गरेको खेत बाढीले बगर बनाएको बताउँदै भन्छन्, “विदेश जाऊँ भने, उमेर गयो । खेतबारी बाढीले लग्यो । के गर्ने सोच्नै सकेको छैन ।”

रुपौलिया छिवनीका कुनाखर बस्याल पिरलोमा छन् । रु.२७ लाखमा नौ कट्ठा जमीन खरीद गरेका बस्याल एक मुठी अन्न भिœयाउन नपाएको बताउँछन् । ऋण लिएर जग्गा किनेका उनी भन्छन्, “पहिलो वर्षमै बर्बाद भयो, खेती स्याहार्नै पाइएन ।” उनको धानबाली नष्ट र खेत बगरमा परिणत भएको छ । खेत किन्दा लिएको ऋण तिर्न नसकेको बताउँदै उनी भन्छन्, “खेत छैन, ऋणको ब्याज बुझएको बुझयै छु ।”

बाढीले बालीनाली नष्ट गर्दा बिहान बेलुकाको जोहो गर्नै अप्ठ्यारो भएको किसानहरू बताउँछन् । खेतमै निर्भर उनीहरू विकल्प पनि खोज्न थालेका छन् । आठ कट्ठा जमीनमा लगाएको खेतीपाती नष्ट भएपछि समस्या परेको बताउँदै हरखपुरका मुन्नी चौधरी भन्छन्, “खेत सबै डुब्यो, माछा मारेर गुजारा चलाइरहेको छु ।”

गण्डक नहरको २४.४५ आरडी । पानी निकासको लागि बनाइएको यो साइफन गेग्रानले भरिएको छ । रायपुर खोला यही आरडीमा जान्छ ।

लापरबाहीले समस्या
गण्डक नहर नबन्दासम्म अहिलेको त्रिवेणी सुस्ता गाउँपालिका क्षेत्र अन्न उब्जनीका लागि उर्वर थियो । पहाडबाट बसाइँ सर्ने धेरैको रोजाइ यही ठाउँ हुन्थ्यो । बस्ती नजिकै जंगल, घाँस–दाउराको सजिलो, नारायणी नदीको पानी लाग्ने र धेरै अन्न फल्ने भएकोले बाबुले रुपौलियालाई नै रोजेको कृष्णलाल भुसाल बताउँछन् । उनको परिवार २०१८ सालमा पर्वतबाट रुपौलिया झ्रेको थियो । स्थानीय थारू समुदायबाहेक यहाँ पहाडबाट बसाइँसराइ गरी आएकाहरूकै बाहुल्य छ ।

२०१६ सालमा गण्डक सम्झैता भएर संरचना नबन्दासम्म यहाँबाट उत्पादित धान भारतको निचलौल र गडौरा बजारमा बिक्री गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । काम गर्न भारतबाट कामदार आउने गर्थे । तर, अहिले उल्टो भएको छ । गण्डकको पानी भारतले लगेपछि उत्पादन घटेको छ भने भारतबाट आयात गर्न थालिएको छ ।

उत्पादन घट्नुमा गण्डक नहरलाई कारक ठान्छन्, स्थानीय बासिन्दा । चुरे भएर आउने खोलानाला नारायणी नदीमा मिसिन्थे र डुबानको समस्या हुँदैनथ्यो । नहरले खोलानालाको प्राकृतिक वहाव रोकेपछि मात्रै नेपालतर्फ डुबानको समस्या शुरू भएको स्थानीय बासिन्दा भुसाल बताउँछन् । नहरमुनि ठाउँ—ठाउँमा पानी निकासका लागि संरचनाहरू पनि बनाइएका छन् । तर, ती पर्याप्त नहुँदा पानीको वहाव रोकिने र डुबान पर्ने गरेको उनको भनाइ छ । जस्तो कि, नहरको २४.४५ आरडी नाम दिइएको साइफनको क्षमता प्रति सेकेण्ड तीन हजार क्यूसेक पानी निकास गर्ने हो । तर, बर्खामा रायपुर खोलामा प्रतिसेकेण्ड २० हजारदेखि ३० हजार क्यूसेकसम्म पानी बग्छ । र त्यो साइफनबाट निकास हुन नसकेको पानीले नै डुबानमा पार्छ ।

अझ् पाँच वर्षयता साइफन र नेपालतर्फका खोलानालाका तटबन्धको मर्मतसम्भार हुन छोडेको स्थानीय बासिन्दा बताउँछन् । खोलानालाले ल्याएको गेग्रानले साइफन भरिन थालेका छन् भने खोलाले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गरिएका छैनन् । गण्डक सम्झैता अनुसार, नहरको मर्मतसम्भार, पानी निकास हुने ठाउँको नियमित सरसफाइ तथा मर्मतसम्भार र डुबानबाट भएको क्षतिको क्षतिपूर्ति दिने दायित्व भारत सरकारको हो । तर, भारतले २०४९ सालदेखि सम्झैता अनुसारका काम गर्न छोडेपछि डुबानको समस्या झ्न् बढेको स्थानीय बासिन्दा बताउँछन् ।

बाढीको हिलोले भरिएको खेत ।

क्षतिपूर्तिमा अलमल
गण्डक नहरबाट पीडित किसानले डुबानको समस्या समाधान गर्न र त्यसबाट हुने क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै २०४९ सालदेखि नै आन्दोलन पनि शुरू गरे । आन्दोलन गर्न थालेको २५ वर्षसम्म केही उपलब्धि नभएको त्रिवेणी सुस्ता गाउँपालिका–१ का वडा सदस्य ज्ञानप्रसाद न्यौपाने बताउँछन् । भन्छन्, “आन्दोलन गर्छौं, सम्झैता हुन्छ तर, कार्यान्वयन हँुदैन ।”

हरेक वर्ष हुने डुबानसँगै विरोध जनाइराख्ने यहाँका किसानले २०५०, २०५५ र २०६४ सालमा सबैको ध्यान तान्ने गरी आन्दोलन गरेका थिए । पानी बन्द गरेर २९ दिनसम्म नहरमै अनशन बसेपछि २०६४ सालमा भारतले रु.२ अर्ब ९३ करोड ६१ लाख क्षतिपूर्ति बापत उपलब्ध गराउने सहमति गरेको थियो । “अहिलेसम्म क्षतिपूर्ति पाएका छैनौं” संघर्ष समितिका पूर्व सचिव प्रेमचन्द्र गुप्ता भन्छन् ।

भारतसँग क्षतिपूर्ति उपलब्ध गराउन र डुबानको समस्या सुल्झउनका लागि पहल गरिदिन पीडितहरू हरेक महीना जिल्ला प्रशासन कार्यालय पुग्ने गर्छन् । भदौमा त उनीहरू दुई पटक सिंचाइ मन्त्रालय समेत पुगे । सबैले आश्वासन मात्रै दिएको र अब एक पटक प्रधानमन्त्रीलाई भेट्ने बताउँदै गुप्ता भन्छन्, “त्यसपछि आन्दोलन गर्छौं ।”

प्रतिकृया दिनुहोस