कला/साहित्यशनिवार, आश्विन २१, २०७४

विचलित पार्ने पुस्तक

हिमालखबर

- रोशन शेरचन
अहिलेसम्म मैले पढेका कविता, निबन्ध, उपन्यास, जीवनी, अध्यात्मदर्शन, वन र वातावरण विज्ञान आदि विधाका असंख्यमध्ये विचलित पारेको पुस्तक चाहिं दि डाइस मेन हो। सन् २००४ मा एडिनवर्गको एउटा सेकेण्ड ह्याण्ड बूक शपमा डेढ पाउण्डमा किनेको थिएँ, त्यो पुस्तक।

किताबको कभरमा डाइसको चित्र कोरिएको थियो र लेखिएको थियो– केही पुस्तकले जीवनलाई नै परिवर्तन गर्छ, त्यस्तै एक पुस्तक। उभिएरै केही पृष्ठ पढेर थाहा गरें, पुस्तकले जीवनलाई 'चान्स फ्याक्टर' वा 'र्‍याण्डम च्वाइस्' बाट चलाउँदा प्राप्त भएका रोमाञ्चक घटनाहरू समेटेको रहेछ। 

पुस्तकमा ल्युक राईनहार्ट नामकै मुख्य पात्र छ। पेशाले मनोचिकित्सक ऊ भौतिक हिसाबले सम्पन्न तर जीवनको रिक्तताबाट लखेटिइएको र एकांकीपनबाट विरक्तिएको छ। त्यसैले जीवनमा रोमाञ्च भर्न महत्वपूर्ण निर्णयहरू डाइसबाट गर्ने उपाय निकाल्छ।

विवेकको स्वतन्त्र प्रयोग भन्दा डाइसको निर्देशनबाट चल्दै राईनहार्टले जीवनमा अनेक अनुभव गर्छ। ऊ डाइसको ६ अंकहरूलाई विकल्प 'असाइन' गरेर उत्सुकतापूर्वक डाइस फ्याँक्छ र व्यग्रतापूर्वक पर्खन्छ। जुन अंक पल्टन्छ, त्यही मुताबिकको विकल्प अमल गर्नु छ!

एउटा दिक्कलाग्दो दिनमा ऊ डाइसलाई विकल्प दिन्छ– एक पल्टिए छिमेकी युवतीलाई बलात्कार। अन्य अंकहरूलाई पनि त्यस्तै अचम्मलाग्दो विकल्पहरू दिन्छ, तर एक नै पल्टन्छ। केहीबेर गमेपछि भय र उत्तेजनामा राईनहार्ट काम फत्ते गर्न निस्कन्छ र मौका हेरेर जाइलाग्छ।

संभावित दुर्घटनाको अनुमान गर्दै युवती झस्किन्छन् र 'के गर्न लागेको?' भनेर सोध्छिन्। राईनहार्टले आफ्नो इरादा बताउँछ, युवती सहजै तयार हुन्छिन्। राईनहार्ट अचम्मित हुन्छ।

पुस्तकैभरि नै 'डार्क फ्यान्टासी' हरू सल्बलाएका छन्। मनोचिकित्साको विद्यार्थी हुँदा वास्तविक जीवनमा धेरै निर्णयहरू डाइसबाट गरेकाले यथार्थ र कल्पनाशीलता मिसाएर लेखकले ताज्जुब लाग्ने आख्यान सिर्जेका छन्।

तर, डाइस गेमले उनलाई हर्ष र उल्लास मात्र थमाउँदैन, त्रासदीतिर पनि धकेल्छ। आतेस, विस्मात् र पीडाको पुञ्ज बन्छ, उनको जीवन। परिवार भत्कन्छ, नोकरी गुम्छ।

अद्भुत बीभत्सताको रोटेपीङमा पुस्तकले पाठकलाई सवार गराउँछ। लेखकको मान्यता छ– भय र संकोचको कारण जीवनको विशिष्ट निर्णय गर्न र अनुभव लिन मानिस असमर्थ छ, त्यसको निराकरणको उपाय 'चान्स' बाट निर्देशित हुनु हो।

मुख्य पात्र भन्छ पनि– एउटा धारणाबाट अर्को धारणामा, एकबाट अर्को भूमिकामा र एउटाबाट अर्को जीवनमा जान मानिसले सहज मान्नुपर्छ। नवीन तरिकाले सोच्न, अनुभव गर्न र सृजना गर्न मानिसले सबैखाले पर्खाल, प्याटर्न र रुटिन दिनचर्यालाई भत्काउनै पर्छ।

नित्सेले भनेका थिए– लिभ डेन्जरस्ली। ल्युक राईनहार्टले उपकरण नै सुझाए– डाइस। खासमा ल्युक राईनहार्ट लेखकको उपनाम हो। दि डाइस मेन मा मुख्य पात्रको नाम पनि ल्युक राईनहार्ट राखिएको छ।

