ब्लगशनिवार, आश्विन १, २०७३

अप्रत्याशित भ्यागुते रोग

डा. सुमनराज ताम्राकार

 

नाक र घाँटीमा कोरिने ब्याक्टेरियम डिप्थेरीको आक्रमणबाट हुने भ्यागुते रोग निदानका लागि एन्टीसेराको जोहो हुनैपर्छ।

साना बालबालिकालाई लाग्ने भ्यागुते रोगको प्रकोप अहिले अप्रत्याशित चर्चामा छ। समाचारहरूका अनुसार यो रोगको संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ भने केही उपचारमा छन्। भ्यागुते रोग लाग्दा दिनुपर्ने एन्टीसेरा (एन्टी डिप्थेरिया सिरम) नेपालमा उपलब्ध नभएकोले पनि केही समय त्रासको वातावरण बन्यो। विश्व स्वास्थ्य संगठनको संयोजनमा भारतबाट एन्टी डिप्थेरिया सिरम आइसकेको समाचारले भने राहत महसूस गराएको छ। 

कोरिने ब्याक्टेरियम डिप्थेरी (ब्याक्टेरिया) ले श्वासप्रश्वास प्रणाली अन्तर्गत नाक र घाँटीमा आक्रमण गरेपछि भ्यागुते रोग हुन्छ। यो ब्याक्टेरियाले नाक र घाँटीभित्र बसेर उत्पादन गर्ने विषाक्त पदार्थका कारण श्वासप्रश्वास प्रणालीको माथिल्लो भाग (फ्यारिन्क्स, ल्यारिन्क्स) को बाहिरी तन्तुलाई नष्ट गरी त्यहाँ खैरो, पहेंलो र पातलो झिल्ली बनाउँछ।

यही नक्कली झिल्लीले गर्दा खानेकुरा निल्न र सास फेर्न अवरोध पुग्छ। कोरिने ब्याक्टेरियम डिप्थेरीले लगातार उत्पादन गर्ने विषाक्त पदार्थले विस्तारै मुटु, मिर्गौला र स्नायुमा पनि असर पुर्‍याउन थाल्छ।

मुख्यतः बालबालिकामा भ्यागुते रोग गराउने ब्याक्टेरिया ग्रेभिस, मिटिस र इन्ट्रामिडियस गरी तीन प्रकारका हुन्छन्। तीमध्ये मिटिस प्रजाति मानिसको शरीरमा पसेको दोस्रोदेखि छैटौं दिनसम्ममा भ्यागुते रोगका लक्षणहरू देखा पर्छन्।

यो रोग लाग्दा घाँटी दुख्ने, सुन्निने, राताम्य हुने र ग्लाण्डहरू बढ्ने हुन्छ। यसका साथै घाँटीभित्र बाक्लो तह बनाउने, खकारमा रगत देखा पर्ने, निमोनिया हुने, बोल्न अप्ठ्यारो हुने, बोली परिवर्तन हुने, सास फेर्न गाह्रो हुने, मुटुको चालमा गडबडी आउने, भित्री घाँटीमा पक्षघात बनाउने, हातखुट्टा लुला हुने आदि हुनसक्छ। यसले स्त्री जननेन्द्रियलाई पनि असर पुर्‍याउन सक्छ।

कोरिने ब्याक्टेरियम डिप्थेरीबाट संक्रमितले खोक्दा वा हाच्छिउँ गर्दा श्वासप्रश्वासको माध्यमबाट नजिक बसेका बालबालिकामा भ्यागुते रोग सर्न सक्छ। संक्रमित बालबालिकाले चलाएका खेलौना, रिमोट, मोबाइल, ढोकाको ह्याण्डल आदिबाट पनि यो रोग सर्ने सम्भावना हुन्छ। यसले १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई बढी असर गर्छ। खोप कार्यक्रम प्रभावकारी नभएको देशमा स्कूल जाने उमेरका बालबालिका पनि भ्यागुते रोगको जोखिममा हुन्छन्।

आमाको गर्भमै रहँदा बच्चामा केही हप्ता वा महीनासम्मका लागि यो रोगसँग लड्न सक्ने क्षमता प्राप्त हुन्छ। त्यसकारण, भ्यागुते रोग विरुद्धको डीपीटी खोप बच्चा ६ हप्ता पुगेपछि मात्र दिइन्छ।

शिक टेष्टबाट तीन वर्षमुनिका करीब ७० प्रतिशत र पाँच वर्षभन्दा माथिका ९९ प्रतिशत बालबालिकामा भ्यागुते रोगको संक्रमण विरुद्ध लड्न सक्ने क्षमता विकसित भइसक्ने पत्ता लागेको छ। यो रोगको संक्रमण छाला वा रगत जाँच अथवा घाँटी वा नाकबाट श्राव (रस) निकालेर ल्याब परीक्षणबाट पनि पत्ता लगाउन सकिन्छ।

नेपालमा पेनिसिलिन, इरिथ्रोमाइसिन जस्ता प्रतिजैविक औषधिहरूको व्यापक प्रयोग र राष्ट्रिय खोप तालिका अन्तर्गत भ्यागुते रोग विरुद्धको अभियानले यसको संक्रमण दरलाई धेरै घटाएको छ। यो पटक संक्रमण देखिनुमा चाहिं 'कोल्डचेन' कायम नगरिएका खोप दिएर हो कि भन्ने आशंका छ। खोप बनेको ठाउँदेखि खोप दिने ठाउँ र बालबालिकालाई खोप दिने बेलासम्म डीपीटी खोपलाई रेफ्रिजेरेटरमै राख्नु 'कोल्डचेन' कायम राख्नु हो।

यसबीचमा कहीं चिस्यानको मात्रामा गडबडी भयो भने खोपको प्रभावकारिता नरहन सक्छ।

भ्यागुते रोग विरुद्धको डीपीटी खोप बच्चा ६ हप्ता पुगेपछि एक महीनाको अन्तरालमा देब्रे तिघ्राको मासुमा तीन पटक दिइन्छ। तीन पटकको खोपले ९५ प्रतिशत सुरक्षा दिन्छ भने थप (बुस्टर डोज) दिएको खण्डमा ९९ प्रतिशतसम्म सुरक्षा मिल्छ। ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई चौथो र त्यसभन्दा माथिकालाई डीपीटीको पाँचौं बुस्टर डोज दिंदा राम्रो हुन्छ। खोप लगाएको भाग सुन्निने, हल्का कडा हुने वा दुख्ने हुन सक्छ।

होशियार हुँदाहुँदै होस् वा लापरबाहीले, भ्यागुते रोग लाग्दा कोरिने ब्याक्टेरियम डिप्थेरी ब्याक्टेरियासँग लड्ने क्षमता दिलाउन एण्टी सेरा दिनुपर्छ भने संक्रमणको कारण हुनसक्ने जटिलताको छुट्टै उपचारका लागि सलाइन पानी, अक्सिजन, प्रतिजैविक औषधिहरू चलाइन्छ।

महामारी फैलिएको बेला संक्रमित बालबालिकाको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूले पनि निश्चित मात्रामा प्रतिजैविक औषधि खानु लाभदायक हुन्छ। संक्रमितको सम्पर्कमा आएपछि पटकैपिच्छे हात धुनुपर्छ। मास्कको प्रयोगले थोरै भए पनि लाभ पुग्छ।

प्रतिकृया दिनुहोस