किर्गिस्तानका उपप्रधानमन्त्रीको दुर्घटनामा निधन
किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।
राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।
स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।
उपप्रधानमन्त्री झुमाकादिरोभ र उनका सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररेका थिए । उनीहरु दुबै जनाको दुर्घटनास्थलमै मृत्यु भएको हो ।
गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका झुमाकादिरोभ ३८ वर्षको थिए ।
रासस/सिन्ह्वा