आख्यानलाई 'अटोबायोग्राफिकल' बनाउन लेखकले त्यस्तो जुक्ति अपनाएका रहेछन्। उनको वास्तविक नाम जर्ज ककक्रोफ्ट हो। उल्कै अवतारी। लेखकले वास्तविक जीवनमा जीवनसंगिनी छान्दा पनि डाइसकै सहारा लिएका रहेछन्।

१९७१ मा प्रकाशित पुस्तकमा शायद साठीको दशकको 'काउन्टर कल्चर' को प्रभाव हुँदो हो। त्यस कालखण्डमा झ्ेन एण्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स र जोनाथन लिभिनस्टोन सिगल जस्ता 'कल्ट क्लासिक' हरू लेखिएका थिए।

अहिलेको समयबाट हेर्दा भने दि डाइस मेन को मान्यता केही कमजोर लाग्छ। जुनसुकै विकल्प मस्तिष्कको समाभित्रबाटै आउने भएकाले तिनीहरू 'र्‍याण्डम' जस्ता लागे पनि वास्तवमा 'र्‍याण्डम' होइनन्। छनोट मात्र 'र्‍याण्डम' हुन्।

हरेक विकल्पले प्रकारान्तरमा मान्छेको 'प्याटर्न' लाई नै प्रतिनिधित्व गर्छ। पचास वर्षअघि मानिसको अभ्यान्तरिक इच्छालाई समाजको व्यवस्थाले भन्दा 'र्‍याण्डम नम्बर' ले न्याय दिन्छ भन्ने कल्पना गर्नु र बेजोडको उपन्यास लेख्नु चाहिं लेखकको सौर्य हो। यस मानेमा जर्ज ककक्रोफ्ट प्रतापी लेखक हुन्।

मनोचिकित्सक भएकोले मनलाई सन्तुष्टि दिने मार्गमा के–के व्यवधान छन् भन्ने प्रश्न ककक्रोफ्टलाई रोचक लागेको हुनुपर्छ। छिमेकीसँग व्यभिचार गर्न चाहनु, मानसिक बिरामीसँग दिमागी खेल खेल्नु र आफ्नै सन्तानलाई डाइस खेल्न सिकाउनु भयप्रद लाग्छ।

'र्‍यासनालिज्म' जीवनको चालक सिद्धान्त हुनुपर्छ भन्ने विचार बलियो बन्दै गएको बेला डाइस अनुसार चल्ने विचार अराजक छ। अन्य व्यक्तिको मत र भावनालाई बेवास्ता गर्ने हुनाले 'डाइस दर्शन' लाई बर्बर दर्शनको कोटिमा राख्न सकिन्छ। परिवारलाई समाजको इकाइ मान्ने प्रगतिशील विचारधारामा त यो विचार प्रतिगामी नै हो।

तर, साहित्यमा विचारधारा मात्र हेरिंदैन रहेछ। 'कल्ट क्लासिक' जन्मको त विशेषता नै 'पोलिटिकल्ली इनकरेक्ट' हुनुजस्तो देखिन्छ। केही 'कल्ट क्लासिक' पढेपछि मलाई लाग्यो, मनोविज्ञान र समाजविज्ञान शायद कहिल्यै एकै कित्तामा उभिएनन्।

कहाँ मनको असीमित इच्छा, कहाँ समाजको साँघुरो घेरा। तर एउटा लेखकले कल्पनाशीलतालाई कति परसम्म लैजान सक्छ भनेर थाहा पाउन पुस्तकले सघाउँछ। कल्पनाको रंग, आकार र घनत्व पनि अनुभव गर्न सकिन्छ।

उतिबेला दि डाइस मेन ले निकै ठूलो प्रभाव पारेको थियो। १९९५ मा बीबीसीले यो पुस्तकलाई बीसौं शताब्दीको दोस्रो मध्येको पचास प्रभावशाली पुस्तकमध्ये एक भनी मूल्यांकन गरेको थियो। अनुमानित २० लाख प्रति बिकेको यो पुस्तकको प्रभाव क्षेत्र अहिले खुम्चेको छ।

उपन्यासमा कति प्रतिशत लेखकको अनुभव छ, कति प्रतिशत कल्पना छ भनेर थाहा पाउने उपाय छैन। पुस्तकबाट प्रभावित भएर पाठकले डाइस खेल्न थाले जीवन दुर्घटनातिर धकेलिने धेरै संभावना छ।

यस्ता आख्यानले कल्पनाको स्तरमा मात्र सघाउला। 'क्लासिक' हरू कम्पास जस्तै हो– दिशा देखाउने। दिशा चुन्ने दायित्व पाठककै हो। त्यस्तै 'कल्ट क्लासिक' किन्नुपूर्व सारांश पढ्नु आवश्यक छ। अन्यथा पठन महँगो पर्न सक्छ। कहिलेकाहीं घातक पनि हुन सक्छ।

प्रतिकृया दिनुहोस